आज प्रचण्डले जवाफ दिँदै

http://sindhulidarpan.blogspot.com/2013/02/political.html
काठमाण्डौ,माघ २५ ।
एकीकृत नेकपा माओवादीको बन्दसत्रमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदै हुनुहुन्छ । सबै समूहले हिजो बेलुका निष्कर्ष पेश गर्ने काम सकेपछि आज दस्तावेजमाथि उठेका प्रश्नको अध्यक्ष प्रचण्डले जवाफ दिनुहुने छ । आज पहिलोसत्रमा अध्यक्ष प्रचण्डले आफ्नो भनाइ राखेपछि त्यसलाई केही संशोधन र परिमार्जनसहित पारित गरिने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । अध्यक्षको राजनीतिक दस्तावेज पारित भएपछि पार्टी नयाँ कार्यदिशासहित अघि बढ्ने एकीकृत माओवादीले जनाएको छ । आजैबाट सशस्त्र युद्धको बाटोलाई अन्त्य गर्दै उत्पादन केन्द्रित समाजवादको बाटोमा जाने प्रवक्ता सापकोटाले बताउनुभयो ।
आज हुने बन्दसत्रको दोस्रो सत्रमा नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ । प्रवक्ता सापकोटाका अनुसार नेतृत्व चयनका लागि निर्वाचन आयोग बन्ने र आयोगले नै सबै प्रक्रिया अघि बढाउने छ । केन्द्रीय सदस्यका लागि इच्छा व्यक्त गर्नेहरू धेरै देखिएपछि केन्द्रिय समिति ठूलो बन्ने निश्चित देखिएको छ । पदाधिकारी चयनमा पनि सहमति भइसकेको छैन । अध्यक्षमा अध्यक्ष प्रचण्ड सर्वसम्मत भएपनि बाँकी पदमा थपिने र छनौट गर्नुपर्ने विषयमा कुरा मिलिसकेको छैन । उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा नेताहरुबीच विवाद चुलिएको हो । उपाध्यक्ष डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबाहेक अमिक शेरचन र पोष्टबहादुर बोगटीको नाम आएको छ भने महासचिवमा चारजना आकांक्षी देखिएका छन् । स्रोतका अनुसार कृष्णबहादुर महराबाहेक वर्षमान पुन, गिरिराजमणी पोखरेल र टोपबहादुर रायमाझीले पनि दाबी गर्नु भएको छ । महासचिवमा महरालाई ल्याएर बाँकी तीनजनालाई सचिवमा ल्याउने तयारी भइरहेको छ । यसअघि नै एकसय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने सहमतिसहित प्रस्ताव गरे पनि आकांक्षी निकै बढी भएकाले महाधिवेशन आयोजक समितिमा रहेका दुईसय ५० सदस्यलाई नै कायम राख्ने तयारी भइरहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !