सिन्धुलीमा यो वर्ष जुनार उत्पादन २० प्रतिशतले बढ्ने

२२ भदौ ,लोकहरि आचार्य,सिन्धुली

अघिल्लो वर्षको तुलनामा यस वर्ष सिन्धुलीमा जुनारको उत्पादन २० प्रतिशतले बृद्धि हुने भएको छ । जुनारको लागि यस वर्ष मौसम अनुकुल हुनु र किसानहरुले समयमै जुनारमा लाग्ने किरा नियन्त्रण गरेकाले जुनार उत्पादनमा बृद्धि हुने सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । जुनारको बोटमा जुनारको साइज आइसकेकोले पनि जुनार उत्पादनमा बृद्धि हुने पक्का भएकॊ जुनार विकास संघ सिन्धुलीले बताएको छ ।  
गत वर्ष जिल्लामा ११ हजार ८ सय ४० मेटि्रक टन जुनार उत्पादन भएको जुनार विकास संघ सिन्धुलीले जनाएको छ । यस वर्ष २ हजार ३ सय ६८ मेटि्रक टन बढी उत्पादन हुने जुनार विकास संघ सिन्धुलीका अध्यक्ष दीपक कोइरालाले बताउनु भयो । 
सिन्धुलीमा एउटा किसान एक रोपनी देखि ६० रोपनी सम्म जुनार खेती गर्ने गरेका छन् । ४ हजार २ सय किसानहरु जुनार खेतीमा आवद्ध रहेको जुनार विकास संघले जनाएको छ । सिन्धुलीमा १५।५ हेक्टर क्षेत्रफलमा जुनार खेती गरिने गरेको जुनार विकास संघ सिन्धुलीको तथ्याँक रहेको छ ।
सिन्धुलीका तीनकन्या रतनचुरा बाशेश्वर जलकन्या मझुवा भुवनेश्वरी वितिजोर लगायत ४५ गाविसमा जुनार खेती गर्ने गरिएको छ । वर्षेनी जुनार खेतीबाट सिन्धुलीका किसानहरुले १० हजार देखि ५ लाख सम्म आम्दानी लिने गरेका छन् । जुनार उत्पादनलाई सहयोग गर्न नेपाल सरकारले उद्योग वाणिज्य संघ मार्फत किसानहरुलाई सहयोग गरिरहेको छ । जिल्लामा एक गाउँ एक उत्पादन कार्यक्रम मार्फत किसानहरुलाई औजार तालिम विषादी र विरुवा खरिदमा पचास प्रतिशत अनुदान दिने गरेको छ । सिन्धुलीको जुनार विराटनगर विरगाज जनकपुर चितवन मकवानपुर पोखरा तथा काठमाडौ लगायतमा विक्रीको लैजाने गरिन्छ ।

Related

कृषि 6091005007522320334

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item