दायित्व पूरा नगरी राजीनामा दिन्न - प्रधानमन्त्री
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_3536.html
सिन्धुली दर्पण/वैशाख २९
प्रधानमन्त्री झलनाथ खनालले आफ्नो मिसन पूरा नगरी राजीनामा नदिने बताउनुभएको छ । उहाँले शान्ति र संविधानको निश्चित मिसन लिएर सरकारमा आएकोले जिम्मेवारी पूरा नगरी आफू नहट्ने पनि बताउनुभएको छ । टर्कीको आफ्नो भ्रमण छोट्याएर आज स्वदेश फर्किनुभएका प्रधानमन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै सरकार आफ्नो दायित्व पूरा गर्न दृढ रहेको बताउनुभयो ।
बोल्ने अधिकार सबैलाई भएको भन्दै प्रधानमन्त्रीले आफ्नो राजीनामा माग्नेहरुले पनि त्यही अधिकार प्रयोग गरेको टिप्पणी गर्नुभयो । संविधानसभाको म्याद थप्नु पूर्व प्रधानमन्त्री खनालले राजीनामा दिनुपर्ने काङ्ग्रेस र एमालेकै केही नेताहरुले भनिरहेको बेला खनालले लोकतन्त्रमा अनेक खालका टिका टिप्पणी आइरहनु लोकतन्त्रकै सौन्दर्य भएको बताउनुभयो ।
पत्रकारहरुको प्रश्नमा प्रधानमन्त्री खनालले संविधानसभाको बाँकी १५ दिनको अवधिलाई सक्दो उपयोग गर्ने जानकारी दिनुभयो । राष्ट्रसङ्घ सम्वद्ध विश्वका अतिकम विकसित ४८ मुलुकहरुको सङ्गठन एलडीसी को टर्कीको स्तानबुलमा जारी चौथौ विश्व शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री खनाल गएको शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँले सम्मेलन उपलब्धीपूर्ण भएको र सबै राष्ट्रहरुले नेपाललाई सहयोग गर्ने वचन दिएको पनि जानकारी गराउनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !