साउना र नाङ्गा मान्छेहरू



- नीराजन शिरीष
                  
त्यतिखेर म फिनल्याण्ड झरेको पुगनपुग एक हप्ता भएको थियो । विद्यार्थी युनियनले एउटा भेटघाट कार्यक्रम राखेको थियो र त्यहाँ साउना पनि हुँदै थियो । “हो त मान्छेहरु सबै नाङ्गै भएर भित्र छिर्ने हो ।” नेपालबाट आएका एक सिनियर विद्यार्थीले साउनाका बारेमा यो वाक्य बोलेका थिए । र, मलाई भित्रैदेखि शरम लागेर आएको थियो । म पानीपानी भएको थिएँ, मलाई लाग्यो – छिः साउनामा बस्ने सबै मान्छेहरुको अगाडि आफ्नो नीजि अंगको प्रदर्शन म कसरी गर्न सक्छु ? यस्तैमा सिनियर मध्येका एक जनाले आफ्नो अनुभव सुनाएका थिए, “हैन त्यस्तो लाजै लाग्ने भए त भित्री वस्त्र (अन्डरवेयर) लगाएर जाँदा पनि हुन्छ । मैले त्यसै गरेको थिएँ ।” उनको कुरामा असहमत हुँदै अर्का एकजनाले सुझाए –“साउना पनि कोही कट्टु लगाएर जान्छ ? साउना भनेकै नाङ्गै बसेर आनन्दले वाफ लिने हो, पसिना झार्ने हो । कट्टु लगाएर साउना जानु स्वास्थ्यका लागि उति फाइदाजनक कुरो हैन ।” म त्यसदिन बिलखबन्दमा परेँ । पहिलो पटकको अनुभव भएकाले साउना जान मलाई भित्रैदेखि ईच्छा जागेर आएको थियो, र फेरि नाङ्गै मानिसहरुबीच बस्ने कुराले कताकता चिमोटी रहेथ्यो ।

कलेजको शुरुका दिन कक्षामा रहेका सबैजनालाई चिन्न मुश्किल भैरहेकाले पनि म त्यस भेटघाटलाई छुटाउने विचारमा थिइँन । मैले त्यसलाई साथीहरु चिन्ने अवसरका रुपमा बुझेँ । र, मसँगै आएका केहि नेपाली साथीहरुसहित त्यो पार्टिमा उपस्थित पनि भएँ । विद्यार्थी युनियनका साथीहरुले खेलका माध्यमबाट विद्यार्थी जीवनमा आउन सक्ने केहि अप्ठ्यारा परिस्थितीहरु र ती परिस्थितीहरुको सामना गर्न लिनुपर्ने सृजनात्मक पहलकदमीका बारेमा जानकारी गराईसकेपछि हामी पार्टीमा रम्न पुग्यौं । सबैजनाले आफूले पिउने चिजहरु आफैले व्यवस्था गरेकाले विद्यार्थी युनियनले अनावश्यक खर्च पनि गर्नुपरेन । आफूसँग जे छ त्यो पिउँदै सबैजना पार्टिमा खुब झुमिरहे । पार्टीकै बिचमा केटीसाथीहरु साउनाका लागि गए । र, उनीहरुको पालो पछि हाम्रो पालो आयो । 
एकएक गर्दै फिनिस, अफ्रिकन र हामी नेपालीकेटाहरु नाङ्गियौं । फिनिसहरुलाई यो नौलो विषय थिएन, सानैदेखिको अनुभव । तसर्थः उनीहरु चिसो पानीले जिउ पखालेपछि सामान्य रुपमै साउनालिने कोठाभित्र छिरे । अफ्रिकन चाँहि एकजना मात्र थिए । उनको पनि हाम्रो जस्तै लज्जालु चरित्रको संस्कार हुनेभएकाले होला आफू मानिसहरुका विचमा नाङ्गै हुँदा असहज महशुस गरिरहेथे । म र मेरा अर्का नेपाली साथीलाई चाँहि यो शरमकै विषय थियो । किन्तु, सानो छँदा आफ्ना स्कुले साथीहरुसहित गाउँ नजिकै खोलामा गएर नाङ्गै भएर पौडिएको चाँहि मैले त्यस बखत पनि विर्सिन सकिनँ । मलाई साउनाको फाइदा वा बेफाइदा केहि पनि थाहा थिएन । सायद साउनाले ब्यक्तिको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका बारेमा पूर्व जानकारी हासिल गरी साउना लिन गएको भए मलाई यति सारो शरम लाग्ने थिएन होला, तर पहिलो पटक भएकाले साउना लिनलाई त्यो ८० डिग्री सेन्टिग्रेडको तापक्रम भएको कोठामा २०–२५ मिनेट बस्दाको पूरै समयभरी मेरो देब्रे खुट्रटा दाहिने खुट्टामाथि खप्टिरह्यो । मलाई डर थियो – कतै मेरो गोप्य अंग प्रदर्शन होला कि ! साउना लिदैँ गर्दा हाम्रा फिनिस साथीहरु आफ्नो साउना परम्पराका बारेमा बोलिरहेका थिए । तथापि, मेरो ध्यान ज्यादातर मेरो आफ्नै कम्मर मुनिको भाग र अनि साउना लिइरहेका अरु नांगा मानिसहरुको नजर कता परेको छ, त्यो थाहा पाउनपट्टि बढि केन्द्रित भईरहेथ्यो । मेरा फिनिस मित्रहरुले बताउँदै थिए कि प्रत्येक फिनिस ब्यक्ति आफ्नो घरमा साउना होस् भन्ने चाहन्छ । साथै उनीहरुले आफ्ना साउना अनुभवहरु पनि सुनाए । उनीहरु मध्ये कसैले टिप्पणी ग¥यो – साउनाकोठा यस्तो ठाउँ हो जहाँ कसैले कसैको नाङ्गोपनको हाँसो गर्न मिल्दैन !

एउटा बन्दकोठाको एक कुनामा राखिएको विध्युतिय हिटर, त्यसमाथि तताइएका ढुंगाहरु र तातिएका ढुंगामा पानी खनाउँदा निस्कने बाफ र त्यही बाफ लिदै, खलखली पसिना चुहाइरका केहि थान नाङ्गा मान्छेहरु । अनि ती नाङ्गा मान्छेहरुका भलादमी भलाकुशारी । सामान्यतयाः यस्तै हुन्छ साउनाकोठाको वातावरण ! एउटा अचम्मको कुरो के छ भने मानिसहरु नाङ्गै हुँदा गफहरु भलादमी हुँदा रहेछन्, मैले मेरो जीवनकै पहिलो साउनामा यस्तै अनुभव गरँे । त्यस बन्दकोठामा हामी नाङ्गा मानिसहरुले साउना लिदाँ मुटुको धड्कनमा आउने अचानक तिब्रता, त्यस तिब्रताले रक्त सञ्चालनमा ल्याउने गति, मानव शरीरबाट निस्कने पसिना र यी सबैले मानिसको स्वास्थ्यमा पार्ने प्रभावका बारेमा जानकारी पायौं । हाम्रा फिनीस साथीहरुले जानकारी गराए कि साउना केटाकेटी दुवैले सँगैपनि लिन मिल्छ यदि साउना लिनेहरुले एकअर्कालाई राम्रोसँग जान्दछन् भने । यो अस्वभाविक रहेन किनकी साउनामा नाङ्गै बसिन्छ, तर नाङ्गा हर्कतहरु गरिदैन । साउना फिनिस जनताहरुको राष्ट्रिय परम्परा हो । सम्भव भएसम्म एउटा फिनिस मान्छे आफ्नो घरमा एउटा साउना लिने कोठा होस् भन्ने चाहँदा रहिछन् । र, पचास लाख मानिसहरुको बसोबास भएको फिनल्याण्डमा दश लाख भन्दा बढि साउना छन भनिन्छ । करिव एक साउना प्रतिघर ! 

-म्याग्दी घर भएका लेखक हाल फिनल्याण्डमा अध्ययनरत हुनुहुन्छ । 

Related

विचाररसाहित्य 7422947824110123911

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item