निर्दोष अमरबहादुर बम, दुबई कारागारमा मृत्युदण्डको सजाय कुर्दै

http://sindhulidarpan.blogspot.com/2012/05/s_8970.html
विष्णु वहादुर खत्री,
काठमाण्डौ (मेरोरिपोर्ट)
आजभन्दा करिव ९ वर्ष अगाडी कर्णबहादुर बमका छोरा र धनमती बमका श्रीमान दुबईमा बिना कसुर पक्राउ परे । बिना कसुर जेल परेका ३४ बर्षिय अमरबहादुर बमलाई दुबई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ र उनी त्यही मृत्युदण्डको सजाय कुर्न बाध्य पारिएका छन् । विना कुनै अपराध मृत्युदण्डजस्तो गहन सजायको भागिदार दार्चुला जिल्लाको एक विकट गाँउ धारीका प्रवासी युवा भईरहेका छन्, जसको विषयमा राज्य बेखवर जस्तै छ । आजभन्दा दुई वर्ष अगाडी औपचारिक रुपमा जानकारी पाएको परराष्ट्र मन्त्रालय, विदेशमा नेपालीहरुको रक्षाको जिम्मेवार नेपाली दुतावास र अन्य सरकारी निकाय के भएको हो भन्ने जानकारी आदानप्रदान गरेर औपचारिकता पुरा गरी कर्तव्य विर्सेर बसिरहेको छ । राज्यले न कुनै फलो अप गरेको छ, न त वास्तविकता के भएको हो भनेर आफन्त र परिवारलाई बताएको छ । आफ्ना नागरिकहरु कहाँ छन्, उनीहरुको अवस्था के छ, आफ्ना नागरिकको सुरक्षा कसरी गर्ने भनेर जिम्मेवारी बहन गर्नुपर्ने राज्य आफ्ना नागरिकलाई बिना कसुर ९ वर्षसम्म जेल सजाय हुँदा र मृत्युदण्डको सजाय घोषणा भईसकेको अवस्थामा गैरजिम्मेवार र मुकदर्शक देखिएको छ । विदेशमा राज्यको प्रतिनिधी संस्था दुबईस्थित नेपाली दुतावासले अमरबहादुर बमको मुद्दाका सम्वन्धमा जानकारी पाएर उनी निर्दोष छन् भन्ने थाहा हुँदाहुँदै पनि वकिल राखेर उनलाई निर्दोष प्रमाणित गरेर नेपाल फर्काउन चासो र चिन्ता नदेखाएको प्रष्ट देखिएको छ । नेपाली नागरिकहरुको सुरक्षा र सहयोग गर्न नेपाली दुतावास पटक पटक चुकेको छ ।
काठमाण्डौ (मेरोरिपोर्ट)
अमर बचाउ अभियान
दार्चुला जिल्ला धारी गाविसका ६८ वर्षिय बृद्ध कर्णबहादुर बम सुदुरपश्चिममा भएको एक हप्ता लामो बन्दका बावजुद काठमाडौं आइपुग्नु भएको छ । भारतको बाटो हुदै उहाँ आफ्नी बुहारीलाई लिएर काठमाडौं आइपुग्नु भएको हो । मनमा चिन्ता र जलन भएपश्चात को बसीरहन सक्छ र ? त्यस्तै भयो कर्णबहादुर बम र उहाँकी बुहारी धनमती बमलाई । बन्दको पिरभन्दा आफ्नो मनको पिरको भारी गहुँगो छ उहाँहरुको । विहे गरेको एक महिनामा खुशी र सुखका सपना सहित विदेश गएका आफ्ना श्रीमान निर्दोष हुँदाहुँदै किन विदेशको जेलमा सजाय भोगिरहेका छन् र उनलाई मृत्युदण्डको सजाय सुनाउदा पनि किन राज्य निदाईरहेको छ भनेर सरकारसँग प्रश्न गर्न धनमती बम दार्चुलाको धारीबाट बन्दका बाबजुद काठमाडौ आईपुग्नु भयो ।

अमरबहादुर बम कसरी जेल परे र उनलाई किन मृत्युदण्डको घोषणा सुनाईयो त ? घटना यस्तो छ ः अमरबहादुर बमले विवाह गरेको २५ दिनमा आफ्नी जीवनसंगीनीलाई छोडेर भारतको दिल्लीमा रोजगारीका लागि गएका थिए । उनी दिल्लीबाटै बैदेशिक रोजगारीका लागि दुबई गएका रहेछन् । दुबईमा भारतिय नागरिक शरद सेठ्ठीको हत्यामा संलग्न भएको अभियोगमा उनी सन् २००३ जनवरी २५ तारिखमा दुबई प्रहरीबाट पक्राउ परे । प्रहरीले मनोज मुदाना र करणसिंह राजपुतले शरद सेठ्ठीमाथी गोली प्रहार गरेको, स्मद कुलत बनवारीले हतियार उपलब्ध गराएको र अमरबहादुर बमले उनीहरुको सवारी चालकको रुपमा काम गरेको भन्दै अदालतमा मुद्दा दायर गर्यो ।
भारतिय नागरिक मनोज मुदाना, करण सिंह राजदुपत र स्मद कुलत बनवारीले दुबईको इन्डियन क्लवमा भारतिय नागरिक शरद सेठ्ठीको हत्या गरेका थिए । अपराधीहरुले हत्याका क्रममा अमरबहादुर बमलाई ड्राइभरका रुपमा प्रयोग गरे । जुन अमरबहादुरलाई थाहा थिएन । उनीलाई कहाँ लगिदै छ, किन लगिदै छ, केही जानकारी थिएन । उनी आज्ञापालक सवारी चालक भएकै कारण हत्यामा संलग्न भएको आरोपमा बिना कसुर करिव नौ वर्ष लामो समयदेखि दुबईमा जेल जीवन विताउदै मृत्युदण्डको सजाय कुर्न बाध्य पारिएका छन् ।
अमर निर्दोष थिए र छन् । उनले फोन, नेपाली समाज, दुतावासका प्रतिनिधी र पत्रकारहरुमार्फत आफु निर्दोष भएको बताएका छन् । अपराधमा प्रत्यक्ष संलग्न भारतिय नागरिक करण र मनोजले लिखित रुपमा अमर निर्दोष भएको र हत्याका सम्पुर्ण प्रकृयामा उ अनभिज्ञ रहेको भन्ने जानकारी अदालतमा पेश गरिसकेका छन् । अमरले प्रहरी र अदालतमा भाषा नजानेका कारण आफु निर्दोष भएको बताउन सकेनन् । जसले जे भन्छ त्यही कागजमा सहीछाप गर्न बाध्य भए किनकी उनको भाषा प्रहरी र अदालत बुझ्दैनथ्यो भने उनले प्रहरी र अदालतका भाषा बुझ्दैन थिए । अपराधमा प्रत्यक्ष संलग्न भारतिय नागरिक करण र मनोजले अदालतमा चढाएको लिखित निवेदनमा भनिएको छ ः “हत्या हुनुपुर्व र हत्या पश्चात अमर सो को वारेमा अनभिज्ञ थिए, आफुहरुको योजनामा अमर बेखवर थिए र उनले दुबईमा व्यावसायिक चालकको भुमिका मात्र निर्वाह गरेका हुन्” । घटना कुनै चलचित्रको कथा जस्तो छ । भारतिय अपराधीहरुले हत्या प्रकृयामा बिना जानकारी व्यावसायिक चालक अमरबहादुर बमलाई प्रयोग गरेकै कारण उनी जेलजीवन भोग्न बाध्य त छन् नै मृत्युदण्डको सजाय समेत कुर्दैछन् ।
दुबईमा रहेका नेपालीका विभिन्न संघसंस्थाहरु जस्तै नेपाली समाज, गैर आवासिय नेपाली संघ लगायतका संघसंस्थाले यसअगाडी नै अमरको जीवनरक्षाका लागि पहल गर्न पटक पटक प्रधानमन्त्री, परराष्ट्र मन्त्री, श्रम मन्त्री, नेपाली दुतावासलाई अनुरोध गरिसकेका छन् । बुद्ध जयन्तीका दिन काठमाडौंमा प्रवासी नेपाली समन्वय समितीको पहलमा अमरका परिवारजनले पत्रकार सम्मेलन गरी उनको जीवन रक्षाका लागि सबै क्षेत्रले राज्यलाई झक्झकाउन र आफ्ना निर्दोष परिवारको सदस्यलाई नेपाल फिर्ता ल्याउन पहल गर्न अनुरोध गरेका छन् । अमरका बुबाले भन्नुभयो “यो मेरो मात्र छोरो होइन, यो हामी नेपालीको छोरो हो, हामी सबै मिलेर एक निर्दोष नेपाली छोरालाई छुटाएर नेपाल फिर्ता ल्याउनु पर्दछ” । अवस्य यो एउटा भावना मात्र होइन, यो यथार्थता हो अमर नेपालीका छोरा हुन् जो बिना कुनै अपराध दुबईको जेलमा मृत्युदण्ड कुरिरहेका छन् उनीलाई हामी सबैले पहल गरेर फिर्ता ल्याउनै पर्दछ । पत्रकार सम्मेलनमा अमरका बुबालाई घटना र परिवारको अवस्थाका सम्वन्धमा सबै कुरा जानकारी दिन अनुरोध गरिए पनि उहाँले लामो बोल्न सक्नु भएन । गला रोकियो । अमरकी जीवनसंगीनी जो दश वर्षदेखी आफ्ना श्रीमानको बाटो हेरेर बसिरहनु भएको छ उहाँले भन्नुभयो “दश वर्ष भयो, बाटो कुरेर बसेकी छु, उहाँलाई ल्याईदिनुहोस्” । यती भनिसक्दानसक्दै उहाँ पनि थप बोल्न सक्नु भएन ।
अदालतले मृत्युदण्ड सुनाईसकेकोले अदालतको फैसलाको जुनसुकै बेला कार्यान्वयन हुन सक्छ । एक जना निर्दोष नेपालीलाई बचाउनका लागि हामीले तत्काल कुनै पहल गर्न सकेनौ भने हामी चुक्ने छौं । अमरलाई बचाउनका लागि कानुनी र कुटनीतिक दुबै पहल गरिनु आवश्यक छ । उनको मुद्दा कुन तहबाट फैसला भएको हो, कानुनी कुनै उपाय बाँकी छ की छैन र पुनरावेदनमा जान सकिन्छ की सकिदैन भन्ने सम्वन्धमा बुझ्ने, जानकारी लिने, कागजातको अध्ययन गर्ने र दुबईमा दुतावास, नेपाली संस्था साथै त्यहाँको कानुनका जानकार स्थानिय वकिलसँग समन्वय सम्पर्क गर्ने काम विभिन्न व्यक्ति, संस्था र निकायबाट शुरुवात गरिएको छ । यसका अलवा अमरलाई बचाउनका लागि एउटा उत्तम उपाय यदि नेपालका राज्य प्रमुख र सरकार प्रमुखले दुबईका शेखलाई अमर निर्दोष भएको र उनलाई आममाफी दिनका लागि अनुरोध गरी औपचारिक रुपमा लेखि पठाएमा उनको जीवन रक्षा हुने यसका जानकार विषय ज्ञाताहरुको सुझाव सल्लाह रहेको छ । राज्यलाई आवश्यक कानुनी, कुटनीतिक र अन्य आवश्यकता अनुसारका सबै उपाय तत्काल कार्यान्वयन गरी अमरको जीवन वचाउनका लागि हामी सबैको दवाव आवश्यक छ । नौ वर्षसम्म जेल पर्दा र आजभन्दा दुई वर्ष अगाडी उनका सम्वन्धमा फाइल तयार गरेर पनि कुनै औपचारिक प्रकृया र पहल विना बसिरहेको सरकारलाई झक्झकाउनु आवश्यक छ । आउनुहोस, हामी सबै मिलेर अमर बचाउ अभियानमा सहयोग गरौ । एक जना निर्दोष नेपालीलाई मृत्युदण्डबाट बचाऔ । राज्यलाई कानुनी र कुटनीतिक लगायतका सबै पहल तत्काल गर्न दवाव सृजना गरौं । राष्ट्रपति र प्रधानमन्त्रीलाई अमरको जीवन रक्षाका लागि दुबईका शेखलाई औपचारिक पत्र लेख्न र पहल गर्न अनुरोध गरौं ।
औपचारिक रुपमा परिवारका सदस्य, सामाजिक संघसंस्था, दार्चुलाका वर्तमान र पुर्व सभासद, सञ्चारकर्मीहरु लगायतको पहलमा अमर बचाउ अभियानको शुरुवात भएको छ । यसमा सबैको सहयोग र साथको अपेक्षा गरिएको छ । जसले जहाँबाट जसरी राज्यलाई आफ्ना नागरिकको सुरक्षाका लागि पहल गर्न दवाव दिन सक्छौ आजै दवाव दिऔं । ढिला गर्ने र सोच्ने समय छैन ।
थप जानकारीका लागि अमर बचाउ अभियानको सचिवालय प्रवासी नेपाली समन्वय समिती, अनामनगरमा ४७७०७७५ saveamar@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !