सहमति र निर्वाचन प्रक्रिया अब सँगसँगै अघि बढाउने दलहबीच सहमति
http://sindhulidarpan.blogspot.com/2012/05/s_3900.html
काठमाण्डौ,वैशाख १९ ।
भावी संविधानका विवादमा सहमतिको प्रयास गरिरहेका दलहरुले अब छलफल र निर्वाचन प्रक्रियालाई सँगसँगै लैजाने भएका छन् । बिहान सिंहदरबारमा बसेको संवैधानिक विवाद समाधान उपसमितिको बैठकमा दलहरुले संविधानसभामा निर्वाचन प्रक्रिया र राजनीतिक तहमा सहमतीय प्रक्रिया दुईटैलाई एकै साथ लैजाने सहमति गरेका हुन् । संविधानसभाको प्रक्रियामा जान संविधानसभा नियमावली संशोधन गर्ने विषयमा पनि सहमति भएको छ । मतदान प्रक्रियामा कुनै पनि विषयमा बहुमत आए के गर्ने भन्ने प्रक्रिया अस्पष्ट रहेको छ । नियमावली संसोधन गरेर पहिलो मस्यौदा बहुमतीय पद्दतिबाट तयार गर्ने सहमति भएको बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनुभयो ।
प्रचण्डले बहुमतीय प्रक्रियामा जाने निर्णय भए पनि आत्तिनु पर्ने अबस्था नभएको बताउनुभयो । संविधानसभाको आज बस्ने बैठकले नियमावली संशोधन गर्ने सहमति भएको दाहालले बताउनुभयो । राज्यपुनर्संरचनाको बिषय निकै जटिल भएकोले उतारचढाव आउनु स्वभाविक भएकोले चिन्ता लिन नहुने प्रचण्डको भनाइ थियो । काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बहुमतीय प्रक्रिया सुरु गरे पनि सहमतिका लागि प्रयास जारी राखिने बताउनुभयो । सहमतिको प्रयास स्वरुप मोर्चा सहित तीन दलका शीर्ष नेताको बैठक आजै साझ बस्ने उहाँले बताउनुभयो ।
एमाले अध्यक्ष झलनाथ खनालले सहमतिको विकल्प नभएकोले सहमतिका लागि हरदम प्रयास गरिने उल्लेख गर्नुभयो । संविधानसभाको मूल बैठकमा विबादित बिषयमा मतदान गराउदा कुनै प्रस्तावले स्पष्ट बहुमत ल्याउन नसके पुनः संवैधानिक समितिमा पठाएर छलफल गर्ने व्यबस्था सहित नियमावली संशोधन गर्न लागिएको हो । फौजदारी अभियोग लागेका सभासदलाई निलम्बन गर्ने व्यबस्था भने तत्कालका लागि थाती राखिएको छ । उपसमितिको बैठकअघि सभामुख सुवास नेम्वाङले आजै शीर्ष नेतासंग परामर्श गर्नुभएको थियो । आजै दलहरुले बेलुका पाँच बजे थप छलफल गर्ने सहमति गरेका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !