निन्द्रा, कागजी घोडा र दिब्य बोध
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_2334.html
युवाहरुको सृजनशील समूहबाट सचालित यहाँको सम्पादनमा प्रकाशित र सुन्दछु सिन्धुली क्षेत्रको सर्बाधिक रुचाइने यस सिन्धुली दर्पण अनलाईन मार्फत गौरिशंकर शिखाको छापामार आँखाबाट लुक्न नसक्ने प्रत्येक बस्तीमा मैले अभिब्यक्त गर्न चाहेको यो विषय छरपरस्ट होस भन्नका खातिर यो पत्र लेख्दैछु । स्थान दिइदिनुहोला विनम्रतापूर्वक अनुरोध छ ।
मैले पत्र लेख्दै गर्दा हाम्रो भूगोल भित्र चकमन्न रात परेको छ । नेपालको समय देखाईरहेको मेरो ल्यापटपको विन्डोजमा राखेको घडिले चार बजाउँदैछ । करोडौं नेपालीहरु यतिखेर मस्त निदाईरहेका छन् होला म अनुमान गर्ने अवस्थामा छैन । तर विश्वस्त छु सुतिरहेका मध्य धेरैले स्वाङ पारिरहेका छन् । देश थला परेका बखत आखिर निन्द्रा कसलाई नै पर्छ र निन्द्राको कुरा गर्दा एउटा कुरा म कहिल्यै भूल्दिनँ कि स्नातक तह पढ्दै गर्दा अंग्रेजीका सहप्राध्यापक टिकाराम सापकोटा भन्नुहुन्थ्यो - बिहानीपखको मीठो निन्द्रालाई जित्न सक्ने मान्छेले मात्र जिन्दगीमा खास केहि गर्न सक्दछ । यो सुनेर मैले धेरै पटक प्रयास पनि गरेँ ।
तीनचार बजे सखारै उठ्ने र अध्ययनको बानी बसाल्ने । पुष माघका ठन्डीमास मैले बिहानीपखका शुरुका कक्षाहरु मीठो निन्द्राका लागि समर्पण गरेँ - सयौं पटक ! तर उहाँले भनेजस्तो कुनैदिन तीनचार बजेतिर उठेर अध्ययनको बानी बसाल्ने काम चाँहि गर्न सकिनँ । मैले निन्द्रालाई तिनताका जित्न सकिनँ । कहिले काहि पछुतो लाग्छ सायद गुरुले भने झैं प्रयास गरि हेरेको भए केहि हुन्थ्यो कि
त्यहाँ मानिसहरु निदाए झैं गरेका छन् र म यहाँ मध्यरातमा पनि जागैछु । निन्द्रालाई जितेर हैन निदाउन नसकेर ! धेरै पटक कोशिस नगरेको पनि हैन तर सफल हुन सकिरहेको छैन । कहिलेकाही यहाँका उन्नत विश्वविध्यालयमा पढ्दै गरेका नेपाली बन्धुहरु भेटिन्छन् ।
निन्द्राका बारेमा कुराकानी हुन्छ । उनीहरु पनि सुनाउँछन् । निन्द्रा उनीहरुलाई पनि परिरहेको छैन यहाँ । निदाउन सकिरहेका छैनन् । पहिलो कुरो त यहाँको प्रकृतीले नै निदाउने ब्यवस्था गरेको छैन । सबैजना विदेशीहरु गुनासो गरिरहेका हुन्छन हिउँदका दिनहरुमा यो उत्तरी गोलाद्धको नगिचको शहरमा सूर्य नै नअस्ताउने ! पर्दा छेडेर प्रकाशभित्र पर्ने यस्तो हुँदा निन्द्रा परोस् कसलाई अझ त्यसमाथि देशमा हावी भएको ठप्पबादले तितिएका तितो भएका मुटु लिएर श्वासप्रश्वास गरिरहेका हामी ! कहाँबाट परोस निन्द्रा झन नेपाली बन्धुहरुसँग भेट हुँदा कसैले झिक्दैन घरको कुरा हुन्छ त खाली कुरा अनिदा रात र थला परेको देशको ! कहिलेकाही त सबैजना सहमत हुने गर्छौ कोही हामी पढ्न आएका कोही कमाउन र कोही खास उद्देश्य लिएर निश्चित समय लिएर आएका हामीहरु समाधान नै नभएको कुरा गरेर बेफ्वाँकमा किन समय बर्बाद गर्ने यो हाम्रो राष्ट्रवादको कुरा उराल्ने समय हैन ।
आ-आफ्ना भविष्यका बारेमा सोच्ने समय हो । उसै त नेपाली समाज आर्थिक लाभका लागि दिनानुदिन उद्यत हुँदै गैरहेछ । पैसो नभै केहि नबन्ने थिती बसिरहेछ । दुईचार क्रोनर भएपनि जम्मा हुने मेसो मिलिरहेका बेला यो पाखण्डपनले कहाँ हाम्रो पेट भर्छ र बहस हुँदै जाँदा हामी यी बिन्दुसम्म आइपुग्ोका छौं धेरैपटक । फेरि किनकिन हामीले निश्कर्ष निकाल्न सक्दैनौं - हैन खासमा महत्वपूर्ण चाँहि हो के - हाम्रो भविष्य वा देशमा गतिशिलता
सम्पादकज्यू हामीले गर्दै आएका ती निरर्थक बहसहरुमा हामीले केहि पक्षहरुमा चाँहि सार्थकता भेट्ने गरेका छौं । हामी कम्तिमा पनि के कुरामा सहमत छौं भने हामी निदाउन सकिरहेका छैनौं र पनि निदाईरहेका छौं ! ब्युझने उठ्ने वा जाग्ने बेला भैसक्यो त्यो पनि थाहा छ हामीलाई । हामी उठेनौं भने ूतिमी सुतिरहेका छौं उठ्नुपर्छ अबू चियाको गिलास बोकेर हाम्रो बिस्तारासम्म कोही आउँदैन भन्ने पनि थाहा भैसकेको छ हामीलाई । तैपनि नाटक चलिरहेछ हिजोदेखि । हाम्रा बाजे बराजुदेखि । बुझ्ने गरेर भन्दा बिसे नगर्चीको जुगदेखि । तर किन साँच्चीकै उठ्न सकिरहेका छैनौं हामी आफ्नै आवश्यकतामा किन उठाउनुपर्छ हामीलाई अरुले यी यक्ष प्रश्नहरु हुन भनूँ वा नभनूँ तर उत्तर मिलेका छैनन् अझैं !
हुन त अर्काको बिस्तारमा पल्टेपछि उसैले दिएको सिरकले खापेर सुतेपछि मान्छेलाई आफूखुशी उठ्न ठूलो लाज हुन्छ । नहुने हैन । परन्तु मान्छे भएका नाताले वा भनूँ सर्वश्रेष्ठ प्राणीको स्वघोषित पगरी गुथेंका कारण पनि हामी सिरकको उपयोगिता त जान्न सक्छौं नी जानिसकेपछि त्यो सिरकलाई फ्याक्न पनि सक्छौं नी बर्षौदेखि अपानवायूको दुर्गन्धले लत्पतिएको सिरकमुनी गुडुल्किएर हामी कतिाजेल सुत्ने कतिाजेल सहन गर्न सक्ने सामथ्र्य रहन सक्दछ त्यो दुषित वायु के हामी दुर्गन्धित गुँड छाडेर स्वतन्त्र आकाशमा कावा खान कहिल्यै ननिस्कने बाजे बा र दाजुहरुले ओढेको सिरकमा जिन्दगी फाल्ने यस्तै गरी जुगजुग बिताइदिने हामी मेरो मनको सराङकोटबाट यी प्रश्नहरुले कैयौंपटक प्याराजम्प हानेका छन् र बल्ल आज सुरक्षित अवतरणका लागि ठाउँ भेटेका छन् । आज बल्ल एउटा दिब्य बोध भएको छ मलाई कि मेरो ब्यक्तित्व र स्वतन्त्र उडानमा अवरोध पार्ने के रहेछ को रहेछ यो त सानो कागजको खोस्टो पो रहेछ !
राता अक्षर र चित्रले सजिएको । सदस्यता नम्बर राखिएर मलाई खरिद गरिएको । मेरो सोच विचार र स्वतन्त्र विश्लेषणलाई बन्धक बनाइएको ! तीनले लेनीनलाई भगवान भनेकाले मैले चाँहि सेन्ट पिटस्रबर्गमा लेनिनका मूर्ति ढालिए नी भन्न नपाउनु उनीहरुले गिरीजाबाबु महान नेता भन्दा मैले चाँहि जिउँदो छँदा नेपालमा सबभन्दा धेरै उसैका पुत्लादहन भए नी बोल्न नपाउनु त्यो पार्टी सदस्यताको कागजी खोस्टोले हाम्रा बिचारलाई ढोंगी र एकोहोरो बनाएको छ ।
मैले आज भेउ पाइरहेछु त्यही कागज हो जसले देख्नसक्ने मलाई ब्रेल लिपी सिक्न प्रोत्साहित गरिरहेछ । मेरो सोच्न सक्ने क्षमताको दायरालाई खुम्चाइरहेछ । र आज मलाई यहाँको पत्रिकाबाट सार्वजनिक रुपमा घोषणा गर्न पाउँदा बडो आनन्द लागिरहेछ उप्रान्त कागजी घोडाको टापमा दौडिन मन छैन ! सम्पादकज्यू मलाई विश्वास छ ढिलै भएपनि सबैले मैले जस्तै ब्युझने सार्थक अभ्यास आजैदेखि थाल्नुहुनेछ । म त ब्युझिसकेँ अब ब्युझने पालो मेरा साथीहरुको । पार्टी सदस्यता परित्याग गर्नु राजनैतिक दलका खराब संगत छाड्नु हो तर विचार शुन्य हुनु हैन !


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !