बेच्न नजानेरै चेपाङको अदुवा उत्पादन सङ्कटमा

चितवन , जेठ ५ । चितवनको अति विकट गाविस सिद्धीका डवलबहादुर चेपाङले घरको आँगनमा नै अदुवाको झ्यासभित्र चार क्विन्टल अदुवा पुरेर राखेका छन् ।  अझ आठ क्विन्टल जति बारीका विभिन्न ठाउँमा खाल्डोमा पुरेर राखेका छन् । अदुवाको भाउ ह्वात्तै घटेपछि उनी भाउको पर्खाइमा बसेको पनि दुई महिनाभन्दा बढी भइसकेको छ । तर भाउ सोचे जस्तो नभएको डवलबहादुर भन्छन् ।

तीन क्विन्टल बीउ किनेर लगाएका डवलबहादुर बारीमै राखेको अदुवा देखाउँदै भन्छन्, ‘पोहोर साल राम्रै भाउ आयो भनेर लगाइयो, अहिले भाऊ नपाउँला बेहाल जस्तै भएको छ ।’  सिद्धीकै मझवाङका कृष्णलाल चेपाङले पनि तीन क्विन्टल अदुवा खाल्डोमा हालेको महिना बितिसक्यो । चालिस रुपैयाँ केजीमा बीउ ल्याएर लगाएका उनले एक हप्ताअघि मात्रै बजार भाउ बुझ्दा मुस्किलले १५ रुपैयाँ पनि नदिने भएपछि अझै खाल्डामा अदुवा राख्ने सोचमा उनी छन् । 

उनीहरू मुख्य बजार नारायणगढमा भाउ बुझ्न आउँदैनन् । गाउँमा आउने व्यापारी र नजिकको बजारकाले जति दियो उतिमै चित्त बुझाउनु उनीहरूको बाध्यता छ । 

तर एकातिर आम्दानी नहुँदा दैनिकी चलाउन धौधौ परिरहेका बेला अर्कातिर राखेकै ठाउँमा अदुवा कुहिने होकी भन्ने चिन्ताले यहाँका चेपाङलाई अहिले सताउन थालेको छ । 

गाउँका गन्यमान्यमध्येका एक हुन् सिद्धीकै काजी प्रजा । उनको पनि झन्डै चार क्विन्टल अदुवा बारीमा खाल्डोमुनी नै छ । डल्लीमायाँ चेपाङ गाउँभरीकै अदुवा नबिकेको बताउँछिन् । ‘पैसाको खट्टै परेकाले १०, २० रुपैयाँ किलोमा घाटा खाएरै भएपनि बेचे तर बाँकीले बेचेका छैनन् ।’ बजारमा गएर व्यापारी पनि भेट्न नसक्ने उनको भनाइ छ । 

  चार घन्टा हिँडेपछि पुगिने आफ्नो सबैभन्दा नजिकको बजार शक्तिखोरमा नै अदुवा छाड्नु उनीहरूको बाध्यता हो । त्यहाँसम्म ज्याला दिएर बोकाउनुपर्ने बाध्यता पनि उनीहरूलाई छ । 

अदुवा बेचेर घरमा समस्याहरू टार्ने सोच बनाएका यहाँका चेपाङ अहिले ऋणमा डुव्ने बेला भइसकेको बताउँछन् । अदुवाको भाउ नपर्ने हो भने झन् समस्या बढ्दै जाने पिरलो उनीहरूको छ । 


चितवनको ३६ गाविसमध्येको सबैभन्दा कम जनसङ्ख्या भएको सिद्धी गाविस हो । यहाँ अधिकांश चेपाङ समुदायको बसोवास छ । गाविसकै उत्कृष्ट ठाउँ मानिएको सिद्धीको मझवाङमा झन्डै सय घरधुरी छ । त्यसमध्ये ५० घरले अदुवाखेती गरेको स्थानीय गया चेपाङको भनाइ छ । अहिले गाउँभरी अदुवा नै अदुवा छ । भाउ नहुँदा बीउको मूल्यसम्म पाएपनि बेच्ने योजना उनीहरूको छ । तर किन्ने व्यापारी भेटन नसकिएको कृषक पूर्णबहादुर प्रजा बताउँछन् । 

  दैनिक बजार भाउ बुझ्ने गरेका पूर्णबहादुरले अदुवा बिकेमात्र घरको गर्जाे टर्ने सुनाउँछन् । बल्ल बल्ल ऋण काडेर अदुवाखेती गरेको अहिले झन् ऋणमाथि ऋण थोपरीने चिन्ताले चेपाङलाई सताएको छ । आफूहरूलाई कसैले सहयोग गरे जिल्लाका ठूला बजारतिर लगेर बेच्न सकिने र भाउपनि पाइने उनीहरूले बताएका छन् । 

सो गाउँमा अदुवा लगाउने हरेक घरमा दुईदेखि १२ क्विन्टलसम्म अदुवा छ । तर अहिले अदुवा हेरेर दिन बिताउने गरेका छन् उनीहरूले । टाँडी, भरतपुरलगायतका बजारमा अदुवा बेच्न आफूहरूले नजान्ने उनीहरू रासससँग कुरा गर्दै भन्छन्, ‘लौन व्यापारी खोजिदिनुपर्याे ।’

गिठ्ठा र भ्याकुर खोजेर दैनिकी चलाउने चेपाङहरू भर्खंरैबाट खेती किसानीमा आकर्षित हुन थालेका हुन् । यस्तो बेलामा आफ्नो परिश्रमको उत्पादनले भाऊ नपाउँदा उनीहरू खिन्न मात्रै होइन खेतीबाटै पलायन हुने डर छ । 

चितवनको सदरमुकाम भरतपुरबाट एक घन्टाको सवारी यात्रा पछि शक्तिखोर पुगिन्छ । शक्तिखोरबाट आधा घन्टा हालसालै बनेको कच्ची बाटोको यात्रा पछि दोभान पुगिन्छ । त्यसपछि झन्डै तीन घन्टा ठाडो उकालो बाटो हिँडेपछि बल्ल मझवाङ गाउँ भेटिन्छ ।  अदुवा खेतीसँगै डोकाडालो बुन्ने, अम्रिसोको कुचो बनाउनेलगायतका काम उनीहरूले गर्ने गरेका छन् । तर उत्पादनले भाउ नपाएपछि उनीहरू यी कामबाट निरास हुन थालेका छन् । 

यता जिल्ला कृषि विकास कार्यालय चितवनले भने चेपाङले भने जस्तो अदुवाको भाउ १० रुपैयाँ नभई ४० देखि माथि नै रहेको जनाएको छ । चेपाङले बजार बुझ्न नसकेकाले समस्या परेको भन्दै जिल्ला कृषिका सहायक प्राविधिक विष्णु सुवेदीले समस्या समाधानको प्रयास गरिने बताउनुभयो ।  बजारमा ५० देखि ६० रुपैयाँ प्रति केजीमा उपभोक्ताले अदुवा किन्ने गरेका छन् । तरबीचका व्यापारीले भने कृषक र उपभोक्ता दुवैलाई ठग्ने गरेको चितवनका जानकार बताउँछन् । चेपाङ सोझा र अशिक्षित भएकाले समस्या परेको हो भन्नुहुन्छ भरतपुर निवासी हरिप्रसाद भण्डारी ।

चितवनमा १६० हेक्टरबाट वार्षिक एक हजार ४०० मेट्रिक टन अदुवा उत्पादन हुने गरेको चितवनका कृषि कार्यालय प्रमुख जगन्नाथ तिवारीले बताउनुभयो । चितवनको मध्यवर्ती क्षेत्र र पहाडी नौ गाविसमा बढी मात्रामा अदुवा उत्पादन हुने गरेको छ । औद्योगिक मसला बालीमा पर्ने अदुवा वर्षमा एक बाली मात्र हुन्छ । तर चितवनका मुख्य बजारमा राम्रै भाउ हुँदासमेत चेपाङको गाउँमा भने अदुवाको भाउ नपाई चेपाङ समस्यामा पर्नु बिडम्वना हो । 

उनीहरूका उत्पादनलाई बजारसम्म पु¥याई उचित मूल्य दिलाएर कृषि व्यवसायतर्फ आकर्षित गर्न सरोकारवाला पक्षबाट प्रभावकारी पहलहुनु अत्यावश्यक छ, अन्यथा उनीहरू फेरि गिठ्ठा, भ्याकुरकै शरणमा पर्नुपर्ने स्थिति आउने छ, जो राज्यका लागि शोभनीय हुने छैन । 

Related

प्रमूखखबरहरु 679045082468899788

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item