माउथ पब्लिसिटीले हिट हुन्छ :भुवन

http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_115.html
काठमाडौं फागुन २०

‘साथी म तिम्रो’ रिलिज भएको छ । कस्तो अपेक्षा राख्नु भएको छ ?
लामोसमयको मिहेनतपछि ‘साथी म तिम्रो’ शुक्रवारदेखी अलनेपाल रिलिज भएको छ । सम्पूर्ण मिहिनेत गरेको हिसाबले ज्यादै नै आशावादी छु । एउटा फरक चलचित्र बनेको हुनाले मेरो अपेक्षा बढि नै छ । स्तरिय चलचित्र दर्शकले हेर्न पाउनुहुनेछ र त्यसको प्रतिक्रिया पनि सँगै पाउने छु त्यसैले मेरो अर्काे परिक्षा पनि हो यो प्रोजेक्ट ।
कस्तो चलचित्र हो ‘साथी म तिम्रो’ ?
फर्मुला चलचित्र भन्दा केही भिन्न छ । नायक नायिकाको मिलन विछोड, माया प्रेमभन्दा केही पृथक बाबुछोराको कथा छ । ‘साथी म तिम्रो’ बालमनोविज्ञानका कुराहरू र अभिभावकको कर्तव्यका कुरा पनि जोडिएका छन् । बाबुछोराको कथा र सम्बन्धको समग्र विषयलाई फिल्ममा उतारिएको छ ।
धेरैपछि नेपाली चलचित्र सोलो रिलिज भएको छ । व्यापारको अंकगणितलाई हेर्दा आशा के छ ?
राम्रो र स्तरिय चलचित्र बनेको छ । व्यापारिक हिसाबले पनि राम्रो हुन्छ भन्ने मलाई आशा छ । राम्रो चलचित्र नचले कस्तो चलचित्र चल्ने । राम्रो चलचित्रले नकमाए कस्तो चलचित्रले कमाउने त्यसैले राम्रो बनेको छ राम्रोसँग चल्छ र राम्रो आम्दानी पनि गर्छ ।
चलचित्र बजारले गति अझै नलिइरहेको समयमा विग बजेटमा सिनेमा निर्माण गर्नुभएको छ । आम्दानी राम्रो हुन सक्छ त ?
चलचित्रलाई सुटिङको समयदेखी नै कुनै कम्प्रोमाइज गरिएको छैन् । प्राविधिक हिसाबले पनि चलचित्र राम्रो बन्न पुगेको छ । कुनै पक्षमा पनि सम्झौता नगर्दा लागत पनि बढ्दै जान्छ । रिलिजको पूर्वसन्ध्यामा पनि हामीले प्रचारप्रसारलाई अझ तिव्रता दिएका थियौं । सुटिङ लागतपछि अहिले पब्लिसिटी लागत पनि बढ्दै गएको छ । यो हिसाबले चलचित्र झन्डै करोडको बन्न पुगेको छ । मलाई लाग्छ हामी लगानी उठाएर पनि फाइदामा सजिलै जान्छौं ।
करोडको चलचित्रले त साढे दुई करोड कूल आम्दानीको दौडमा जानुपर्छ । सम्भव छ ?
देशभरका ५० भन्दा बढि पर्दामा ‘साथी म तिम्रो’ लाग्दैछ । अन्य चलचित्र बजारमा नभएको अवस्था र दुई सातासम्म सजिलै सिंगल होल्डओभर कायम गर्ने कुरामा पनि हामी ढुक्क छौं । यो बाहेक ओभरसिज रिलिजका लागि पनि हाम्रो काम हुँदैछ, त्यसैले ढुक्क छौं । र चलचित्र पब्लिसिटीका लागि नयाँ–नयाँ अभियान पनि गरेका छौं । सबै दर्शकका लागि बनेको चलचित्र हुनाले एकचोटी हेरेपछि माउथ पब्लिसिटीले पनि हामीलाई फाइदा गर्छ ।
ओभरसिज रिलिज गर्ने क्रम बढ्दै गएको छ । ‘साथी म तिम्रो’ कहाँ–कहाँ रिलिज भएको छ ?
पछिल्लोपटक ओभरसिज रिलिजको ट्रेन्ड स्भाविक रुपमा बढेको छ । यो सबै नेपाली चलचित्र विदेशमा माग भएकै कारणले हो । हाम्रा नेपालीहरु धेरै ठाउँमा छरिएका छन् । उनीहरुको चाहना नेपाली चलचित्र हेर्ने हुन्छ र माग आउँछ अनि प्रदर्शनका लागि त्यहाँ पुग्ने हो । ‘साथी म तिम्रो’ पनि अष्ट्रेलिया, अमेरिका र कतारमा छिट्टै नै प्रदर्शनमा आउँछ । अरु देशमा पनि कुराहरु भैरहेको छ ।
अब निर्देशकको रुपमा आउने योजना बनाउनुभएको छ । कस्तो चलचित्र बनाउँदै हुनुहुन्छ ?
नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखी काम गर्दे आएको अवस्था र अनुभवले यो विषयमा केही बुझ्ने मौका पनि मैले पाएको छु । दर्शकलाई केही दिनुपर्छ भनेर कलाकार मात्र नभई निर्माता पनि भएर राम्रा–राम्रा चलचित्र दर्शकलाई दिइसकँ, अब चाँडै नै म आफ्नो छोरा अनमोललाई लिएर लभस्टोरी चलचित्र निर्देशन गर्ने योजनामा रहेको छु ।
तपाईका पछिल्ला चलचित्र व्यावसायिक रुपमा सफल छन् । तपार्इँकै पछिल्ला चलचित्र र यो चलचित्रलाई तुलना गर्दा कत्तिको चुनौती छ जस्तो लाग्छ ?
विगतमा चलचित्रहरू एउटै धारका भिन्न–भिन्न कथा थिए तर अहिले केही भिन्न धार पनि छ । त्यसैले प्यार्टन चेन्ज गर्दा केही चुनौती भएपनि दर्शकहरु नयाँ नयाँ कथा र ट्रेन्डमा चलचित्र हेर्न खोज्नुभएको छ । त्यसैले चुनौतीलाई म अवसरको रुपमा पनि लिनेछु ।
यहाँ कलाकारबाहेक चलचित्रमा लगानी गर्ने निर्माता पनि हुनुहुन्छ चलचित्रको बजार उकास्न के गर्नुपर्छ जस्तो लाग्छ ?
सबैभन्दा पहिलो त राम्रा चलचित्र बन्नुपर्दछ । राम्रा चलचित्र बनेपछि दर्शक आफै चलचित्र हेर्न आउँछन् । यसले बजार फराकिलो बन्दै जान्छ । नराम्रो चलचित्र बनाएर दर्शक र व्यापारको अपेक्षा गर्नु हुँदैन । राम्रो चलचित्र बनेपछि माग पनि स्वतः बढ्छ । र नयाँ बजार खोज्नका लागि चलचित्रकर्मी र राज्य दुवै लाग्नुपर्छ ।
चलचित्रकी हिरोइन रेखा थापाले फिल्मको पब्लिसिटीमा समय नदिएको र अर्का तर्फ तपाईले उहाँलाई पनि पब्लिसिटीमा सहभागि नगराएको आरोप छ नि ?
रेखा थापाजीले हामीलाई समय दिनुभएको छ । चाहिएको बेलामा पनि आउनुभएको छ । खाली बजारमा हल्ला मात्र अनेक आउने गर्छन र अर्काे कुरा ‘साथी म तिम्रो’मा रेखा थापा पब्लिसिटीमा नै हुनुहुन्छ, पोष्टर र प्रोमोमा पनि हुनुहुन्छ तर मुख्य अभिनय बच्चाको भएको हुनाले केही त्यस्तो देखिएको हुन सक्छ ।
- मेरोसिनेमा,
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !