रकम अनियमितताको दावी
http://sindhulidarpan.blogspot.com/2012/05/s_472.html
सिन्धुली,जेठ ७ । जिल्ला विकास समितिको आन्तरिक कोषबाट अन्तरपार्टी महिला सञ्जालले ३ लाख रुपैंया लगि भ्रमणमा खर्च गरेको भन्दै सम्पूर्ण दलका महिलाहरुले जिल्ला विकास समितिमा उजुरी दिएका छन् । जिल्लाका महिलाहरुको शसक्तिकरणको लागि छुट्याईएको दश प्रतिशत बजेट सञ्जालले भ्रमणमा खर्च गरेको महिलाहरुले आरोप लगाएका छन् । जिल्लाका सम्पूर्ण राजनीतिक दल सम्बद्ध महिलाहरु र विभिन्न संघसंस्थामा कार्यरत महिलाहरु सहित ३५ जना भन्दा बढी महिलाहरु दोस्रो पटक लिखित उजुरी सहित बुधबार जिल्ला विकास समितिमा डेलिगेशन गई छानविन समिति गठन गरि छानविन गर्न माग गर्दै उजुरी दर्ता गराएका छन् । महिलाहरुले उठाएको मागलाई नेपाली कांगे्रसका सभापति मोहन बराल र एमालेका अध्यक्ष कमलजंग राईले सकारात्मक रुपमा लिई उनीहरुको निर्णय पुस्तिकामा हस्ताक्षर समेत गरेका छन् ।
महिलाको शसक्तिकरणको बजेट दुरुपयोग गरेको विरोधमा छानविनको माग गर्न जिल्ला विकास पुगेकी नेपाली कांग्रेसकी नेतृा एवम् कानुन व्यवसायी शुशिला थिङले यो बजेट भ्रमणमा खर्च गर्नु स्थानीय स्वायत्त शासन ऐन र नियमावली विपरित रहेको बताउनुभयो । उहाँले महिलाहरुले हरेक दिन हिंसा भोगिरहेको अवस्था त्यस्ता पीडित महिलाका लागि सचेत गराउन र राहत दिन खर्च गरिने बजेट टाठाबाठा महिलाले भ्रमणमा सिध्याउनु महिला विरुद्धको कार्य भएको बताउनुभयो । त्यसैगरि नेकपा माओवादीका महिला नेतृ सविता कोइरालाले शसक्तिकरणको बजेट दुरुपयोग भएकोमा आपत्ति जनाउनुभयो । त्यसैगरि एमालेकी रस्मिला देवकोटाले महिलाहरुको शशक्तिकरणको बजेट दुरुपयोग हुनु दुखद रहेको बताउनुभयो । महिलाहरुले जिल्ला विकास समितिको लैंगिक बजेटबाट १६ जना महिला र गाडिका चालक सहित १८ जना भ्रमणमा गएर ३० जनाको विल पेस गरेको बताएका छन् । यस्तै उनीहरुले ३ लाख ५ हजारको विल पेस गरेको जिल्ला विकास स्रोतले जनाएको छ । अन्तरपार्टी महिला सञ्जाल सिन्धुलीको नेतृत्वमा बैशाख १६ गतेदेखि १९ गतेसम्म महिलाहरुको समूह महाकालीको टनकपुरको भ्रमण गरेका थिए ।
सिन्धुलीका स्थानीय विकास अधिकारी धु्रवबहादुर खड्काले बजेट दुरुपयोग भएको भन्दै उजुरी आएकोले अन्तपार्टी महिला सञ्जालका पदाधिकारीलाई बोलाएर सोधपुछ गर्ने र आवश्यक परे छानविन समेत गर्ने बताउनुभयो । उहाँले उजुरी लिएर आएका महिलाहरुलाई चित्त बुझ्ने गरि समस्याको समाधान गर्न प्रयास गर्ने बताउनुभयो । त्यस्तै अन्तपार्टी महिला सञ्जालका उपाध्यक्ष शान्ता पाख्रिनले महिलाहरुले मनखुशी तरिकाले आरोप लगाएको बताउनुभयो । उनले आफुहरुले अध्ययन भ्रमणको पैसा लगिएको दावी समेत गरिन । पख्रिनले लैंगिक बजेट जिल्लामा १६ लाख रुपैंया भएको सो रकममध्ये १५ लाख महिला सुरक्षा भवनका लागि छुट्याएको र एकलाख मध्येको २५ हजार सिलाई कटाईका लागि छुट्याएको बताउनुभयो । बाँकी ७५ हजार रुपैंया महिला सम्बन्धि काम गर्ने संघसंस्थाको अनुगमनका लागि छुट्याइएको पनि उहाँले बताउनुभयो । पाख्रिनले आफुहरुलाई लगाईएको आरोप झुटो रहेको दावी रहेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !