आज महाशिवरात्री तथा सेना दिवस

http://sindhulidarpan.blogspot.com/2013/03/shiva-ratri_10.html
काठमाण्डौ,फागुन २७ ।
महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइँदैछ । हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्री पर्वको मेला भर्न आज नेपालका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

यस पर्वका दिन उपवास बसी रातभर जाग्राम रहे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा बालेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ । यसैबीच,काठमाण्डूको पशुपतिनाथको दर्शन गर्न सजिलो होस भनेर तीनवटा लाइनको व्यवस्था गरेको छ । शिवरात्री पर्वको तयारी एवम् व्यवस्थापनमा ७५ लाख खर्च हुने अनुमान गरिएको कोषका सदस्यसचिव सुशील नाहटाले जानकारी दिनुभयो । यसवर्ष १२ लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान कोषले गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !