तामाङ विद्यार्थीद्धारा अन्तरक्रिया
http://sindhulidarpan.blogspot.com/2012/05/s_5218.html
पोष्टराज पहाडी,सिन्धुली,जेठ ६ । जातिय पहिचान सहितको संघिय राज्य आजको आवश्यकता विषयक एक दिवसिय अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाडीमा शुक्रवार सम्पन्न भएको छ । नेपाल तामाङ विद्यार्थी घेदुङ जिल्ला कार्य समिती सिन्धुलीको आयोजनामा सो अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल तामाङ घेदुङका केन्द्रिय सचिव काजिमान थिङले आफुहरुले जातिय राज्य र जातिय शासन नमागेको जानकारी गराउदै जातिय पहिचानको आधारमा राज्य संघियतामा जानुपर्ने बताउनुभयो । उहाँले जातिय पहिचान सहितको संघियताको भ्रामक रुपमा व्याख्या गरिएको समेत आरोप लगाउनुभयो । उहाँले कुनै पनि प्रदेशको नामाकरण गर्दा जातिय सभ्यताको आधारमा गरिने तथा त्यस प्रदेश भित्र उप–पहिचान तथा सभ्यताका आधारमा विभिन्न स्वायत्त प्रदेश रहने भएकोले जातिय पहिचानको आधारमा देश संघियतामा जाँदा अन्य जातिलाई अप्ठ्यारो नहुने बताउनुभयो ।
त्यसैगरि कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादीका सुरत बहादुर स्याङतानले जातिय पहिचानको आधारमा राज्यको पुनःसंरचना गर्नु देश टुक्र्याउन खोज्नु नभई संघियतामा लैजान खोजिएको बताउनुभयो । उहाँले जातिय पहिचानको आधारमा देश संघियतामा जाँदा जुन जातबाट प्रदेशको नामाङ्कन गरिएको छ सोहि जातिको मात्र राज्य हुने र त्यसमा अरु जात–जाति नअट्ने भन्ने सोचाई गलत भएको बताउनुभयो । साथै उनले अहिले देशमा नयाँ संविधान जारी गर्ने समय अवधि नजिकिदै गएकोले विभिन्न माग राखी आन्दोलन गर्नाले संविधान जारी हुन नसक्ने खतरा सिर्जना हुने हुनाले संविधान जारी हुनुभन्दा पहिले कुनै प्रकारका आन्दोलन नगर्न अनुरोध गर्नुभयो ।
सो अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका मोहन बरालले एकल जातिय पहिचानको आधारमा राज्यलाई संघियतामा लैजान गृहकार्य नपुगेको बताउनुभयो । उहाँले सुरुका दिनहरुमा थोरै जात–जातिले जातिय पहिचान सहितको राज्य माग गरेको भएता पनि पछिल्ला दिनमा नेपालमा रहेका अधिकांश जात–जातिले आ–आफ्नो जातको पहिचानको आधारमा प्रदेशको नमाकरण हुनुपर्ने माग राखेकोले राज्यले सबै जात–जातिले चाहेजस्तो जातिय पहिचानका आधारमा प्रदेशको नामाकरण हुन नसकेको उल्लेख गर्नुभयो ।
त्यस्तै नेकपा एमालेका विनोद खड्काले सबैले राज्य माग्ने गरेकोले जातिय पहिचानका आधारमा प्रदेशको नामाकरण गर्न सम्भव नहुने बताउनुभयो । नेपालमा धेरै जात–जातिको बसोबास रहेकोले एउटालाई राज्य दिदाँ अर्कोले पनि माग्ने भएकोले सबैको चाहना अनुरुप जातिय आधारमा राज्यको पुनःसंरचना हुन नसक्ने बताउनुभयो । नेपाल तामाङ विद्यार्थी घेदुङ जिल्ला कार्य समिती सिन्धुलीका अध्यक्ष विशाल थिङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न जातिय संघ–संगठनका प्रमुख तथा प्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !