आदिबासी जनजातिको ''गाउँ विकास सहजकर्ता परिचालन'' गोष्ठी सम्पन्न

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_6975.html
पारखी माइला तामाङ/माघ ६ -

आदिबासी जनजाति समुदायको सशक्तिकरणका लागि सिन्धुलीमाढीमा ''गाउँ विकास सहजकर्ता परिचालन'' विषयक दुई दिने गोष्ठी सम्पन्न भएको छ । हिजो सम्पन्न गोष्ठीको आयोजना नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सिन्धुलीले गरेको हो । जिल्लाका विभिन्न गाविसहरुमा लोप उन्मुख, अतिसिमान्तकृत र सिमान्तकृत आदिबासी जनजाति समुदायको शिक्षा र स्वास्थ्यमा पहुँच पत्ता लगाउन तथ्याङ्क संकलन कार्यक्रम सञ्चालन गर्नका लागि गाविस स्तरमा सहजकर्ता उत्पादन गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरेको महासंघ सिन्धुलीका अध्यक्ष सुर्य पाख्रिनले बताउनु भयो । साथै तथ्याङ्क संकलन कार्यक्रम सञ्चालन गर्न महासंघले जिल्लाका विभिन्न १५ ओटा गाविसहरु छनौट गरेको पनि उहाँले बताउनु भयो । जनजाति सशक्तिकरण परियोजना (जेप) दोस्रोको आर्थिक सहयोगमा सञ्चालन हुने कार्यक्रमको लागि छनौटमा परेका गाविसहरुमा डाढीगुराँसे, महादेवस्थान, कल्पवृक्ष, कपिलाकोट, मझुवा, पुरानो झाँगाझोली, जलकन्या, रतनचुरा, तीनकन्या, रानीचुरी, आम्बोटे, जिनाखु, अरुणठाकुर, सिर्थौली र दूधौली रहेका छन् ।
गोष्ठीमा कार्यक्रम सञ्चानका लागि छनौटमा परेका १५ ओटा गाविसहरुबाट १/१ जना गरी १५ जनाको सहभागिता रहेको थियो । गोष्ठीको सहजीकरण जेप दोस्रोका सिन्धुली कार्यक्रम संयोजक धन बहादुर माझीले गर्नुभएको थियो । "गोष्ठी पश्चात सहजकर्ताहरुलाई फिल्डमा पठाउँछौं र तथ्य संकलन गरी आउँदो फागुन १५ सम्ममा प्रतिवेदन बुझाउने कार्यक्रम छ" कार्यक्रम संयोजक माझीले भन्नुभयो । यो तथ्याङ्क संकलन कार्यक्रम सञ्चालन गर्नका लागि केन्द्रले छनौट गरेका १५ जिल्लामा सिन्धुली पनि परेको हो । गोष्ठिको उद्घाटन माघ ४ गते एक कार्यक्रमका वीच महासंघ सिन्धुलीका अध्यक्ष सुर्य पाख्रिनले मैन बत्ती बालेर गर्नुभएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !