दादुराले तीन बालबालिकाको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/05/s_8695.html
बुटवल, वैशाख ३० ।
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको एक गाउँमा फैलिएको दादुराको प्रकोपबाट तीन बालबालिकाको मृत्यु भएको छ । मर्चवार क्षेत्रको करौता गाविस–३ गणेशपुर गाउँमा दादुराले गएको सोमबारदेखि बुधबारसम्म चार बालबालिकाको मृत्यु भएको हो । करौता उपस्वास्थ्य चौकीका इन्चार्ज अहेब घनलाल अर्यालका अनुसार दादुराको प्रकोपबाट चारको मृत्यु र ३८ बालबालिका प्रभावित भएका छन् । मृत्यु हुनेमा उक्त गाउँमा तीन वर्षका सनी देवल, नन्दनी केवट र दुई वर्षका सहावीर धुनियाँ छन् ।
दादुराको ज्वरो आउने, छालाको सतहमा बिमिरा देखिनेलगायत लक्षण देखिन्छन् । यो एक प्रकारको भाइरसबाट देखिने रोग हो । खोप र लक्षण अनुसारको उपचारबाहेक दादुराको कुनै उपचार छैन । उहाँले बुधबार र बिहीबार गाउँमै गएर प्रभावित बालबालिकामा देखिएको रोगको लक्षण अनुसारको उपचार गरिएको बताउनुभयो ।
मृत्यु हुने र सङ्क्रमित सबै दादुराविरुद्ध खोप लगाएका बालबालिका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत ओमप्रकाश पन्थीले करौतामा दादुराको महामारी फैलिएको जानकारी प्राप्त भए पनि बन्दका कारण जिल्लाबाट जान नसकिएकाले उपस्वास्थ्य चौकीलाई नै प्रभावित क्षेत्रमा खटाइएको बताउनुभयो । उहाँका अनुसार दादुरा वा रुवेलाको सङ्क्रमणबाट ती बालबालिका सङ्क्रमित भएको हुनसक्ने आशङ्का गर्नुभयो । त्यसका लागि सङ्क्रमित बालबालिकाको रक्त परीक्षण गर्नुपर्ने भए पनि बन्द खुल्नासाथ गरिने खोप अधिकृत पन्थीले जानकारी दिनुभयो ।
दादुराबाट जोगिनका लागि जन्मिएको नौ महिनादेखि एक वर्षभित्र खोप लगाउनुपर्ने र पाँच वर्षभित्र बुस्टर डोज लगाउनुपर्ने हुन्छ । रुपन्देहीमा गत वर्ष नै बुस्टर डोज लगाउनुपर्ने भए पनि सरकारले खोप उपलब्ध गराउन नसकेकाले नलगाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !