जागिरका लागि लिगलिगे दौड

http://sindhulidarpan.blogspot.com/2012/05/s_1246.html
सिन्धुली,जेठ ९ । गोरखाको लिगलिग कोटमा दौड प्रतियोगिताबाट राजा बनाइने गरेको नेपाली इतिहासजस्तै सिन्धुलीमा पनि केही परीक्षार्थी जागिरका लागि सदरमुकाम सिन्धुलीमाढीको खुल्ला मञ्चमा आयोजित दौड प्रतियोगितामा सहभागी भएका छन् । दौड प्रतियोगिता जिल्ला हुलाक कार्यालय सिन्धुलीको आयोजनामा भएको हो । गोरखामा राजा छात्रे प्रक्रियाजस्तै जिल्ला हुलाक कार्यालयबाट जागिरका लागि आयोजित दौड प्रतियोगिताले यहाँ धेरै चर्चा पाएको छ । अमेले गाविसस्थित अतिरिक्त हुलाक कार्यालयमा आवश्यक हुलाक प्रतिनिधि (डाकबाहक) का लागि दौड प्रतियोगिता गराइएको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।
कर्मचारीको मासिक तलब रु तीन हजार ५०० हुन्छ । अतिरिक्त हुलाक कार्यालयमा एक मात्र कर्मचारी आवश्यक भए पनि जिल्लास्थित राजनीतिक दलबाट व्यापक दबाब आएपछि नियुक्तिका लागि सहज वातावतण बनाउन दौड प्रतियोगिता आयोजना गरिएको निमित्त कार्यालय प्रमुख माधव भुसालले जानकारी दिनुभयो ।
उक्त पदका लागि सात स्थानीय युवकले दरखास्त दिएका थिए । तीमध्ये पाँचजना दौड प्रतियोगितामा सहभागी थिए । दुई सय मिटरको उक्त प्रतियोगितामा अमले गाविसका नीरबहादुर पाख्रिन प्रथम, पूर्णसिं भोलन द्वितीय र तुलाराम थापा तृतीय भए । नेपालमा बेरोजगारको सङ्ख्या बढ्दै गएको अवस्थामा विपत्र वर्गले जागिर पाउन सक्ने अवस्था झन् कठिन भएकाले जागिरका लागि आफू दौडन पनि तयार रहेको प्रतियोगितामा प्रथम पाख्रिनले बताउनुभयो । उहाँले भत्रुभयो– दौडमा प्रथम भएको छु । अब जागिर त पक्कै होला ।
दौड प्रतियोगिताका अन्य सहभागीले पनि आर्थिक विपत्रताका कारण आफूहरू दौड प्रतियोगिताबाट भए पनि जागिर खान तयार भएको सामूहिक प्रतिक्रिया दिनुभएको छ । निमित्त कार्यालय प्रमुख भुसालले प्रतियोगीको मौखिक परीक्षा भइसकेको तर पनि राजनीतिक दलको दबाबका कारण अझै परीक्षाफल प्रकाशन गर्न कठिनाइ भइरहेको जानकारी दिँदै बुधबारसम्म परीक्षाफल प्रकाशन गर्ने सोचाइ रहेको बताउनुभयो ।
दौड प्रतियोगिताको उक्त परीक्षा प्रणाली वैज्ञानिक छनोट प्रणालीलाई नै आधार मानेर गरिएको दाबी जिल्ला हुलाक कार्यालय प्रमुखको छ । स्थानीयस्तरमा नै कर्मचारी छनोट प्रक्रिया पुरा गर्नुपर्ने भए पनि दलका प्रतिनिधिबीच कुटाकुटसमेत भएका कारण सदरमुकाम सिन्धुलीमाढीमा छनोट प्रक्रिया गर्नुपरेको कार्यालयले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !