नांगै कुद्ने जीवनबाट सन्यास

अन्तर्राष्ट्रिय खेलजगत्मा एउटा अचम्मको प्रथा छ । खेलाडीलाई ‘ब्याड लक वा गुड लक’ देखाउन सुटुक्क दर्शकदिर्घाबाट व्यक्ति मैदानभित्र नांगै भाग्ने गर्छन् । यस्तो घटना वा दृश्य मैदानभित्र हुँदा राम्रो खेलिरहेका खेलाडी अचानक हार्ने गर्छन् । यसविपरीत हारको नजिक पुगेका खेलाडी भने जिततर्फ उन्मुख हुन्छन् । नेपाली खेलकुदमा यो दृश्य देखिँदैन । तर, अन्तर्राष्ट्रिय खेलकुदमा भने मैदानभित्र नांगै कुद्नु बिल्कुल नौलो होइन ।
मैदानभित्र नांगै कुद्ने दर्शकलाई अंग्रेजीमा ‘स्ट्रिपर’ भनिन्छ । समाजमा गिज्याउने डरले यस्तो काम धेरैले गर्न सक्दैनन् । प्रतियोगिता भइरहँदा हजाराँै दर्शक रंगशालामा हुन्छन् भने लाखौँले टेलिभिजनमा हेर्छन् । चिनजानका मध्ये एकजनाले मात्र हेरेको खण्डमा नांगै कुद्ने व्यक्तिलाई नजिस्क्याउने कुरै भएन । लाज पचाउन सक्ने व्यक्ति मात्र ‘स्ट्रिपर’ हुन सक्छन् । मैदानभित्र यस्तो अचम्मको काममा ख्याति कमाएका छन्, मार्क रोवट्र्सले ।
रोवट्र्सलाई मैदान वा कोर्टमा नांगै कुद्न पटक्कै लज्जाबोध हुँदैन । अझ उनी यसैमा आनन्दित हुन्छन् र हजारौँ दर्शकलाई रोमाञ्चकता प्रदान गर्छन् । उनले मैदानमा यस्तो काम गर्दा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्राथमिकताका साथ सम्प्रेषण गर्छन् । रोवट्र्स विम्बल्डन, विम्बली, न्यु क्याम्प, बर्नावउजस्तो प्रसिद्ध रंगशालामा सयौँपटक नांगै कुदेका छन् । उनलाई ‘किङ अफ स्ट्रिपर’ अर्थात् नांगै कुद्ने राजा भनिन्छ ।
प्रसिद्ध रंगशालामा रोवट्र्स कहाँबाट छिर्छन् र कुद्छन्, यसको मेसो कसैले पाउन सक्दैन । आयोजक तथा सुरक्षाकर्मीलाई रोवट्र्स कहाँबाट मैदानभित्र नांगै आउँछन् भन्ने चिन्ताले सताउने गर्छ । यसका लागि आयोजकले कडा सुरक्षा व्यवस्था मिलाएको हुन्छ । कडाभन्दा कडा सुरक्षा घेरा तोड्दै रोवट्र्स सहजै आफ्नो चर्तिकला देखाइहाल्छन् । त्यसपछि सुरक्षाकर्मीले उनलाई घेराबन्दी गरी बाहिर पठाउँछन् ।
त्यति कामले मात्र रोवट्र्सलाई स्ट्रिपर भनिएको होइन, मैदानमा एकपटक मात्र नभई उनी ५१९औँ पटक नांगै दौडेका छन् । मैदानमा नांगै हिँडेर वा कुदेर अनौठो कीर्तिमान बनाएका ४८ वर्षीय रोवट्र्स ३० पटक जेलमा पनि परे । हुन त डेलिया स्मिथ तथा रेवेका एडिटोन पनि ‘स्ट्रिपर’ काम गर्छन् रे । तर, रोवट्र्सले जस्तो प्रसिद्धि दुवैले पाउन सकेनन् । परिवार तथा समाजका कारण स्मिथ र एडिटोनले ‘स्ट्रिपर’ काम छिटै परित्याग गरे ।
रोवट्र्स दुई दशकदेखि मैदानभित्र निरन्तर नांगै कुदिरहे । उनी नांगै नभागेको संसारको कुनै त्यस्तो रंगशाला छैन होला । आफ्नो अटोबायोग्राफीमा रोवट्र्सले लेखेका छन्, ‘मलाई मैदानमा नांगै भाग्न रमाइलो लाग्छ, यसमा धेरै आनन्दित हुने गर्छु ।’ तर, अब रोवट्र्सको भनाइ फेरिएको छ । नब्बेको दशकदेखि मैदानमा नांगै कुद्ने ‘स्ट्रिपर म्यान’ रोवट्र्सले अब यस्तो काम नगर्ने भएका छन् । तीन छोरा तथा साथीले बारम्बार जिस्क्याउँदा रोवट्र्सले आफ्नो प्रसिद्ध ‘स्ट्रिपर’ कामबाट सन्न्यास लिएका छन् ।
गत साता मात्र रोवट्र्स अन्तिमपटक बकिङघमसेयरमा नांगै कुदे । यो उनको ५१९औँ पटकको चर्तिकला थियो । बेलायतको बकिङघमसेयरमा ‘स्की’ प्रतियोगिता आयोजना भइरहँदा उनी नांगै कुदिहाले । सधैँझैं रोवट्र्स मुस्कराउँदै घर फर्के । यसपटक भने घरमा उनले भनेकोजस्तो मानसम्मान पाएनन् । ५१८औँ पटक नांगै कुद्दा परिवारका सदस्यले उनलाई केही भन्दैनथे । तर, यसपालि भने तीन छोरा तथा छिमेकीले रोवट्र्सलाई
खुबै जिस्क्याए ।
परिवार र समाजबाट फरकखाले प्रतिक्रिया पाउँदा रोवट्र्सलाई पहिलोपटक भित्रैबाट लज्जाबोध भयो । जसका कारण रोवट्र्स ‘स्ट्रिपर’ बाट सन्न्यास लिन बाध्य भए । छोराहरूकै प्रतिक्रियाका कारण सन्न्यासको घोषणा लिएको बताउँदै उनले भने, ‘छोराहरू भन्छन्, बुबा तपाईं नांगै हिँडेको दृश्य साथीहरूले टेलिभिजनमा हेरेका रहेछन्, उनीहरूले हामीलाई जिस्क्याए, त्यसवेला हामीलाई असाध्यै लाज लाग्यो । अब तपार्इं कहिलेदेखि यो काम छोड्नुहुन्छ ?’
यसो भनिरहँदा उनी भावुक बने । दुई दशकदेखिको आफ्नो व्यवसाय छाड््नुपर्दा उनलाई कम्ती पीडाबोध भएनछ । ‘स्ट्रिपर’लाई नै संसार सम्झने रोवट्र्सले भने, ‘यस्तो कुनै स्थान छैन होला, जहाँ म नांगै कुदेको छु । ती स्थान मेरो स्मृतिमा सधैँ रहनेछन् ।’ ‘स्ट्रिपर’ का कारण आफूले विश्वलाई नै जितेको उनी बताउँछन् । गौरवान्वित हुँदै उनी भन्छन्, ‘अब म ४९ वसन्तको भइसकेको छु । पछिल्लो दुई दशक मैले धेरैलाई हसाएँ । अपमानभन्दा पनि मान–सम्मान धेरै पाएको छु, जसका कारण म आफैँ गौरवान्वित महसुस गर्छु ।’ ‘स्ट्रिपर’ काम गर्दा कतिपयले उनलाई जोकर भनी बोलाउँथे ।
सन् २००२ मा रियलम्याड्रिडले अन्तिमपटक च्याम्पियन्स लिग उपाधि जित्दा रोवट्र्सले नै स्पेनिस क्लबको भाग्य परिवर्तन गरेका थिए । च्याम्पियन्स लिगको फाइनलमा म्याड्रिडले बायन लेभेरकुसेनविरुद्ध प्रतिस्पर्धा गरिरहेको थियो । प्रतिस्पर्धात्मक बनिरहेको फाइनलमा म्याड्रिडको हरेक प्रयास विफल भइरह्यो । अचानक रोवट्र्स मैदानभित्र नांगै कुदे । उनी कुदेको केही समयपछि म्याड्रिडले लेभेरकुसेनविरुद्ध विजयी गोल ठोक्यो । यसैगरी, सन् २००३ मा बार्सिलोनामा आयोजित विश्व स्विमिङ च्याम्पियनसिपमा महिलाको स्विमिङ सुटमा उनले जम्प गरेका थिए । यी दुई घटना निकै चर्चित मानिन्छन् ।
सन् १९९५ मा रोयल लाथेमको ‘स्ट्रिपर’ दिन उनी बारम्बार सम्झने गर्छन् । यहीँबाट उनको ‘स्ट्रिपर’ यात्रा सुरु भयो । सुरुवाती अनुभवबारे उनी भन्छन्, ‘मलाई अझै पनि याद छ, दिनको समयमा रोयलमा फुटबल म्याच चलिरहेकोे थियो, त्यहाँ केही गरौँ भन्ने भावना आयो र केही नसोची दर्शकदिर्घाबाट सीधै नांगै कुदिहालँे,’ उनले भने, ‘त्यो दिन सम्झँदा खुबै रमाइलो लाग्छ । अहिले आफैँलाई प्रश्न गर्छु, म किन नांगै हिडेको ?’ पहिलो ‘स्ट्रिपर’ बाट धेरैले राम्रो प्रतिक्रिया दिएकाले संसारमा केही नौलो काम गरौँ भन्ने भावनाका साथ मैदानमा नांगै कुद्ने गरेको उनले बताए । यसो भनिरहँदा रोवट्र्स सन् २००४ को घटना सम्झिन्छन् । सन् २००४ मा अमेरिकाको टेक्सासमा सुपर बाउल रंगशालामा नांगै हिँड्दा उनलाई पाँच सय ५० पाउन्ड जरिवान गरिएको थियो । सो प्रतियोगिताको ८७ मुलुकबाट प्रत्यक्ष प्रसारण भइरहेको थियो भने एक करोड ३० लाख दर्शकले फुटबल म्याच हेरेका थिए ।
‘दश वर्षअघि सुपर बाउलमा भाग्दा करोडौँ दर्शकले मलाई हेरेका रहेछन्, पछि मात्र थाहा भयो त्यो म्याच लाइभ रहेछ,’ उनले भने, ‘मैदानभित्रका खेलाडी मलाई ट्वाल्ल परेर हेरिरहे, मैले के गरेको भन्दै उनीहरू रणभुल्लमा परे ।’ अटोबायोग्राफीमा सुपर बाउलको स्मृति गरिरहँदा रोवट्र्सले मैदानमा नांगै कुद्ने प्रेरणा एक महिलाबाट पाएको एक स्थानमा उल्लेख गरेका छन् ।
सन् १९९३ मा हङकङको रेस्टुरेन्टमा रोवट्र्सले काम गरिरहँदा एक महिला विनापहिरन रग्वी म्याच भइरहेको मैदानमा कुदेको देखे । महिलाको चर्तिकला देखेर उनलाई खुब हाँसो आयो । रोवट्र्स मजाले हाँसेको देखेर ती महिलाले सोधिन्, ‘तिमी किन मलाई देखेर
हाँसेको ? यो कुनै नराम्रो काम होइन, मैले दर्शकलाई थप मनोरञ्जन प्रदान गर्न खोजेकी हुँ । म महिला भएर नांगै मैदानमा हिँड्ने प्रयास गरेँ भने तिमी (रोवट्र्स) पुरुष, सक्छौ भने तिमीले पनि एकपटक यस्तै काम गरी देखाऊ ।’ हङकङकी महिलाबाट प्रेरित भएर रेस्टुरेन्टको काम छाडेर ‘स्ट्रिपर’तिर लागेको रोवट्र्सले अटोबायोग्राफीमा उल्लेख गरेका छन् ।
‘स्ट्रिपर’ कामलाई रोवट्र्स एक फेसन सो बताउँछन्, ‘यदि फेसन सो र मेरो कामसँग तुलना गर्नुभयो भने केही फरक हुँदैन, कतिपय फेसन–सोमा पनि मोडेल नांगै ¥याम्पमा हिँड्छन् ।’ २० वर्षको सफल ‘स्ट्रिपर’ जीवनमा उनी गर्व गर्छन् । आफ्नो अटोबायोग्राफीमा रोवट्र्सले भनेका छन्, ‘गएको २० वर्ष मैले लाखौँ दर्शक तथा समर्थकलाई खुसी पारँे, कहिले विम्बल्डनमा त कहिले रोममा पुगेर ।’
१५ वर्षको उमेरमा स्कुल छाडेका रोवट्र्स ‘स्ट्रिपर’ शैलीलाई प्रकृतिसँग तुलना गर्छन् । उनी भन्छन्, ‘संसारमा हरेक पुरुष वा महिला नांगै जन्मने गर्छन्, उनीहरू लुगा लगाएर जन्मँदैनन् यसकारण पहिरनविना मैदानमा हिँड्डुल गर्न केही फरक पर्दैन ।’ अरूलाई हसाउनका लागि पनि जीवनमा एकपटक नांगै मैदानमा हिँड्नुपर्ने उनको तर्क छ । अन्तिममा रोवट्र्स भन्छन्, ‘मेरो यात्रा यहाँसम्म मात्रै हो, अब म एक खुसियाली जीवन बिताउन चाहन्छु, केही फरक गरौँ भन्ने थियो, जुन २० वर्षमा गरिसकेँ ।’

एजेन्सीको सहयोगमा

Related

प्रमूखखबरहरु 68040182221444438

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item