जातीय सङ्गठनहरुको बन्दमा सञ्चारगृहका सवारीसाधनमा तोडफोड
http://sindhulidarpan.blogspot.com/2012/05/s_5007.html
काठमाण्डौ,जेठ ७ । पहिचान सहितको संघीयताको मागगर्दै आदिवासी जनजाति संयुक्त सङ्घर्ष समिति लगायत बिभिन्न जातीय सङ्गठनहरुले आह्वान गरेको बन्दकोक्रममा राजधानीमा बिभिन्न सञ्चारगृहका सवारी साधनमा तोडफोड भएको छ । बन्दको समयमा सवारी साधन चलाएकोभन्दै कान्तिपुर दैनिकको पत्रिका बोकेको गाडीलाई बन्दकर्ताहरुले जोरपाटीमा तोडफोड गरेका छन् भने एभिन्यूज, सगरमाथा, हिमालय, न्यूज ट्वान्टी फोर टेलिभिजनका गाडीहरुमा पनि बन्दकर्ताहरुले तोडफोड गरेका छन् ।
बन्दकर्ताहरुले ग्वार्को चौकमा बा ३० प ३८९९ पल्सर र बा ३२ प, १९६७ नम्बरको साइन मोटरसाईकल जलाएको प्रहरीले जनाएको छ । बन्द आह्वान गर्दै हिडेका ताम्सालिङ दलका जरसिंह तामाङ, टेकबहादुर तामाङ लगायत करिब १२ जनाभन्दा धेरैलाई प्रहरीले बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले सञ्चारगृहका सवारी साधनमा आफ्ना कार्यकर्ता तथा समर्थकहरुले तोडफोड नगरेको दावी गर्नु भएको छ । आफूहरुको माग र विरोधका कारण अत्तालिएका ठूला दल र सरकारले नै षड्यन्त्र गरेर आफूहरुलाई बदनाम गर्न खोजेको उहाँको भनाइछ ।
अध्यक्ष लेखीले सञ्चारगृह, दमकल, एम्बुलेन्स लगायतका अत्यावश्यकीय सवारी साधन सञ्चालनमा अवरोध नगर्न आफ्ना कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ । पहिचानसहितको सङ्घीयता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको सबै अङ्ग र तहमा जनसङ्ख्याको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व तथा आत्मनिर्णयको अधिकार, प्रादेशिक स्वायत्तता र स्वशासन लगाएतको मागगर्दै सङ्घर्ष समिति लगायत बिभिन्न जातीय सङ्गठनहरुले आजदेखि ९ गतेसम्म बन्दको आह्वान गरेका छन् ।
यसैबीच आदिवासी जनजाति सङ्गठनहरुलाई सरकारले वार्तामा आउन आज आग्रह गरेको छ । शान्तिमन्त्री टोपबहादुर रायमाझीले शान्ति मन्त्रालयमा आज बिहान पत्रकार सम्मेलन गरेर वार्तामा आउन आग्रह गर्नु भएको हो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !