पाँचसय रुपिया सापटि मागेर गित गाउन रेडियो नेपाल गाको

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_780.html
गायक कृष्ण विक्रम थापा सँग लिईएको अन्तिम प्रकासित अन्तवार्ता,
सिन्धुली दपर्ण .
कठ्याङिग्रदो जाडो छल्न कोदोको तीनपाने घुट्की लाउँदै गरेका कृष्णबिक्रम थापा सिन्धुलीबजारको कान्तिपुर होटलभित्र भेटिए । सम्साँझै वत्ती गएको बेला एउटा मैनवत्तीको बीचमा उनी भेटिएका थिए । सिन्धुली महोत्सवमा गएको मौकामा उनीसँग मध्यपृष्ठका लागि सम्वाद गर्ने मेरो धोकोमाथि उनले दुईपटकसम्म खेलवाड गरिसकेका थिए । पहिलोपटक भेटेर कुरा गर्नासाथ उनी जङ्गिए । नारायण गोपालले पनि फोटो खिच्न र पत्रकारलाई अन्तर्वार्ता दिन मानेका थिएनन् म तपाईसँग किन बोल्ने ु उनले भने धेरै पत्रकारसँग कुरा गरेँ अब कुरा गरेर केही हुनेवाला छैन । पहिलो दिन बोल्न नमाने पनि फोटो खिच्न भने उनी हौसिए । चुरोटको धुवामा रमेका बेला उनको फोटो लिएर म हिडेँ । साथी लोकहरि आचार्यले हाल रेडियो सिन्धुलीगढी पनि उनको खोजी गरिरहेका थिए । लोकहरिजीले कृष्णविक्रम बस्ने र पिउने होटल फेला पारेर मलाई खबर गरे । त्यसपछि मात्रै उनीसँग कुरा गर्ने चाजो पाँजो मिल्यो मेरो । हल्का केही लिने हो नसाको सुर चढ्दै गरेका कृष्णविक्रमको यो प्रस्ताव लोकहरिजी र मैले उनको प्रस्ताव स्वीकार गर्ने कुरा भएन ।
उनी भन्दै थिए कुखुराको एक एक प्लेट अनि हल्का पियोर को दोको छ लिउँ न । हामीले उनका लागि व्यवस्था गर्ने बाचा गरेपछि मात्र कुराकानीको मेसो शुरु हुने छाँटकाँट देखियो । साथी लोकहरि आचार्यले मेरो कानमा खुसुक्क भने एक गिलास खुवाईदिउँ न त , एक गिलास कोदोको झोल अर्डर गरेपछि कृष्णविक्रम थापा फुरुङ्ग परे । ल ल के के कुरा गर्ने हो सो धिहाल्नुस थापाले हौसिदै भने । मैले सोध्न नपाउँदै उनले भने पहिला एउटा गीत गाउँ है त त्यसपछि कुरा गरौला । कुन गीत गाउने लोकहरिजीले भने । उही त हो सुन्नुस् न पहिला एक घुट्की कोदोको झोल पिइसकेपछि कृष्णविक्रमले पुरानो गीत सुनाए - सिन्धुली गढी घुमेर हेर्दा सुन्तली माई कतिमा राम्रो दरबार मार् यो मायाले नि मार् यो । पूरै गीत सुनाउन नपाउँदै उनलाई लहरे खोकीले गाँज्यो । गीतको बाँकी अंश उनले फेरि सुनाए - आजकालको जमानामा सुन्तलीमाई कस्तो पो होला घरबार मार् यो नि मायाले मार्यो यो गीतको पृष्ठभूमि निकै पुरानो र रोचक रहेछ । कृष्णविक्रमले यो गीत २०३६ साल फागुन ७ गते पहिलोपटक रेडियो नेपालबाट गाएका रहेछन् ।
त्यतिवेला रोशी खोलाको बाटो हुदै ३ दिन हिडेर काठमाडौ पुगेको हुँ उनले सुनाए रतनचुरा गाउँका चक्रमान श्रेष्ठसँग पाँचसय रुपिया मागेर लगेँ । लोकगीत प्रतियोगीतामा करिब सात सय प्रतियोगी थिए । निर्णायक मण्डलमा नातिकाजी शिवशंकर श्रेष्ठ र पाण्डब सुनुवार थिए । रेडियो नेपालमा उनले पहिलो होलान् भनेर कसैले पनि पत्याएका थिएनन् । सात सयको बीचमा म फस्ट भएँछु उनले सुनाए दोस्रा राम थापा भएका थिए । गीत सुनेपछि यति धेरै प्रतिकि्रया आयो कि म अहिले भन्न पनि सक्दिन । उनी प्रथम भएको क्षणसँगै सापटी मागेर लगेको रुपियाँ पनि झल्झली सम्झिरहेका छन् यतिवेला । बिचरा त्यो पनि गरीब नै थियो म जस्तै पैसा सापटी दिने श्रेष्ठलाई सम्झदै उनी भन्छन् मैले उसको पैसा तिरिँन उसले पनि मागेन । लोकगीत प्रतियोगीतामा प्रथम भएर लोकपि्रय भएपछिका १२ वर्षसम्म उनले रेडियो संगीत विद्यालयमा १२ व्ार्ष जागीर खाए । त्यसपछि मलाई गाउँ जान मन लाग्यो जागीर छाडेँ उनले भन्ो नारायणगोपाल महाप्रबन्धक थिए त्यतिवेला । २००३ साल सिन्धुलीको रनतचुरा ७ नयाँखर्कमा जन्मेका हुन् कृष्णविक्रम ।
नरबहादुर थापा र पवित्रा कुमारीका ३ छोरा मध्ये जेठा रहेछन् यिनी । उनका भाइहरु गणेश वहादुर र रत्नवहादर खेतीपाती गरेर बसेका छन् नयाँखर्कमै । सानैदेखि गीतप्रति आकर्षित कृष्णविक्रमले १३ वर्षदेखि गाउन थालेका रहेछन् । २०१६ सालमै मैले घर छाडेको थिएँ उनले भने त्यसपछि त गाउनबाट मलाई कसले रोक्न सक्थ्यो र ,कोदोको झोलले उनलाई छोइसकेको थियो । तर कुराकानीको एउटा छेउमात्रै सकिएको थियो । प्रसंग मोड्दै मैले सिन्धुलीगढीका विषयमा बोल्न लगाएँ । डाडाको बीचमा पनि सम्म परेको जग्गा थियो फुर्केका उनले सुनाउन थाले , त्यहाँ सुन्तलीमाया हायु थिइन् । मेरो सम्झनामा आएसम्म उनी बाख्रा चराउन आउँथिन् । मैले धेरै पटक त्यो ठाउँमा उनलाई देखेको हुँ । हामी त केटाकेटी जस्तै थियौँ । तर ती हायुनीसँग मेरो कहिल्यै भेट भएन । ती महिलाको सम्झनामा उनले गीतको बीचमा सुन्तलीमाईु थेगो राखेका रहेछन् । पहिला मैले गीतमा रामसाईला भन्ने थेगो राखे को थिएँ उनले सुनाए, हायुनीबाट प्रभावित भएर सुन्तलीमाई राखिदिएँ । त्यसो त नयाँखकैतिरकै सुन्तलीमाया दमिनी पनि थिइन् रे ।
तर उनी भन्दा पनि हायुनीबाट प्रभावित भएका रहेछन् कृष्णविक्रम । राम साईला थेगो राखेर गाएको गीतको एकटुक्रा पनि उनले सुनाउन भ्याईहाले- हिमालै चुली नि त्यो पल्लापटि रामसाईला कोकलेले बन फाड्यो मार् यो नि मायाले मार् यो सागाकी पानी नि हे बैनी नानी रामसाईला कुन चाहिले मन भाड्यो मार् यो नि मायाले मार् यो रेडियो नेपालमा गीतले उत्कृष्ठ स्थान हासिल गरेपछि चम्केका कृष्णविक्रमले कति ठाउँमा आाफ्ना गीतमा सुन्दरीहरु झ्याम्मिएर नाचगान गरेको देखेछन् । सिन्धुलीको प्रशिद्ध माईस्थान मन्दिरमा भएको एउटा घटना अहिले पनि उनको मनमा ताजै छ । धेरै वर्ष भयो अतिततिर घोल्लिँदै उनले भने माघ १ गते कमला नदीको किनारमा लाग्ने जात्रा हेर्न म गएको थिएँ । जात्रामा एउटी राम्री आइमाईले मेरै गीत गाइरहेकी रहिछिन् वरिपरि सयजना जति ठीटा र अरु मान्छे हरुझुम्मिएका थिए । को होला हँ यस्तो गीत गाउने उनले सुनेछन् । तर उनी आफ्नो परिचय नै नदिईकन टाप कसेछन् माईथानको जात्राबाट ।
उनी त्रिशुलीतिरकी रहिछन् उनले भने म उनीसँग बोलिन । बाहुनी वा क्षेत्रीनी यस्तै के थिइन् मैले त्यति ठम्याउन सकेको छैन । कृष्णविक्रमले सुनाए अनुसार अहिले गढी दरबारमा करिब ३ सय जति कुखुरा र ७० वटा जति खसी चरिरहेका छन् । दरबारका केही अवशेष मात्रै बाँकी छन् । उराठ डाडोप्रति उनले निकै चिन्ता प्रकट गरे ।सिन्धुलीगढीको संरक्षणमा कोही पनि लागेनन् उनले गुनासोभावमा भने विश्वेश्वरप्रसाद कोइराला मातृकाप्रसाद देखि गिरिजाप्रसाद कोइरालाहरु यही ठाउँमा हुर्के । तर उनीहरुले सिन्धुलीगढी संरक्षणमा केही गरेनन् । सिन्धुलीगढीमा बसपार्क बनाएर संरक्षण गर्नुर्ने जस्तो लागेको छ उनलाई । सिन्धुलीगढी जोगाउका लागि केही योजना छ तपाईको ुपूँजी हुनु पर् यो नि केही गर्न प्रश्न भुईमा खस्न नपाउँदै उनले भने । सुन्तलीमाई तोरी लाहुरे मकवानपुरे च्यान्टीगोरी लोक खैजडी भजन लगायत ९ वटा क्यासेट निकालेका छन् उनले । तर सिन्धुलीगढी घुमेर हेर्दाको चर्चा सदावहार छ । मलाई यही गीतले त बचाएको छ नि दाँत झरिसकेका गीजा देखिनेगरी हाँसेका उनले सुनाए बास्तवमा म त धनी पो छु त ,।
४ छोरा र एक छोरीका बाबु हुन् । उनका छोराछोरी वा नातिना नातिनी कोही पनि गीतसंगीतमा लागेका छैनन् । यसमा उनको भनाई केही छैन तर छोराछोरीलाई पढाउन पाएकोमा दंग छन् उनी । मैले घर जोडिन त के भो ु उनले भने छोराछोरीलाई खुट्टामा उभिन सक्ने बनाईदिएको छु अरु के चाहियो र ु उनका सबै दाँत झरिसकेका छन् । अटुटरुपमा चुरोट र रक्सी सेवन गरि रहने कृष्णविक्रमको दाँत झरेपनि स्वरको निखारतामा कुनै कमी आएको छैन । उनका समकक्षीहरु रामथापा मीरा राणा तीर्थ कुमारीहरु अहिले पनि सुमधुर आवाज दिइरहेका छन् । गीत गाउने क्रममा शुरुमा परिवार ले साथ दिएन उनलाई । तँ अब बिगि्रस् भनेछन् उनलाई आफन्तले । गीत नगाएको भए नयाँखर्कमा खेती किसानी गरेर बस्थे होला यिनी । प्रतिकुलताकै बीचमा घरैमा २;३ कक्षा पढे उनले । अहिले श्रीमति र छोराछोरीले घरमै बस्न आग्रह गरेका रहेछन् उनलाई । तर उनको भनाई छ, बोल्न सकुन्जेल म घर बस्दिन । राजनीति मन नपर्ने बताएका उनले नसामा डुबुल्की मारेर होला राजनीतिका रसिला गफ गर्न पनि पछि परेनन् । मैले राजा नमानेको ५० वर्ष भयो , उनले भने ।
किन त ु राजा किन मान्नु यिनले हाम्रा लागि के गरिदिएका छन् र मान्नु ु उनी हाक्का हाक्की भन्छन् । प्रचण्ड उनलाई सबैभन्दा बढी मनपर्ने नेता हुन् । अबका राष्ट्रपति हुने मान्छे ती मात्रै एकजना देखेको छु मैले उनले भने । सायद माओवादीले प्रचण्डलाई नयाँ नेपालको पहिलो राष्ट्रपतिको उम्मेदवार बनाउने गरी गरेको निर्णय उनले थाहा पाएका छन् कि छैनन् उनले हामीसँग भनेको डक्ट्रीन हो यो । त्यसो त प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला एमाले महासचिव माधवकुमार नेपाल माओवादी नेता डा बाबुराम भट्टराई पनि उनलाई मन पर्ने नेता हुन् । उनले यी मध्ये कुनै नेतालाई व्यक्तिगत रुपमा भेटेनन् । नसाको सुर चढेका उनलाई हामीले सोध्यौँ - सिन्धुलीगढीका गायकले यो देशको राष्ट्रपति हुने सपना देखेका छन् ु अहँ मलाई राजनीति गर्नु पनि छैन पढेको पनि छैन उनले इन्कार गरे , मर्ने बेलामा मलाई अरु केही चाहिएन कलाकार छु यही भए पुग्यो । म नेता होइन मलाई कुर्शी चाइएको छैन मलाई भोट र नोट चाहिएको छैन ।
२ विगाहा खेतवारी छ खान पुग्छ उनी भन्दै थिए मेची महाकाली सबै घुमेको छु देउडा सोरठीको मायामा म भुले को छु । कुराकानीकै क्रममा उनको गिलास रित्तिइसकेको थियो । उनले थप्ने मनसाय व्यक्त गरेनन् । बरु म जान्छु थाकिसकेँ ,एक्कासी जुरुक्क उठे उनी । म त उचालिएको मान्छे हुँ , जान खोज्दै गर्दा उनले भने , तर म धनी भएँ धनले होइन मनले । नारायण गोपाल र मलाई कतिपयले जँड्याहाको पनि आरोप लगाए , लट्पटिएको शब्दमा उनले भने , तर त्यसले केही पनि गर्दैन । हल्का त खाईहालिन्छ नि ; यो जमानामा नखाने को छन् र । उनको गीत रिमिक्स भएको छ । मेरो ओरिजिनल गीत मर्दैन , उनले भने रिमिक्स्ा त दुई दिने घामछायाँ हो । मलाई कुनै चिन्ता छैन । उनले गीतको १ लाख रुपिया लिन बाँकी छ योगेश्वर अमात्यसँग । अब उनी ६० हजार रुपिया गोटा गीत रिमिक्स गर्न दिने बताउँछन् । अरुले स्वास्नी बेचे घरबार बेचे ,गीत बेचेको आरोप लगाउनेहरु लाई उनको मुखभरीको जवाफ छ ु मैले गीत बेचेँ त के गल्ती गरेँ ु गीत बनाएवापत् रेडियो नेपालले वार्षिक २४ हजार दिन्छ उनलाई । कान्तिपुर एफएम सगरमाथा एफएम र च्यानल नेपालबाट पनि रोयल्टी लिएको उनी बताउँछन् । रात छिप्पिसकेको थियो ।
उनी हामीसँग कुरा गर्न नसक्ने जस्ता देखिइसकेका थिए । अवचाहिँ केहिगर्न नसक्ने जस्ता देखिइसकेका थिए । विदा मागेर हिड्न लाग्दा उनले हामीलाई बोलाए । म लोकगीतका लागि बाजा संग्रहलालय खोल्दै छु है ,उनले ठूलो स्वरमा भने यो चाहिँ पत्रिकामा छापिदिनुस् है ; माघ २० तिर काठमाडौ आएर भेटौला । त्यतिमात्रै होइन उनले मुख फोरेरै २० रुपियाँ मागे । छक्क पर्दै मैले दिएँ । साथी लोकहरिजीले पनि पस्र खोल्दै थिए । पैसा पो मागे त बुढाले , मैले लोकहरिजीलाई सोधेँ । उनी यस्तै हुन् सबैसँग , लोकहरिले मलाई भन्दै थिए । मेरो ध्यान चाहिँ होटलको क्यासेटमा उनकै आवाजमा बजिरहेको गीततिर मोडिदै थियो । परेली जिस्क्याई मस्केर हिड्ने सुन्तली माई………………॥ मार् यो नि मायाले मार् यो
गायक कृष्ण विक्रम थापाको स्वर्गारोहण २०६५ साल वैशास ११ भएको हो ।
पर्शुराम काफ्ले,
हाल नयाँपत्रिका राष्ट्रिय दैनिक
pkaphle@ gmail.com
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !