झुट पत्ता लगाउने मेसिन ल्याउँदै प्रहरी

काठमाडौं : नेपाल प्रहरीले अभियुक्तले बयान ढाँटेमा पत्ता लगाउने मेसिन ल्याउने भएको छ । सातवटा पोलिग्राफ मेसिन ल्याएर प्रहरीले अपराध अनुसन्धानलाई आधुनिक बनाउन लागेको हो । 
अमेरिकी सहयोगमा पाँच र दुई प्रहरीकै बजेटमा गरी सातवटा पोलिग्राफ मेसिन ल्याउन लागेको प्रहरीले जनाएको छ । करिब एक महिनापछि सातवटा पोलिग्राफ मेसिन आइपुग्ने प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले जानकारी दिए । पोलिग्राफ मेसिन चलाउन अमेरिकाले नै प्रहरी अधिकारीहरूलाई तालिम दिन थालिसकेको छ । 
नेपालमा पहिलोपटक प्रहरीले पोलिग्राफ मेसिन भित्र्याउन लागेको हो । पोलिग्राफ मेसिन केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), महानगरीय प्रहरी अपराध महाशाखालगायतका निकायले प्रयोग गर्नेछन् । एउटा मेसिनको करिब १२ लाख रुपैयाँ पर्ने भएकाले यसअघि प्रहरीले मेसिन भित्र्याउन सकेको थिएन । प्रहरी अधिकारीका अनुसार पोलिग्राफ मेसिनभन्दा त्यससम्बन्धी तालिम महँगो हुने गर्छ । तालिमका लागि नेपाल प्रहरीलाई अमेरिकाले सहयोग गरेको छ ।
आधुनिक प्रविधि अभावमा प्रहरीको अनुसन्धान विधि परम्परागत बन्दै गएको छ । यसकारण कतिपय अपराध अनुसन्धानमा असफल हुने गरेको प्रहरी अधिकारीहरूको भनाइ छ । 
अभियुक्तलाई साँचो बोलाउन प्रहरीले नार्काे टेस्टको विधि अपनाउँदै आएको छ । यो विधिमा अभियुक्तलाई औषधिमार्फत साँचो बोलाउन लगाइन्छ, जसले स्वास्थ्यमा गम्भीर असर गर्न सक्छ । 
पोलिग्राफ मेसिनले शरीरका अंगहरूको प्रतिक्रियाका आधारमा झुटो बोलेको पत्ता लगाउनेछ । मुटुको चाल, रक्तचापलगायत शरीरका अंगहरूको प्रतिक्रियाका आधारमा पोलिग्राफ मेसिनले झुटो बोलेको पत्ता लगाउनेछ । विश्वका धेरै देशका प्रहरीले अपराध अनुसन्धानमा पोलिग्राफ मेसिनको प्रयोग गर्दै आएका छन् । 
प्रहरी अधिकारीले आधुनिक प्रविधि अभावमा अपराध अनुसन्धान प्रभावित हुने गरेको गुनासो गर्दै आएका छन् । प्रहरीले सामान्यत अभियुक्तलाई कुटेर सत्यतथ्य पत्ता लगाउने विधि अपनाउँदै आएका छन् । यसको मानवअधिकारवादीबाट विरोध हुँदै आएको छ ।

Related

समाचार 472356906223762062

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item