एनआरएनः गधालाई धोएर गाई बनाइएकाहरूको बथान


दुर्वाशा
यतिखेर गैरआवासीय नेपाली संघ एनआरएनको नेता चुन्ने काम धमाधम भैरहेको छ । विशेषगरी खाडी, मलेसिया र यूरोपभरकै एनआरएनलाई अहिले नेता चुन्ने चटारो छ । र कतिपय मुलुकमा त छिनोफानो समेत लागिसकेको छ यी नेताहरूले आगामी असोजमा काठमाडौंमा हुने कुम्भ मेलामा मुखिया चुन्ने छन । हुनत यिनले मुखिया चुन्ने कुराले खासै अर्थ राख्दैन । 

देशका सबै जनता दशैंको रमझमा भुलेका बेला यिनको मेलालाई कसैले वास्ता गरेको पाइँदैन यिनले यो भन्दाअघि पनि उद्योगपति डा. उपेद्र महतोलाई मुखिया चनेथे, ६ वर्षे उनको मुखियाकालमा एनआरएनले ढलेको लोटा पनि उठाएन भने हुन्छ । तिनै मुखिया महतो र उनीपछि कुर्सी सम्हाल्ने हैसियत भएकाहरूको व्याक्तिगत काम र लगानीलाई नै एनआरएनको लगानीको हौवा पिट्दै नेतागिरि गर्ने कामबाहेक केही गरेका छैनन् । यि ‘तोरी लाहुरे’ एनआरएनहरूले अझ हुँदा–हुँदा प्रवासी नेपाली कामदारलाई समेत १८२ दिन कटिसकेपछि एनआरएनको खादा ओढाएर मलखाँदा हाल्ने काम गरेका छन्, मध्यपूर्वका एनआरएन भेषधारीहरूले ।
यता युरोपतिरका एनआरएन नामधारीहरुले सरकारी कोटामा छात्रवृत्तिका पढ्न गएर उतै विलाएका, देशबाट कालो धन लिएर बेपत्ता भएका र सरकारी पदको दुरुपयोग गरी विदेश गएर उतै लुकेका सबैलाई ‘गधा धोएर’ गाई बनाउने नाममा एनआरएन बनाएको छ। एनआरएन अर्थात गैरआवासीय नेपाली, गैर भन्ने वित्तिकै नेपाली भाषामा नकारात्मक अर्थ राख्दछ, त्यस्ता सबै कुँडाकर्कटलाई एनआरएनका नाममा एकजोर सुटपाइट लगाएर महान बनाउन लागिएको छ ।
एनआरएनका मुखियाहरुले एकातिर दैनिक ९ हजारमा पसिनाको महासागर बगाउनेहरुलाई पनि उनीहरुको वास्तविक मूलबाटो र गन्तव्यबाट विमुख गराएको छ भने गधाहरुलाई धोएर गाई बनाई ‘गाई हाम्री आमा हुन्’ भन्ने मुलुकका बिग्रेभत्केका सडकमा ‘हिरो’ बनाएर डुलाई रहेको छ ।
कामको नाममा यिनले आजसम्म केही तातोभुत्लो लाउन सकेका छैनन् । सबै नेपाली दशैंको चटोरोमा रहेका बेला दुई वर्षमा दशंैको मौका छोपेर नेपाल आउने घरपरिवारसँग दशैं मनाउने तारे होटलमा कुखुराका साँप्रा लुछ्दै विदेशी तीन पानेले मुख कुल्ला गरेर सम्मेलन गर्ने, मुखिया चुन्ने अनि देश र जनतालाई आश्वासनको मिठाई बाँडेर कुलेलाम ठोक्न मै यिनीहरूको समय बितेको छ । अझ विस्तारै एनआरएनमा राजनीतिको हावा लागेर कांग्रेसी र कम्युनिष्टको ट्याग लाग्न थालेको छ । फोहोरी राजनीतिको आहालमा डुबेको एनआरएन ‘मन्दिरमा छोडेको बोको’भन्दा पनि गन्हाउने भएको छ । यिनीहरू मुलुकमा लगानी गर्ने ढोल पिटेर राजनीति गरिरहेका छन् । बडो अचम्मको कुरो त के छ भने उनीहरू रातारात मालामाल हुने रियल स्टेट सञ्चार, तारे होटल, नर्सिङ्ग होमजस्ता क्षेत्रमा लगानी गर्न पाए र्याल चुहाउँदै अघि सर्छन् र शिक्षा स्वास्थ्य जलस्रोत जस्ता मुलुक र जनताको हितमा लगानी गर्नुपरे दाँतबाट पसिना निकाल्छन् । आफूलाई समाजसेवी भजाउँदै हिड्ने उनीहरूले आफ्ना देश र प्रवासमा रहेका नेपाली कसैका लागि केही गर्न सकेका छैनन् ।
यूरोप अमेरिकाका एनआरएन मुलुकमा भएको श्री सम्पत्ती पनि बेचेर ‘फ्mरेनर’ बनिसके । उनीहरूका लागि अब नेपाल र नेपाली तेस्रो दर्जाको देश र जनता हुन् । ठुला देशको ठुला शहरमा हराएका उनीहरूले अब नेपाल बिर्सिसकेका छन् । यता खाडीका एनआरएन प्रवासी कामदारको गाँस र आसमा टेकेर राजनीति गरिरहेका छन् । कति त मानव तस्करका दलालहरू पनि छन् । एनआरएनका टाउकेहरूले आफूलाई यो हैसियतमा पुर्याउने नेपाली कामदारहरूको पसिनामा रजाई गर्दै झुटको खेती गरिरहेका छन् ।
हरियो पासपोर्टमा मजदुरी गर्न जाने र सरकारी सुविधामा अध्ययनका लागि विदेश गएकाहरु एनआरएन हुनै सक्दैनन् । श्रमिकहरु एनआरएन बनाएपछि उनीहरुको हकअधिकार कुण्ठित बनेको छ । अध्ययनमा गएकाहरु फर्केर देशको सेवा गर्नुपर्ने हो उनीहरुको कालो सूची चाँडै सार्वजनिक हुने क्रममा छ । देशमा जम्मा गरेको कालोधन लिएर गएकाहरु त्यसलाई पुनः सेतो बनाउने क्रममा छन् । त्यसैले तिनीहरुलाई एनआरएन मान्नै सकिन्न । तर, झुटको खेती गरेर खान पल्लकेकाहरूले एनआरएनको परिभाषालाई नै कुण्ठित पारिदिएका छन् । यि टाउकेहरूले आजसम्म खाडीमा काम गर्ने नेपालीहरूको पक्षमा एक शब्द आवाज उठाएका छैनन् । विभिन्न क्षेत्रीय राष्ट्रिय र अन्तर्राष्ट्रिय नाम राखेर सम्मेलन गर्ने, घोषाणा पत्रको एकाध बुँदामा ति कामदारको कुरा उठाउने र सहि धसेर पारित गर्ने काम बाहेक माखो मारेका छैनन् ।
साँच्चिकै एनआरएन मात्र १५ प्रतिशत होलान् । जो झण्डै ६ दशकअघि लाहुरे बनेर उतै घरबास गरेका थिए । कतिले नाम, दाम दुवै कमाएका छन् । राम्राराम्रा पहिरन फुकालेर मर्ने बेलामा कात्रो चाहिएजस्तै उनीहरुलाई पनि मर्ने बेलामा कात्रो वा आफ्नो वंशलाई आफ्नो पुज्य मातृभूमि चाहिएको छ । उनीहरु अहिले नेपाली मुलका विदेशी बनेका छन् । वास्तवमा उनीहरुलाई एनआरएन मानेर सम्मान गर्न सकिन्छ । तर, अन्य लोभीपापीलाई एनआरएनका रुपमा देशमा स्वागत गर्नु भनेको गधाहरुलाई गाई बनाएर बथानमा छोड्नु मात्र हो ।

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item