गाँऊमै विद्युत उत्पादन भएपछि २ सय ३४ घरपरिवार लाभान्वीत

http://sindhulidarpan.blogspot.com/2013/01/news_862.html
पोष्टराज पहाडी,सिन्धुली, माघ १८
पानीबाट पनि बत्ति बल्छ भन्ने कल्पनानै नगरेकी सिन्धुली अमलेकी मंगलीमाया पाख्रीन यति खेर आफ्नै आँखा अगाडी गाँऊमै विद्युत उत्पादन भएपछि आश्चर्यमा परेकी छिन् । उनि आश्चर्यमा पर्नुका साथै घरभरि उज्यालो हुदाँ दंग पनि छिन् । बत्ति बल्छ भन्ने कल्पनानै गरेको थिइन, यसरी बल्दो रहेछ,’ ८१ वर्षीय पाख्रीन भन्छीन् –‘अहिले मेरो घरमा पनि २ वटा बत्ती माथील्लो तलामा, २ वटा तल्लो तलामा तथा १ वटा बाहिर राखेकी छु । अहिले घरमा देखेको छु चारै तिर उज्यालो भएको छ ।’
मंगलीमाया जस्तै गाँऊमा विद्यूत आएपछि हरेक काम गर्न सहज बनेको बताउछिन् अमले – ५ वाइवा टोलकी अर्की स्थानीय सन्तमाया वाइवा । गाँऊमा बत्ति नुहुँदा रेडियो सुन्न तथा अन्य घरायसी कामकाज गर्न पनि सहज बनेको उनको भनाई छ । ‘गाँऊमा बत्ति आएपछि अहिले रेडियो सुन्न पाएका छौ, खेताबारीको काम गर्ने हामी जस्ता महिलाहरुले घरभित्रको काम रातिनै गर्नुपर्ने हुदाँ त्यसमा समस्या भएको छैन । उज्यालोमा बसेर काम गर्न पाउदा खुसी छौ,’ गाँऊमा बत्ति बलेपछि खुसी साट्दै सन्तमाया भन्छीन् –‘अब गाँऊमै विद्युतिय मिल सञ्चालन गर्न सकियो भने अझ हामी जस्ता महिलाहरुले ढिकी जातो गर्नु पर्दैन यस तर्फ पनि सोच्दै छौ ।’ स्थानीय मरिणखोलाबाट मरिणखोला लद्युजलविद्युत आयोजनामार्फत गाँऊमै विद्युत उत्पादन भएपछि अमले गाविसका स्थानीयहरु लाभान्वीत भएका छन् । २४ किलोवाट विद्युत उत्पादन भएपछि अमले गाविसको ४ वटा वडाहरुमा गरि २ सय ३४ घर धुरी लाभान्वीत भएका हुन् । वडा नं १ को भन्ज्याङ, हिल टोल, वडा नंम्बर २ को पतबास, वडा नंम्बर ३ को सिम्ले भन्ज्याङ्, ज्यामीरे, बुकी, वडा नंम्बर ५ को भिरगाऊ, वाइवा टोल गरी २ सय ३४ घरधुरी उज्यालोमा बस्न पाएका छन् ।सरकारी अनुदान, जिल्ला विकास समिती तथा गाविसबाट प्राप्त अनुदान, स्थानीय स्तरमा रकम संकलन तथा जनश्रमदान गरि करिब ९४ लाख १७ हजार ८ सय ४५ रुपैँयामा सो लद्युजलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको जिल्ला विकास समिती जिल्ला उर्जा तथा बातावरण शाखा सिन्धुलीले जनाएको छ ।
उक्त लद्यु जलविद्युत आयोजनाको सोमबार एक कार्यक्रमका विच औपचारीक उद्घाटन गरिएको थियो । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव केशव भट्टराईको प्रमुख आतिथ्यतामा उक्त लद्यु जलविद्युत आयोजनाको औपचारीक उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव भट्टराईले यसरी गाँऊ–गाँऊमा उत्पादन भएका लद्युजल विद्युतले नविकरणीय उर्जाका क्षेत्रमा सहयोग गर्नुका साथै स्थानीयको जिवन स्तर उकास्न पनि मद्धत गर्ने बताए । यसरी उत्पादित विद्युतबाट सर्वसाधारणको स्तर उकास्न सहज हुने उनको भनाई छ । यसैगरि उनले सुरुवात भइसकेका योजनाहरुलाई कालान्तर सम्म जोगाइ राख्नु सक्नुपर्ने बताए । कार्यक्रममा युएन डिपीका कन्ट्री डाइरेक्टर सोनो डोका, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सह–सचिव शंकर अधिकारी, प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, स्थानीय राजनितीक दलका प्रमुख तथा प्रतिनीधीहरु, स्थानीय विकास अधिकारी धु्रव बहादुर खडका लगायतको उपस्थिती रहेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !