प्वाक्क मुखाँ हान्नुजस्तो !

भुमी भण्डारी 


जिरे खुसार्नी नामको नेपाली हास्य सिरियलमा, ‘प्वाक्क मुखाँ हान्नुजस्तो’ भन्थ्यो, त्यसको एक पात्रले । अहिने नेपाली जनताले त्यो थेगो ठ्याक्कै कपी गरेर ब्यवहारमा पेष्ट गर्न लागि परेका छन् । दुई नेपालीहरु देबीप्रसाद र प्रेम सापकोटाले त झलनाथजी र झक्कुनाथजीको गालामा प्वाक्क हानि भ्याए । अरु पनि हान्ने गोरु झैं रन्थनिएका छन्, तर हान्ने हुति नभएकाले यही थेगो भट्याउंदै बसिरहेका छन् । नेपाली जनताको रिस अरुसंग होइन, २ बर्ष भित्र ‘दामी संबिधान’ बनाउंछु भन्दै भोट लिएर गएका सभासदहरु प्रति हो । सभासद त गए, तर तिनीहरु गएको गयै भए, न संबिधान बनाए, न त समयमा बनाउन नसक्नुको स्पष्टिकरण नै दिन आए । अनि जनता नरिसाएर के गरुन् त ?
धेरै नेपालीले देख्न नपाएको शहर काठमाण्डौंमा बस्ने सभासद के गर्दैछन् भनेर गाउं गाउंमा खबर पुर्याउन अहिले रेडियो टिभीहरु धेरै खुलेका छन् । तर जनताले सभासदका बारेमा राम्रो समाचार सुन्न भने पाएका छैनन् । कोही सभासद बिजुली चोर्दा चोर्दै पक्राउ परेका समाचार सुनिन्छ । ‘हजुर त ठूलो मान्छे बिमानस्थलमा कडिकडाउ सहन नपरोस्’ भनेर सरकारले बिदेश उड्न दिएको रातो पासपोर्ट नै बेचेर खाएको समाचार आउंछ । कोही भने सभासद भनेको भगवानकै अवतार हो भन्ने सम्झेर मान्छे कुट्दै, तर्साउदै हिडेका पनि छन् । कोही सभासद पुलिस बनाइदिन्छु भन्दै पैसा उठाइरहेका छन् त धेरै चन्दा दिने तस्कर/बिदेशीलाई सभासद र मन्त्री बनाएको समाचार पनि सुन्ने गरिन्छ । जनताले तिरेको करबाट एक महिनाको ५० हजार रुपियां बढि सभासदले तलब खान्छन् रे । त्यति पैसाले नपुगेर संबिधान बनाउन गएका सभासद, संबिधान नबनाई ‘दुई नम्बरी धन्धा’ गर्न थालेपछि जनताले झापड नहानेर, पूजा गरुन् त ?

हुन त नेपाली खाने पिउने मामलामा धेरै अगाडी छन् । सरकारी बिमानका कर्मचारीले बिमान भित्रकै सामान बेचेर खाए रे भन्ने केहि दिन समाचार पनि आएको थियो । ‘नेता र कर्मचारी मिलेर सिंगै बिमान पचाउन सक्ने देशमा जाबो केही करोडका सामान कर्मचारीले बेचेर खाए त के भयो’ भनेर होला यसको बिरोध भने केही भएन । ‘जुन भाँडोमा खायो, त्यही भाँडोमा कुन्नि के गर्‍यो’ भने झैं नेपालीहरु जहाँ आवद्ध छन् त्यहीबाट खान सुरु गर्छन्, धमिराले धोद्रो पारको काठ झैं केही बर्षमा डकार्दै रिटायर्ड हुन्छन् र अरुलाई खान चान्स दिन्छन् ।

 तेल बेच्ने सरकारी निकायले तेल नै खाएको छ त अलकत्रा बेच्ने कम्पनीले अलकत्रा नै भ्याएको छ । खानमा उस्ताद नेपालीहरुमध्ये बाट नै छानिएका हुन् हाम्रा सभासदहरु पनि । भाग्यवादी चिन्तन र सांस्कृतिक पृष्ठभूमिबाट आएका नेपालीहरुले जतिसुकै क्रान्तिका कुरा गरे पनि जति रातो फेटा टाउकामा बांधे पनि ‘धन देख्दा महादेवका तीन नेत्र’ भने झैं पैसा देखेपछि र्‍याल चुहिहाल्दो रहेछ । अनि त सभासदहरु संबिधान बनाउन छोडेर तस्करको पछि लाग्ने नै भए नि ।
‘कस्तो अचम्म ! हामी सरकारी स्कूल पढ्दैनौ, सरकारी जहाज चढ्दैनौ । सरकारी अस्पताल जांदैनौ, सरकारी अखबार पढ्दैनौं, सरकारी टिभी हेर्दैनौं । तर सरकारी जागिर खान किन मरिहत्ते गर्छौं ?’- केही महिना अघि एक मित्रले फेसबुक स्टाटसमा लेखेका थिए । यो स्टाटस पढेपछि मैले पनि निकैबेर सोचें, आखिर मेरो दिमागले उत्तर पनि भेट्यो । हामी अल्छी सामाजिक परिवेश र मानसिकतामा हुर्किएका कामचोर प्राणी हौं । हामी कानुन हातमा लिन र अरुमाथि त्यो लादेर आफू शासक हुन मन पराउछौं । हामी आफ्नो जीवन सुरक्षित बनाउन, कामै नगरी पैसा कमाउने दाउ खोजिरहेका हुन्छौं । यी यावत कुराहरु सरकारी सेवामा मात्रै सम्भव छ ।

कानुनको अपब्याख्या गर्ने, काम नगरि तलब पकाउने र आफूले पाएको अधिकार दुरुपयोग गरि देश बिगार्नेलाई सहयोग पुर्‍याउने र त्यसबापत अनुचित लाभ लिने कार्य सरकारी निकाय प्रवेश पछि मात्रै सम्भव हुन्छ । अझ देशको संबिधान नै बनाउने अधिकार पाएका सभासदहरु त झन महासरकारी भए । उनीहरु हाम्रै समाजका उपज हुन्, हाम्रै मानसिकताको प्रतिनिधित्व गर्छन् । यस्ता महासरकारी सभासदबाट समय सापेक्ष र जनअपेक्षा अनुरुप काम होला भन्नु त ‘स्यालले के झर्ला र खाउँला भनेर साँडेको पछि लागे’ झैं देखिन्छ ।

देशी बिदेशी सबै तत्वको चित्त बुझाउंदा र सबैलाई भागबण्डा लगाउंदा सभासदको संख्या ६ सय नाघ्यो । यी जनताको भोटबाट जनताको पक्षमा संबिधान बनाउन छानिएका थिए । तर बिडम्बना, जनताले बढारेर किनारमा पुर्‍याएका, भ्रष्ट आचरण र ब्यवहारले कुहिएर गन्हाउन थालेका मान्छेहरु पो मन्त्री भए । समयले पाखा लगाएका यस्ता कथित नेता प्रतिशोधमा उत्रेका छन् । आफूलाई हराउने संबिधान सभा निर्वाचनबाट बिजयी हुनेलाई संबिधान बनाउन नदिन तिनको ठूलै तिकडम जारी छ । 

ती अझ सरकारमै भएको पार्टीमा छन् । एमाले भित्रका खड्ग ओली, माधव नेपाल तिनै गुट मध्येका हुन् जो संबिधान बन्दा भन्दा नबन्दा धेरै खुसी हुन्छन् । यस बाहेक बिदेशीको मानो खाएर तिनकै भजन गाउने भजन मण्डली पनि नेपालमा छन्, उनीहरु बिदेशीले जसो सिकाउछन् त्यसै गर्न बाध्य छन् । आखिर नुनको सोझो त गर्नै पर्‍यो, यी राष्ट्रघातीहरुलाई पनि । यस बाहेक एक दशक अघिको ब्यवस्था नै ठीक भन्नेहरु पनि उत्तिकै सक्रिय हुन खोज्दैछन् । माउ पार्टीहरु बीच भएको कलहको फाइदा उठाउदैं तिनीहरु ‘ताजा जनादेश’ त कहिले के भनेर टाउको उठाउन खोज्दैछन् ।
जनताप्रति इमानदार हुने हो भने संबिधान लेख्न कति समय लाग्छ ? म यो कुराको अनुमान गर्न सक्दिंन । जनताले छानेका ६ सय बढि सभासद मध्ये धेरैलाई त अझै संबिधान कसरी तयार हुन्छ थाहा छैन होला । जनतालाई पनि भ्रम छ, कापी र कलम लिएर बिद्यार्थी कक्षा कोठामा बसेर जांच दिए झै संबिधान सभा हलमा बसेर सभासदले नै संबिधान लेख्ने हो भनेर । 

संबिधान सभामा प्रस्तुत भएको प्रस्तावित संबिधान ठीक छ भनेर ताली बजाउन मात्र यो संख्या आवश्यक छ, बांकी काम त संबिधान सभा माताहतका समिति र बिज्ञहरुले गर्छन् । तर जनता भने, आफूले नयां संबिधान बनाउन भोट दिएर पठाएको मान्छे, शहरको भवसागरमा कुहिरोको काग झैं रनभुल्लमा परेको देखेर स्तब्ध छन् । उनीहरु भित्रभित्रै मुरमुरिएका छन् । कोहीकोही ले त आक्रोस देखाइ पनि सके, धेरै चांही आक्रोस दबाएर बसेका छन्, तर धेरै दबायो भने त्यो बिष्फोट भएर निस्कन पनि सक्छ ।

Related

विचाररसाहित्य 1395383287478460458

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item