जुनार सुन्तला सम्बन्धी गोष्ठी सम्पन्न
http://sindhulidarpan.blogspot.com/2012/11/junar.html
दिपक श्रेष्ठ
काठमाडौँ,कात्तिक २४ ।
विश्व खाद्य संगठन र नेपाल विज्ञान प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्त रुपमा राजधानीमा आयोजित एक हप्ते सुन्तला, जुनार र कागतीजस्ता अमिला जातका फलफुलमा लाग्ने ग्रिनिङ डिजिजको पहिचान र नियन्त्रणसम्बन्धी कार्यशाला आज सम्पन्न भएको छ । कार्यशालामा सुन्तला खेतीसँग सम्बन्धित १३ जना कृषि विशेषज्ञहरुको सहभागिता रहेको थियो । कार्यशालामा ग्रिनिङ डिजिजसम्बन्धी अनुसन्धान गर्दै आउनुभएकी वरिष्ठ वैज्ञानिक डा.संगीता श्रेष्ठ मुख्य प्रशिक्षकको रुपमा हुनुहुन्थ्यो ।
त्यस्तै, डा.ज्योति महर्जन, डा.चिरञ्जीवी रेग्मी, निशा राणा र जयश्री सिंजापतिले स्रोत व्यक्तिको रुपमा कार्यशालामा सहयोग गर्नुभएको जनाइएको छ । कात्तिक १९ गतेदेखि सुरु भएको कार्यशालामा सहभागीहरुलाई विश्व खाद्य संगठनअन्तर्गत टीसीटी आयोजनाका संयोजक महेन्द्रमान श्रेष्ठले समापनका अवसरमा शुक्रबार प्रमाणपत्र वितरण गर्नुभएको थियो । अमिलो जातका फलफुलहरु सुन्तला, जुनार र कागतीको व्यावसायिक खेती गरिएका जिल्लाहरुमा खतरनाक व्याक्टेरियल ‘ह्रास रोग’ (ग्रिनिङ डिजिज) ले गम्भीर समस्या खडा गरेको र त्यसको नियन्त्रणका लागि भइरहेका प्रयत्नहरुबारे कार्यशालामा छलफल भएको कार्यशालाकी संयोजक डा. संगीता श्रेष्ठले बताउनुभयो ।
सो रोगसम्बन्धी अनुसन्धान गर्दै आउनुभएकी नेपाल विज्ञान तथा प्रज्ञाप्रतिष्ठान (नास्ट) की वरिष्ठ वैज्ञानिक डा.संगीता श्रेष्ठका अनुसार, भाइरस र भाइरसजन्य रोगहरु (ग्रिनिङ डिजिजको पनि) को पहिचान लक्षणका आधारमा मात्र नभई पोलिमरी चेन रियाक्सन (पीसीआर) प्रविधिमार्फत् ‘डिएनए’ परीक्षणबाट मात्र पत्ता लगाउन सकिन्छ । सन् २००२ देखि नै नास्टमा ‘डिएनए’ परीक्षण सेवा सुरु भएको हो । उहाँका अनुसार, ग्रिनिङ डिजिजको प्राथमिक लक्षणहरुमा पात पहेँलो हुने, पातमा हरियो पहेँलो छिरविरे दाग देखिने, फल पाक्ने समयमा पनि हरियो नै बस्ने, साना दाना लाग्ने, बोट सुक्ने र उत्पादनमा व्यापक ह्रास आउने हुन्छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !