अस्ट्रेलियामा नेपाली अर्बपति






अस्ट्रेलियाका धनाढ्य व्यक्तिहरुबारे बीआरडब्लू पत्रिकाले (जुन, २०११) अंकमा गरेको सर्वेक्षण अनुसार शेष घले १ सय ७६ औं स्थानमा परेका छन् । उनको सम्पत्ति २ सय ६९ मिलियन अस्ट्रेलियन डलर छ । जुन गत वर्षको २ सय ३७ मिलियनभन्दा ३२ मिलियन बढी हो ।


उनले अस्ट्रेलियामा मेलबर्न इन्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) स्थापना गरेका छन् । मेलबर्न र सिड्नीमा गरेर झण्डै ३ हजार विद्यार्थी एमआईटीमा अध्ययनरत छन् । यहाँ सूचना प्रविधि, व्यवस्थापन, मोबाइल प्रविधि र अंग्रेजी भाषा लगायतका विषयमा पढाई हुन्छ ।

साथै केही वर्षअघिदेखि उनले प्रोपर्टीमा पनि लगानी बढाएका छन् । बि.आर.डब्लु लेख्छ एमआईटीमा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या गएको वर्ष १५ प्रतिशतले घटेकाले अब स्थानीय विद्यार्थीलाई आकषिर्त गर्ने विषय र कार्यक्रमहरु घलेले शुरु गरेका छन् । योबाहेक घलेले मेलबर्न शहरको व्यावसायिक भवनका कोठाहरु किनेर भाडामा दिने गरेका छन् । रियल स्टेट व्यवसायलाई अझै बढाउने उनको लक्ष्य रहको छ । रियल स्टेट व्यवसायबाट नै अस्टे्रलियाका सबैभन्दा धनी समेत भएका जोन साइमन्डलाई पछ्याउँदै घलेले लिएको यो बाटो पक्कै पनि फाप्ने विश्वास गरिएको छ । 

पढाइअनुसारको करिअरलाई निरन्तरता दिएको भए शेष घले यतिबेला नेपालमै सिभिल इन्जिनियरको रुपमा कुनै सडक, नहर वा पुल निर्माणको सर्वेक्षण गरिरहेका हुन्थे होला तर घले अहिले अस्ट्रेलियाकै सफल व्यक्ति मध्येमा परेका छन् । घलेले छात्रवृत्तिमा सोभियत रुसबाट सिभिल इन्जिनियरिङ गरेका हुन् । पढाई सकेर ४ वर्ष नेपालमा काम गरेपछि उनी अस्ट्रेलिया हानिएका हुन् । १६ वर्षअघि पोस्टकार्डमा देखेको अस्ट्रेलियाको सौन्दर्यताले शेष घलेलाई अस्टे्रलिया आउने इच्छा जगाएको थियो । उनी अमेरिका, जापान र बेलायतजस्ता देश छाडेर अस्ट्रेलिया आएका थिए । घलेकै भनाइमा उनी उत्साहपूर्वक अष्ट्रेलिया आएका भने होइनन् । अमेरिका, जापान र बेलायतजस्ता देश छाडेर अस्ट्रेलिया जाँदैछु भन्ने उनलाई मनमा लागेको थियो ।

अस्ट्रेलिया आएपछि उनले बिजनेश एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरे भने उनकी श्रीमती जमुना घले गुरुङले मार्केटिङ पढिन् । पढाइ सकेर स्थानीय निजी शैक्षिक संस्थाहरुमा काम सुरु गरेका घले दम्पतीले शैक्षिक क्षेत्रमा लगानीको सम्भावना देखेर सन् १९९६ मा एमआईटी स्थापना गरेका हुन् ।
शेष घलेको जन्म २०१४ सालमा लम्जुङको नाङ घानपोखरामा भएको हो । गुरुङ बस्तीमा जन्मेका र सहपाठी लाहुरे भएकाले उनलाई पनि सेना वा प्रहरीमा प्रवेश गर्न घरपरिवारको दवाव थियो तर सानैदेखि पढाइमा तेज, घलेले स्थानीय सर्वोदय माध्यामिक विद्यालयबाट पहिलो श्रेणीमा प्रवेशिका उत्तीर्ण गरेपछि राजधानी आएर इन्जिनियरिङको अध्ययन शुरु गरे । अहिले पनि घलेका आमाबाबु लम्जुङकै घानपोखरामा छन् । "म साधारण नेपाली हुँ, आत्मविश्वास, कडा परिश्रम र परिवारको सहयोगले यो सफलता मिलेको हो," घले भन्छन् । 

नेपालजस्तो देशमा जन्मे हुर्केर यो अवस्थासम्म आइपुग्न घलेले गरेको यात्रा निकै कठिन र चुनौतिपूर्ण छ । उनको विद्यार्थी जीवन पनि अहिले अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको जीवनभन्दा फरक थिएन् । बिहान,  साँझ र राति काम गरेर घले दम्पत्तीले पढाइ खर्च जुटाउँथे । जसको सबै थोक गुम्छ, उसको भविष्य बाँकी रहन्छ भनेझैं, शिक्षा क्षेत्रमा हात हाल्दा घले दम्पत्तीलाई सीप, क्षमता र भाग्य तीनै चिजले साथ दियो ।
एमआईटीको ठूलो फड्को
एक दशकमा एमआईटीले ठूलो फड्को मारिसकेको छ । अस्ट्रेलियामा यसले मात्र एउटा स्वायत्त शैक्षिक प्रतिष्ठानको मान्यता पाएको छ । अब निकट भविष्यमा एमआईटीलाई विश्वविद्यालय बनाउने, पर्थ र बि्रसवेनमा क्याम्पस विस्तार गर्ने योजना घलेको छ । पहिले अन्तर्राष्ट्रिय विद्यार्थीको चाप बढी भए पनि स्थानीय विद्यार्थीको संख्या बढाउन अहिले उनी सक्रिय छन् । डिप्लोमादेखि मास्टर तहसम्म यहाँ पढाइ हुन्छ । मेलबर्न र सिड्नीमा गरेर झण्डै ३ हजार विद्यार्थी एमआईटीमा अध्ययनरत छन् । यहाँ सूचना प्रविधि, व्यवस्थापन, मोबाइल प्रविधि, एकाउन्ट र अंग्रेजी भाषा लगायतका विषयमा पढाइ हुन्छ ।
नेपालीले विदेशमा बसेर जति कमाए पनि देश समृद्ध हुनुपर्छ भन्ने मान्यताअनुसार घलेले नेपालमा पनि लगानी शुरु गरेका छन् । नेपालमा अस्टे्रलियन लगानी भित्र्याउने भनेर उद्योग मन्त्रालयसँग अनुमति लिएर करिब एक अरब नेपाली रुपैयाँ बराबरको लगानी भैसकेको छ । मुख्यगरी पाँचतारे होटल निर्माण र बैंक तथा वित्तीय क्षेत्रमा यो लगानी भित्रिएको हो । अब जलविद्युतमा लगानी गर्ने सोच उनले बनाएका छन् ।
खुला अर्थतन्त्र भएको अस्ट्रेलियामा निजी व्यापार गरेर घले सफल व्यवसायी भएका हुन् । अस्टे्रलिया र नेपालमा उनको जे जति सम्पत्ति छ त्यो सबै निजी हो । अस्ट्रेलिया सरकारको निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने नीतिका कारण पनि उनलाई व्यवसाय बिस्तार गर्न सहज भएको छ । घले भन्छन्, "१६ वर्ष लामो व्यावसायिक जीवनमा प्रवासी भएको आधारमा कुनै भेदभाव भएको छैन । पारदर्शी र इमान्दार भएकाले आजको दिनसम्म सबैको सहयोग पाएको छु ।"
 शेष घले अस्ट्रेलियाको नेपाली समुदायमा पनि निकै परिचित नाम हो । नेप्लिज असोसियसन अफ भिक्टोरियाका संस्थापकसमेत रहेका घलेले ४ वर्षसम्म भिक्टोरियाका लागि नेपाल सरकारको कन्सुलर भएर काम गरेका थिए । यसले नेपालबारे प्रचार-प्रसार गर्न र नेपालमा पर्यटन प्रवर्द्धन गर्न  टेवा पुगेको छ । उनी नेपाली समुदायले आयोजना  गर्ने कार्यक्रममा भ्याएसम्म जाने गर्छन् । व्यवसाय विस्तारसँगै व्यस्त रहनुपर्ने भएकाले कतिपय अवस्थामा नेपाली समुदायबाट टाढा रहनुपरेकोमा उनी दुःख मान्छन् । उनी भन्छन्, "अस्ट्रेलियाको नेपाली समुदाय विभाजित हुनु हुँदैन । राजनीतिक आस्था र जातीय पहिचान जे भए पनि पहिला हामी नेपाली हौं ।

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item