छोटा लुगा लगाउन जापान सरकारको आग्रह

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_3871.html
जेठ ३१
जापानमा ऊर्जा बचतका निम्ति छोटा लुगा लगाउन सरकारले आग्रह गरेको छ । गर्मी महिनामा सुटको सट्टा छोटा लुगा लगाएर एयर कन्डिसन कम प्रयोग गर्न सरकारले आग्रह गरेको हो । सरकारले ल्याएको सुपर कुल बिज अभियानले कर्मचारीलाई अफिस सुहाउँदो, तर गर्मी सहन सक्ने लुगा लगाउन प्रोत्साहित गर्छ ।
सर्ट तथा स्यान्डलसहित विशेष परिस्थितिमा जिन्स लगाएरसमेत अफिस जान मिल्ने भएको छ । जापानमा गएको भूकम्प र त्यसपछि आएको सुनामीमा पूर्णरूपमा फुकिसिमा आणविक केन्द्र क्षतिग्रस्त बनेपछि जापानमा थप ऊर्जा समस्या देखिने भएको छ ।
वातावरण मन्त्रालयको पोसाक कोडअनुसार कार्यालय जाँदा खाकी, सेतो ट्राउजर, लुज पोलिस्टरका लुगा पनि लगाउन सकिन्छ । जापानमा अहिले ऊर्जा समस्या देखिएकाले सरकारले विद्युत् उपयोगमा १५ प्रतिशत घटाउन वर्तमान वातावरणमन्त्री रियु मास्युमोतोले आग्रह गरेका छन् । यो जीवनशैली गर्मी थेग्न मात्र नभए जापानी जीवनशैली परिवर्तन गर्न भएको पनि उनले बताए ।
गत महिना मात्र जापानका कार निर्माता कम्पनी पिक समयमा ऊर्जा जोगाउन बिदाको दिन शनिबार र आइतबार काम गर्ने र बिहीबार र शुक्रबार बिदा बस्न सहमत भएका छन् । जापानी अटोमोबाइल निर्माण एसोसिएसनले परिवर्तित तरिका ऊर्जा उपयोगलाई सीमित गर्न र उत्पादन सुचारु गर्न अवलम्बन गरिएको बताएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !