सिद्धेश्वर खानेपानीको चौथो साधरण सभा
http://sindhulidarpan.blogspot.com/2012/08/sindhuli_3094.html
पोष्टराज पहाडी,सिन्धुली,भदौ १२ ।
सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सिन्धुलीको चौथो साधरण सभाको उद्घाटन सत्र सोमबार सम्पन्न भएको छ । नगर विकास कोषका अधिकृत सुवास राज पन्तको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष डम्बर बहादुर खड्काको सभापतित्वमा सो उद्घाटन सत्र सम्पन्न भएको हो ।
सो उद्घाटन सत्रको अवसरमा बोल्दै प्रमुख अतिथी पन्तले संस्थाले आफ्नो क्षेत्रका उपभोक्ताहरुलाई स्वच्छ, सफा र पर्याप्त पानीको व्यवस्था गर्ने हो भने संस्था स्थापनका देखी अहिले सम्म आइपुग्दा गरेका सबै गल्तिहरुलाई पाठको रुपमा लिएर अगाडी बढ्नुपर्नेमा जोड दिए । पन्तले समीतिका पदाधीकारीहरुलाई मन परेको व्यक्तिको घरमा निशुल्क पानीको व्यवस्था गरिदिने र मन नपरेको व्यक्तिलाई मात्र कार्वाहि गर्ने परिपाटी संस्थामा हावि भएको पाइएकोले त्यसो गरेमा संस्था अगाडी बढ्न नसक्ने दावी गरे । उनले संस्थाले कुनै पनि व्यक्ति तथा संस्थालाई निशुल्क पानी दिनुपर्ने नभएको बताए । उनले अहिले पनि जिल्ला प्रहरी कार्यालय लगायतका अन्य सरकारी संघ संस्थाहरुमा निशुल्क पानी वितरण गर्दै आएकोले यस्तो कार्य तत्काल रोकी शुल्क सहित पानी वितरण गर्नुपर्ने धारणा राखें ।
यसैगरि उनले हाल पानी निशुल्क वितरण गर्ने संस्था अर्थात पानीको चुहावट धेरै भएको नेपाल अधिराज्य भरिको संस्था मध्ये सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दोश्रो नम्बरमा रहेको जानकारी गराए । उनले सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा ८६ प्रतिशत पानी चुहावट हुने गरसेको उल्लेख गरे ।
साथै उनले यस योजनका लागि यस आर्थिक वर्षमा करिब २ करोड २७ लाखको कार्यक्रम प्रस्ताव गरिएको बताउदै संस्था यसैगरि अगाडी बढ्दै गएमा कुनै पनि योजनाहरु पार्न नसकिने र नपर्ने तर्क गरे ।
सोहि अवसरमा बोल्दै कार्यक्रमका विशेष अतिथी एवं खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सिन्धुलीका प्रमुख दिवाकर ढकालले राम्रो सँग काम गरेमात्रै दातृ निकायहरुबाट पनि सजिलै योजना पार्न सकिने बताए ।
कार्यक्रममा एकिकृत नेकपा माओवादीका दिर्घराज श्रेष्ठ, नेपाली काँग्रेसका मोहन बराल, नेकपा एमालेको विनोद खड्का लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका सचिव महेन्द्र श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष उपेन्द्र पोखरेलले आर्थीक प्रतिवेदन पेश गरेका थिए ।
यसैगरि संस्थाको गणपूरक संख्या नपुगेपछि चयन हुने भनेको नयाँ कार्यसमिती चयन हुन सकेको छैन् । संस्थाको विधान अनुसार कुल उपभोक्ताको ५१ प्रतिशतले गरेको निर्णय कार्यान्वयन हुने प्रावधान छ । पहिलो पटक साधरण सभामा सो संख्या नपुगे दोश्रो पटक कुल ४५ प्रतिशत र तेश्रोपटक उपस्थितिको बहुमतले कार्यसमितीको निर्वाचन वा सो उपस्थितिले सहमति हुने लगायतका सबै काम कार्यवाहि गर्न सक्ने प्रावधान रहेको छ । श्रोतका अनुसार मंगलबार पनि नयाँ कार्यसमिती चयन हुन सक्ने अवस्था छैन् । अहिले सो संस्थामा करिब १ हजार ९ सय उपभोक्ताहरु रहेका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !