डेरा जिन्दगी

http://sindhulidarpan.blogspot.com/2013/03/article.html
-१५ बर्ष पुगेछ, यो खाल्डोमा डेरावास भएको पनि । १५ वटैजति भए होला डेरापनि, कैले घरपेटी अनुसार आफु नहोइदिने, अनि कैले आफुअनुसार घरपेटी नहुने । मेरो डेरा जिन्दगी अस्थिर हुनाको वनलाइनर रिजन यही हो । फेरि, यही वनलाइनर रिजनभित्र अनेकौं कथाहरु छन्, अनेकौं ब्यथाहरु छन्, लेख्ने नै हो भने त महाकाब्य नै बन्ला, तर भो तेतापटी नकोट्याँऊ । भोगाईले नै अनुभव गराउँदो रहेछ अनि अनुभवले नै सिर्जना । यही कसरतमा बिशेषगरी यो कथित राजधानी खाल्डोमा सम्पूर्ण डेरा जिन्दगी बितारहनुभएका करिब ५० लाख स्वाभिमानि डेरावालहरुप्रति आभार र सम्मान प्रस्तुत गर्दै केही शब्द कोर्दैछु, :
![]() |
पवन न्यौपाने,काठमाण्डौ । |
१
२०५३ सालतिर हुनपर्छ पहिलोपटक काठमाण्डौं खाल्डोको डेरा अनुभव गरेको । एस एल सी दिएपछि काठमाण्डौं घुम्न जाने ठूलो उत्कण्ठ इच्छा थियो, जो प्राय सबै जिल्लावासी किशोरहरुको हुन्छ त्यो उमेरमा (अहिले सम्झँदा आफैंप्रति हाँसो लाग्छ), शायद मेरो पहिलो काठमाण्डौं आगमन त्यही नै हुनपर्छ, पुरा पनि भयो । नयाँ बानेश्वर स्थित तात्कालिन बिरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको पछाडी दाईको डेरा थियो, यता शिवदर्शन हलबाट छिरेर पन्चकुमारीको गल्लीबाट नी पुगिन्थ्यो । २ जना दाईहरु बस्थे । काठमान्डौं बिश्वबिद्यालयका इन्जिनियरिंगका बिद्यार्थी थिए दुवै । एस एल सी दिएर परिणाम नआउन्जेलसम्म त्यहीँ बास भएको थियो मेरो । त्यो बसाईमा खासै डेरा बसाईको तितेमिठो अनुभव भएन्, शायद धेरै कुरो ब्यहोर्ने मेरा दाईहरु जो भएर होला । ३ महिनाजति बसियो, थाहा छैन् कहिलेपनि दाल, तरकारी र अचार सहित घरैमा खाना बनाएर खाएको । २ रुपैंया गोटा बिद्यार्थी अण्डा ल्याउँथे दाइहरुले घट्टकुलोबाट भन्या जस्तो लाग्छ अहिले । अनि बिहान आलुदम अण्डा बेलुका अण्डा आलुदम, सदाबाहर तरकारी थियो त्यो हाम्रो । अझ भनौं दाल, तरकारी, अचार सबैथोक त्यही थियो । कहिलेकाहीँ डेरामा पकाउन अल्छि लागेर बाहिर मुख फेरेको बाहेक.....। त्यहाँ म बसुन्जेल प्रेसरकुकरको पिंध माझेको थाहा छैन् मलाई, पछि अत्ति हाँडी भएसी फाल्दीए क्यार दाईहरुले । दामासाहीमा भात बाँडेर खाइन्थ्यो एकैपटक, ३–३ पन्यू भात, भातको चुलिमाथी आलुदमको झोल र १ वटा उसिनेको बिद्यार्थी अण्डा, ३ महिनासम्मको यही नियमित खानपानले मलाई लागिसकेको थियो, यही हो बिद्यार्थीको डेरा खानपान.................
२
ललितपूर सानेपाको एउटा घरमा बसिएको पहिलो आधिकारीक डेरा जिवनको कथापनि कम रमाइलो छैन् । ५७ सालतिर हुनपर्छ, शंकरदेब क्याम्पसमा बिबिएस पढदाताकाका कुरो हो यो । दाईहरु धुलिखेलतिरै बस्न थालेपछि म र अर्का एकजना ठुलाबाका छोरा महेश दाइ बसेका थियौं, महेश दाई पैलेदेखी काठमाण्डौं बसिरहेकाले सरसामानको जोहो गर्न त त्यत्ति दुःख परेन् उवेलाँ तरपनि बडो दुखले आज्र्या डेरा थियो त्यो, झापाली भनेसी डेरै नदिने परिस्थिति जन्मिएको थियो । झापालीले छोरी भगाईदिन्छन् भनेर झापालीलाई डेरा नै नदिने, मोरंग हो हाम्रो घर भन्ने ढाँटेरै साढे ४ बर्ष बसियो त्यो घरमा । तैघरमा बसेर अस्ट्रेलिया उडेका महेशदाईले भक्तपुरमा घर किनीसके । आफू कुलंघार मोरो अैले सम्म नी कथा लेख्ने भन्दा माथिको हैसियत बनाम्न सक्या छैन् । खैर जे होस, त्यतातिर नजाऊँ अहिले । घरबेटीकी छोरी थिइन् कादम्बीनी, उनको निशुल्क ट्युशन गाइड भएर शुरु भएको हाम्रो सम्बन्ध कम रोमान्टीक भएको थिएन् पछिल्ला दिनहरुमा, ससुरालीमै बसेजत्तिकै भएको थियो मलाई ।
तर अफसोच, प्रेम गर्नेहरुलाई कहाँ देख्न सक्छन् र पापी दुनियाँले । आखिर त्यही कारण कादम्बीनीको पनि अर्कै केटासंग बिहे गरिदिए र मलाई पनि पेड ससुरालीबाट आउट........धतुरे त मैं हुँ, भगाऊ भनेकी थि कादम्बीनीले तर आँटन सकिन्, भगाएर काँ पुर्याउनु, घर लगुँ बाहुनको छोरोले नेवार्नी ल्यायो भनेर मार्लान बाले, नलगुँ डेरा थेग्न सक्ने हैसियत थेन् उवेला, ‘साला पैसै रैछ सबै थोक’ भन्ने लाग्थ्यो उवेला । शायद, पैसा भएको भए तै हुननसकेको ससुराकै घर किनेर कादम्बीनी र म चैनका साथ माथिल्लो तल्लामा बस्ने र तिनै नभएका ससुरा सासुलाई भाँडामा बसाम्ने इख पाल्याथेँ उवेला, तर सप्पै कुरैमात्र भयो । चकनाचुर जिन्दगी, झ्यास जिन्दगी भो ।
३
महेश दाई नी अव्रोड लागे । उनी हिँडेर त वालै थिएन् कादम्बीनी जो थिईन् ......तर कादम्बीनीलाई नी म संग सल्केको पत्तो पाएपछि तिन्का बाआमाले बिहे गरिदिए । अनि म पनि बाध्य भएर त्यो डेरा छाड्नपर्यो । डेरामात्र हैन्, रिसको पारो यत्ति तातेको थियो उवेला कि जिल्लै छाडिदिएँ, ललितपुर छाडेर काठमाण्डौं जिल्ला हानिएँ, पैसा भए घर कत्ति कत्ति भन्दै........मेरो यो साहसमा आँट दिने मित्र थियो म संगै शंकरदेव पढने मदन । उसकै आँटमा भएजति सम्पति पोको पारेर छाडियो ललितपुर यत्रैसित्ती । महेश दाई हुँदा ताकै उनैले किनेको एउटा स्टोप, एउटा चारपाई र दरी अनि एउटा प्रेसर कुकर र एकथान कराई, केही उम्रीसकेका प्याजका दाना र चाउरी परेका आलु अनि एककार्टुन जति कपडा थियो मेरो भागको सम्पति । कच्याककुचुक यत्ति नै थियो मदनको पनि ....., दुवै भाइको श्री सम्पति थन्क्याउने नयाँ डेरा पाएका थियौं सिनामंगल ओरालो भित्र गैरिगाऊँमा .....बस्यौं त्यहाँ नी करिब ६ महिनाजति....अरु कुरा त त्यस्तैउस्तै हो, २ भाई बस्दा कोठाको ढोकामा ३ जोरमात्र चप्पल देखेपनि घरवेटी वुढो कराइहाल्ने ...
‘पाहुना किन ल्याइस ?’ ‘पाहुना ल्याउने घर हैन यो ।’
बुढाको यो डायलग सुन्दासुन्दा कान टटाइसकेको थियो ।
अत्ति भो, एकदिन त बाझेँ बुढोसंग, ‘हैन मान्छे बस्या ठाऊँमा मान्छे पाहुना नआए बाघभालु आउँछ त ....तिम्रो घरमा पैसो तिरेर बस्या छु...सित्तैमा बस्या हो र ? पाहुना ल्याऊँ कि ब्या गरेर बुढी नै ल्याऊँ...तिमी बुढालाई के को ख्यासख्यास ?’
‘ए...मेरो घरमा बसेर मैंसंग ठुलाकुरा गर्ने, निस्केर जा मेरोघरबाट .... ’ बुढाले दियो डायलग ।
‘यत्रोपनि बस्दीन तेरो घरमा, पैसोतिरेपछि तेरा जस्ता घरजत्ति नी पाइन्छ, कुँजोहरु, हाम्ले तिर्या बहालले चामल किनेर खान्छौ अझ हाम्लाई फूर्ति ’ यत्ति डायलग देर भित्रै नछिरि कोठा खोज्न लागेँ । तर खोज्या बित्तिकै के पाइन्थ्यो र, दिनदिनै कोठा खोज्ने दैनिकी जसो भयो । घरबेटीसंगको दन्तबझानपछि हामीमाथीको नाकाबन्दी झनै कडा हुनथाल्यो । आची पखाल्ने पानीपनि जारको किन्नपर्ने गरी मुल बन्द गरिदियो..पापी बुढोले ...मर्ने बेलाँमा पनि किरै परेर मर्छहोला । अहिले सम्झँदापनि रिसको पारो तातेर आउँछ । जे होस, करिब २ महिनाको अथक प्रयासपछि नयाँ ठाऊँ भेटियो । फेरि कमब्याक टु ललितपुर..................ललितपूरको कुसुन्तीमा सरियो ।
४
अब त डेरासर्दासर्दा बानी परिसकेको थिएँ । थाहा थियो, कुसुन्तीको यो बसाई नी त्यत्ति अनुकुल हुनेछैन् मेरालागी....किनभने अन्याय सहनुहुन्न र अन्याय गर्नुपनी हुन्न भन्ने बाको अर्तिलाई जिवनको आधार बनाएर हिँडेको मान्छे जो थिएँ । अनि किन सहन्थेँ त यी शोषणहरु .....कुसुन्तीकै डेरामा बस्या बेला एकपटक दशैं र तिहारको बिदामा घर गएँ । घरबाट फर्केर आउनेबित्तिकै कोठाभाँडाको बिल आइपुग्यो । कोठाभाँडा ३५००, पानी १ ट्याँकर को ५ भाग लगाउँदा मेरो भागको ३००, अनि बिजुली ३० युनिटको १० रुपैयाका दरले ३०० र फोहर १०० जम्मा ४२०० । यही कुरोमा टसल पर्यो मेरो घरबेटीसंग, म भन्ने ‘म बस्दै नबसेको महिना म कोठाको बहालभन्दा १ रुप्पैपनि बढी तिर्दिन् ।’ अनि घरबेटी भन्ने ‘बसेपनि नबसेपनि भागमा परेको सप्पै तिर्नपर्छ, ट्यांकर, बिजुली, फोहर सप्पैको ।’ हुँदाहुँदा घरबेटी बुृढीले आफ्नोे मोटर तानेको नी सपै डेरावालसंग भागवण्डा गरेर उठाउँदीरहिछन्, २०० फोहरको तिर्न ५ परिवार बहालबाला संगमात्र मासिक ५०० उठाउँदिरहिछिन्, यो पनि पत्तो लाएँ ....यत्ति भैसकेपछि अब मेरो भित्रको स्वाभिमानले पनि त्यहाँ बस्न अनुकुल ठानेन् र हिँडे त्यहाँबाट फेरि बोरियाबिस्तर उठाएर...........................
५
फरक फरक डेरामा बस्दाका फरक फरक भोगाईले लाग्न थालिसकेको थियो, ‘साला घरबेटीजस्तो चिसो प्राणी यो संसारमा कोहीपनि छैन् ।’ कैलेकाहीँ लाग्थ्यो .......यी मूलाहरुमात्र घरबेटी हुन्, हाम्रा नी २० कोठाका घर छन् जिल्लामा, हामी नी घरबेटी हौं आफ्ना घरका.....सोच्थेँ लगेर यिन्लाई सित्तैमा बसाईंदिऊँ बसुन्जेलजति । अनि सिकाऊँ घरबेटी भनेका मालिक र डेरावाल भनेको केही नभएर यिन्का घरमा बास माग्न आएका राउटे हैनन् भनेर .....अनि सिकाऊँ
यिन्लाई मानवता, मानवियता भनेको के हो भनेर, अनि सिकाइदिऊँ यिन्लाई मान्छेले मान्छेलाई गर्ने ब्यबहार कस्तो हुन्छ भनेर.... । टिठपनि लाग्थ्यो, हज्जारौं घरभाँडा उठाउने घरबेटीहरु ३०० रुप्पे बिजुलीको लागी मिटर चोर्ने तुच्छता गरेको देख्दा, मान्छे बसेको घरमा मान्छे नल्याऊ भनेर जंगली प्रवृत्ती देखाएको देख्दा, भनिदिन मन लाग्थ्यो ‘भात चैं पकाउन पाइन्न है कोठामा’ भन्नेहरुलाई ‘के तिमीहरु चैं काँचै खान्छौ ?’, तर लागेर मात्र के गर्नु, बस्नु परेको थियो यीनै तुच्छहरुका चिसो झ्यालखाना जस्ता कोठामा ....। कैलेकाहीँ त यस्तो नी लाग्थ्यो, सबैका संघठन हुने डेरावालका पनि संगठन खोलेर यीन्का ज्यादतीबिरुद्ध नेपालबन्द गरिदिऊँ, चक्काजाम गरिदिँऊँ, यिन्लाई कोठाको बहाल नतिरेर यिन्का भातपानी खान्कीको बाटै बन्द गरिदिऊँ....तर म जावोलाई मात्र लागेर के नै पो हुन्थ्यो र ? यस्तै यस्तै तर्कना गर्दागर्दै अहिले बसिरहेको शान्तिनगर बाबुछिरिचौकको घरको ढोकामा ढकढक आवाज आयो । मैले ढोका खोलेँ , घरबेटी आमै रैछिन्, उनकोमा आलु सकियो रे २ ४ दाना आलु देऊ भनिन् । २ किलोजति थियो आलु, सबै लानुस मलाई डाक्टरले नखानु भनेको छ भनेर दिईपठाएँ....र मनमनै भनेँ आफैंसंग ‘वुंगा नै भएपनि मलाई सधैं दिएर खानपुगोस्, तिमीलाई यसैगरि मागेरै खानपरोस् ।’ र फेरि भन्न मन लाग्यो तमाम ५० लाख डेरावालहरुलाई ‘सलाम स्वाभिमानी डेरावालहरु.....’ क्रमस:
लेखकको व्लग हेर्नुस् साभार: मेरोरिपोर्ट डटनेट ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !