फूलहरुको शहरमा एकदिन



फूलहरुको बिचमा बसेर तस्बिर खिचाउदै एक जोडी । फोटो: नीराजन
निराजन शिरिष/नर्वे 
फूलको बगैंचा घुम्न जाने प्रस्ताव जो कोहीका लागि सर्वस्वीकार्य प्रस्ताव हुन सक्दछ । त्यसकारण पनि यस्ता प्रस्ताव मेरा लागि अस्वीकार्य प्रस्ताव हुनै सक्दैनन् । अप्रिल २४ का दिन एउटा यस्तै प्रस्ताव थियो मलाई । लुभेन बेल्जियममा बस्दै आउनुभएका एकजना दाजु नारायण पौडेल मार्फत दाई बिष्णु थापा र मेरो लागि पनि टिकट बुक भैसकेको थियो । साथमा थिए साथी रमेश पौडेल ।

नातामा मेरा दाई र ब्याबहारिक हिसाबले मेरा साथी झलक दाइसँग म लक्जमबर्ग घुम्न निस्कनु अगाडि नै नारायण दाजुले यो सुन्दर प्रस्ताव राख्नुभएको थियो । तसर्थ हर हालतमा म अप्रिल २३ भित्रमा लुभेन आइपुग्नु पर्ने थियो । र, म २३ अप्रिलमै लुभेन फर्किसकेको थिएँ । २४ अप्रिलको बिहान बिष्णु दाई र म हामीलाई बोलाइएको स्थानमा पुग्यौं । तीन वटा बस लहरै मिलाएर राखिएका थिए । मलाई अचम्म लाग्यो र सोधेँ — हैन दाई, तीन तीन वटा बस किन राखेका हुन यहाँ ? पछि थाहा लाग्यो लुभेन शहरमा बस्दै आएका थुुप्रै नेपालीहरु त्यो बिश्व प्रसिद्द फूलको बगैंचामा जादैँ रहेछन् । यसो चिहाएर हेरेको अलिकति नेपाली दाजुभाईहरु जम्मा भैसकेका थिए । एकै ठाउँमा नेपालीको जमघट देख्दा कताकता नेपाल मै भएको जस्तो महशुस भैरहेको थियो । मेरो खुशिको सीमा रहेन ।

 
The colourful glimpse of flowers. Photo: Nirajan

साढे आठ बजे सबै जुटेर सुन्दर फूलको बगैंचा तर्फ प्रस्थान गर्ने सरसल्लाह भएको भए पनि हामी त्यहाँ ठीक समयमा पुग्दा आयोजक संस्थाका पुरुषोत्तम सुवेदी निकै अतालिएका झैं देखिन्थे, भन्दै थिए नाम टिपाएका साथीभाइहरुले धोखा देलान जस्तो छ । तीन वटा बस त मगाइयो एउटा बस पनि नभरिएला जस्तो पो छ त गाँठे ! हुन पनि निर्धारित समय साढे आठ बजे त्यहाँ भेला हुनेको संख्या मुश्किलले दुई दर्जन थियो होला । मनमनै लाग्यो समयको महत्व हामी नेपालीहरुले युरोपमा आएर पनि बुझ्न सकिरहेका छैनौं । नौ बजेपछि मात्र भ्रमण टोलिका सदस्यहरुको जमघट बाक्लिन थाल्यो । साढे नौ बजेतिर सुवेदीजी हतास हतास कराउन थाले, लौं बित्यासै भयो नाम नलेखाएका दाजुभाइ दिदीबैनीहरु पनि आएछन् तीनवटा बसमा नअटाइने भइयो । अर्को एउटा मगाएर जान पर्ने भयो । आधा घण्टादेखि बस कतिखेर हिड्न शुरु गर्छ र कतिखेर त्यो सुन्दर फूलको बगैचामा छिर्न पाइने हो भनेर ब्यग्र प्रतिक्षामा रहेको मेरो रिसको पारो त्यतिखेर चढ्यो जतिखेर सुवेदीजीले हामीलाई सुचित गरे कि मगाइएको अर्को बस आउने समयसम्म हामीले अर्को एक घण्टा पर्खनु पर्ने हुन्छ !

The white tulips Photo: Nirajan
साढे दश बजेको समयमा हामी चढेको बस गन्तब्यका लागि हिड्यो । र, अरु तीन वटा बसहरुले हामीलाई पछ्याए । हल्यान्डको Lisseमा अवस्थित विश्वको सबैभन्दा ठूलो फूलको बगैचा कुकेनहोफको दुरी बिस्तारै छोट्टिदै थियो र बसमा हामीहरु अन्ताक्षरी खेलिरहेका थियौं । लुभेन, बेल्जियम आएपछि चिनापर्ची भई छोटो समयमै अन्तरंग बनेका रमेश, र बसमै चिनाजान भएका साथीहरु कपिल र कृष्ण अनि म एक समूहमा थियौं भने बसमै चिनापर्ची भएका दिदीबैनीहरु कविता, जानु र शान्तिहरु अर्को समूह । अन्ताक्षरीको गरमागरम प्रतिस्पर्धा चलिरहेको थियो, नारायण दाईले कुन चट सुवेदीजीलाई जानकारी दिनुभएछ, नीराजन त होनहार कवि हो गीत लेख्छ पनि र स्वर पनि एकदम मीठो छ । मलाई फसाद पर्यो, अगाडि गएर दुईचार गीत, गजल नपस्कीकन सुखै पाइँन । राष्ट्रप्रेमले ओतप्रोत केहि गजल र जीवन सम्बन्धी मेरो बुझाइका गीतहरु प्रस्तुत गरे । कम्तिमा पनि आफ्नो परिचय राख्न र प्रवासी नेपाली दाजुभाइ तथा दिदीबैनीहरुका अगाडि परिचीत हुने अवसर पाएकोमा अति नै खुशि लाग्यो । यस्तो महत्वपूर्ण अवसर जुराइदिनुहुने दाजुहरु नारायण पौडेल र विष्णु थापाको म सधैं ऋणी रहिरहने छु ।

बसको अगाडि गै आफ्ना प्रस्तुती दिएर आउन नपाउँदै चेलीबेटीहरु फेरि कराउन थाले, तपाइँहरुको पालो हो ‘ग’ बाट गीत गाउनुस कि हात उठाउनुस । खासमा अन्ताक्षरी जित्ने महशुर त हामी नै हो तर दिदीबैनीहरु हिन्दी गीतका सारै पारखी भएकाले हामीले हार्नु प¥यो । अन्ताक्षरीमा हारिसकेपछि यस्तो लाग्यो, कि अन्ताक्षरी जित्नका लागि समेत हामीले हिन्दी गीत जान्नै पर्ने हुँदो रै’छ । हिन्दी गीत विनाको अन्ताक्षरी हामी कल्पना समेत गर्न नसक्ने अवस्थामा पुगिसकेछौं । नेपाली गीत पर्याप्त नभएर होईन, म यो कुरा मान्दै मान्दिन, बरु बास्तविकता के हो भने हामी नेपाली गीत सुन्दै सुन्दैनौं वा अति नै कम सुन्छौं । अझ मलाई दुख त्यतिखेर लाग्यो, बगैंचा भ्रमण सिध्याएर फर्कने बखत जतिखेर नेपाली गीत बजाइरहेका सुवेदीजीले केहि समय हिन्दी गीत बजाइदिए र पुनः नेपाली गीत शुरु गरेँ, र हाम्रा अगाडि बसेकी एक नेपाली चेलीले ओठ लेप्राउँदै भनिन — बल्ल बल्ल दुईटा हिन्दी गीत सुन्न पाइया‘थ्यो, फेरि झुर नेपाली गीत लगाए ! उनले त्यस्तो प्रतिक्रिया दिदा सुवेदीको मोवाइलबाट माइक्रोफोनमा बजिरहेको थियो चर्चीत गीत, नेपथ्यको रेशम ! जस्तोसुकै होस् अन्ताक्षरीले हाम्रो यात्रालाई स्मरणीय र मनोरञ्जनात्मक चाहिँ अवश्य बनाइदियो ।

साढे दुई घण्टाको यात्रा पश्चातः अब हामी बिश्वको सबभन्दा ठूलो फूलको बगैंचामा प्रवेश गरेका थियौं । कुकेनहोफ (जसलाई किचन गार्डेन समेत भनेर चिनिन्छ) लेखिएको बोर्डको मुनि रहेको गेटबाट भित्र छिर्नु अगाडि प्रतिब्यक्ति साढे १४ यूरोको प्रवेश टिकटका लागि हामीहरु लाइनमा उभ्भियौं । मेरा लागि सम्पूर्ण खर्चको जिम्मेवारी बिष्णुदाईले लिनुभएको थियो । उहाँले नै बस रिजर्भ गर्दा प्रतिब्यक्तिको लागत २५ यूरो समेत तिर्नुभएको थियो साथै बगैंचाभित्र प्रवेश गर्नका लागि आवश्यक प्रवेश शुल्क पनि दाईले नै तिरिदिनु भयो । खासमा म लुभेन, बेल्जियम रहँदाको समय भरी मेरो सम्पूर्ण खर्चको व्यवस्था दाईले नै गर्नुभएको थियो ।

संसारको सबभन्दा ठूलो फूलको बगैंचामा मेरा पाइलाहरु पर्दा बित्तिकै मैले आफूलाई सम्हाल्नै सकिन । जताजता नजर लगाउँथे म, त्यतात्यता फूलैफूल देखेँ । रंगीचंगी फूलहरुले ढकमक्कै बगैंचामा कति त मैले खुट्याउन नसक्ने रंगका फूलहरु समेत भेटेँ । विश्वका कुनाकुनाबाट आएका हजारौं मान्छेहरुको भिड थियो फूलबारीमा । सायद बिदाको दिन परेर हुनुपर्दछ, प्रवेशद्धारको वरिपरी त खुट्टा राख्ने ठाउँ समेत भेट्टाउन हम्मे हम्मे थियो । तर ती केहि हजार मानिसका टाउकाहरु करौंडौं फूलहरुको माझमा केहि पनि थिएनन ।

 

राता, सेता र नीला गूलाफहरु हुन वा लालिगुराँश ती खुलेर हाँसेका थिए । आफूलाई हेर्न आउनेहरुलाई ती जिन्दगीको ठीक परिभाषा सिकाउँदै थिएँ । यस्तो लाग्यो मलाई, कि ती हामी मानिसहरुलाई चूनौती दिदैँ थिए – काँडाका बीचमा आफूहरु खुलेर फूल्न सके झैं दुःखका बीचमा पनि सुखपूर्वक जिन्दगी जिउन ! ३२ हेक्टरको क्षेत्रफलमा फैलिएको त्यो सुन्दर फूलको बगैंचामा राखिएका पानीका मनमोहक फाउन्टेनहरुबाट फुट्ने पानीका कलात्मक फोहोराहरुको दृश्य हेर्न पाउनुको आनन्द यहाँ शब्दमा ब्यक्त गर्न असमर्थ छु । सय भन्दा बढी प्रजातिका ट्यूलिपका पैतालिस लाख भन्दा बढी फूलहरुले ढकमक्क यो बागमा हामीले कम्तिमा दश घण्टा बिताउन पायौं भने मात्र यसका हरेक सुन्दरतालाई हामी नजिकैबाट नियाल्यन सकौंला । भिक्टोरिया, लाइटनिङ सन, स्काइ ज्याकेट तथा स्वीट लभ जस्ता नाम दिइएका ट्यूलिपका फूलसँगै टाँसिएर फोटो खिचाउन लालयित मान्छेका बथान बागभित्र हेर्न लायकै हुन्छ ।


विभिन्न ८७ प्रजातिका रुखहरुको छहारीमुनि गलैंचा बिच्छ्याइएका जस्तै लाग्ने दुबोमा पल्टिनुको आनन्दलाई म कसरी स्वर्गीय आनन्द होइन भनूँ ? बगैंचाभित्रका खोल्सामा कलकल बग्ने स–साना खोल्से खोलाहरुले निकाल्ने संगितमय मधुर आवाज विथुवनको संगित भन्दा कम लागेन मलाई ! सँगै गएका अन्य साथीभाईहरुले के पाए कुन्नी तर २४ अप्रिलमा भएको फूलको बागको त्यो एकदिने भ्रमणले मलाई फूल जस्तै सुन्दर छ जीवनका केहि पाटाहरु भन्ने दिब्य ज्ञान चाँहि दिएकै हो । र, ती बगैंचाका फूलहरुले मलाई प्रेरित गरेका छन्, फूल झैं फक्रेको जीवन जिउनलाई !

Related

विचाररसाहित्य 1350543758556977951

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item