भारतीय बजारमा दहीको माग बढ्यो

जनकपुरधाम, जेठ ८ । चार वर्षअघि धनुषा जिल्लाको ढल्केबरमा स्थापित जनकपुर दुग्ध वितरण आयोजनाले उत्पादन गरेको दहीको माग भारतीय बजारमा बढेको छ ।

भारतको दहीभन्दा नेपालको दही राम्रो, शुद्ध र स्वादिलो तथा सस्तो भएकाले भारतीयले यहाँबाट उत्पादन गरिएको दही बढी रुचाएकालले यसको माग बढ्न गएको आयोजना प्रमुख वीरेन्द्रकुमार भट्टले बताउनुभयो । यहाँबाट उत्पादित दही भारतीयले जनकपुर र महोत्तरीमा रहेको बिक्री केन्द्रबाट खरिद गरी लग्ने गरेको सो आयोजनाले जनाएको छ ।

सहकारिताका माध्यमबाट दूध बिक्री गर्ने किसानको जीवनस्तरमा आर्थिक सुधार ल्याउने उद्देश्यले २०६५ साल फागुन २ गते स्थापित सो आयोजनाले अहिले दैनिक साढे तीन लाख रुपियाँबराबरको दूध, दही बिक्री गर्दै आइरहेको छ । सो आयोजना स्थापना भएपछि त्यस भेगका करिब दुई हजार घरधुरीका करिब १५ हजार किसान दूध बिक्री गरी प्रत्यक्ष रूपमा लाभान्वित हुँदै आइरहेको छ ।

चार वर्षअगाडि बजारको अभावका कारण दूध बिक्री गर्ने समस्या खेप्दै आइरहेका यहाँका किसान दुग्ध वितरण आयोजना सुरु भएपछि त्यही दूध बिक्री गरी आर्थिक लाभ लिइरहेको ढल्केबरका पशुपालक किसान बताउँछन् ।  महोत्तरीको गौशाला, सिन्धुलीको दुधौली, उदयपुरको गुराँस, सिरहाको भुल्के, धनुषा बरमझियास्थित चिस्यान केन्द्रमार्फत दूध सङ्कलन गरी आयोजनाले अहिले प्लास्टिकको प्याकमा दूध र दही प्याकिङ गरी बजारसम्म पु¥याइरहेको छ ।

आयोजनाले दैनिक रूपमा तीन हजार लिटर दूध  तथा दुई हजार ५०० लिटर दही बिक्री गर्दै आइरहेको छ ।  उत्पादित दूध र दही आफ्नो थोक बिक्रेतामार्फत ग्राहकसम्म पु¥याउने गरिएको छ । आयोजनाले सङ्कलित दूधको गुणस्तर जाँच र तौल जाँच गरी उत्पादित दूध र दही बजारसम्म पु¥याउने गरेको दाबी आयोजना प्रमुख भट्टले गर्नुभएको छ ।

दही बिक्रीका लागि उत्तम समय वैशाखलाई मानिन्छ ।  यस बेला आयोजनाले महिनामा रु एक करोडबराबरको दही बिक्री गर्ने गर्छ । सहकारी संस्थामा दर्ता भएको समूहसँग मात्र दूध खरिद गर्ने भएकाले किसानले शुद्ध दूध दिने गरेका छन् । 


यहाँबाट उत्पादित दूध र दही जनकपुर, जलेश्वर, सिरहा, लहान लगायत सीमावर्ती भारतीय बजारसम्म जाने गरेको छ । कतिपय किसानले गाउँमै दूध बिक्री गर्दा उनीहरूको आर्थिक अवस्था कमजोर हुन थालेपछि अहिले ती किसान दुग्ध वितरण आयोजनामै गएर दूध बेच्ने गर्छन्  ।

निजीस्तरमा सञ्चालित डेरीले भारतबाट पाउडर दूध ल्याएर दही बनाउने, त्यसमा चक मिलाउने गरेकाले स्वास्थ्यमा प्रत्यक्ष असर पारेको देखिन्छ ।  

Related

प्रमूखखबरहरु 6230054569723283118

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item