देवयानी : नयाँ हत्याकाण्ड
http://sindhulidarpan.blogspot.com/2011/11/filmy-news_28.html
मनोज पण्डित, १२ मंसिर,काठमाडौं
चलचित्र : देवयानीलेखन/निर्माण/निर्देशन : विजय बस्नेतअभिनय : निखिल उप्रेती, दिलीप रायमाझी, बिमला केसी
‘बजारले उत्पादन निर्धारण गर्छ कि उत्पादनले बजार ?’
हाम्रोजस्तो आयातमूलक अर्थतन्त्र भएको देशमा बजारले उत्पादन निर्धारण गरेको तथ्य यथार्थ हो तर आधुनिकताको लहरसँगै उत्पादनले बजार निर्धारण गरेको तथ्य पनि हाम्रोसामु स्थापित भैसकेको छ, जस्तै : मोबाइल, कम्प्युटर आदि । तथ्यहरू परिवर्तन भइरहन्छ किनकी आवश्यकताहरू समयक्रममा बदलिरहन्छ र प्रविधिको आविष्कार सँगसँगै नयाँ बजारको निर्माण भैरहेको हुन्छ । नेपालको दुर्भाग्य के हो भने हामी प्याकेजिङ प्रणालीमा सीमित छौं जहाँ हाम्रो स्व–उत्पादनको खपत निकै कम रहेको छ । सरकारी नीति तथा खुला सिमाना यसका केही प्रमुख कारण हुन् भने हाम्रो सामाजिक संरचना पनि अर्को कारण हो । हाम्रा दुई छिमेकी राष्ट्रहरू चिन र भारत अन्तराष्ट्रिय बजारमा आफ्नो उत्पादनले प्रभुत्व जमाउँदै गइरहेको अवस्थामा हामी चाहिँ निर्भरमुखी अर्थतन्त्रमै वार्षिक अर्बौं रुपैंया घाटा बेहोरेर रेमिटेन्सको भरमा जेनतेन चलिरहेका छौं ।
‘बजारले उत्पादन निर्धारण गर्छ कि उत्पादनले बजार ?’
हाम्रोजस्तो आयातमूलक अर्थतन्त्र भएको देशमा बजारले उत्पादन निर्धारण गरेको तथ्य यथार्थ हो तर आधुनिकताको लहरसँगै उत्पादनले बजार निर्धारण गरेको तथ्य पनि हाम्रोसामु स्थापित भैसकेको छ, जस्तै : मोबाइल, कम्प्युटर आदि । तथ्यहरू परिवर्तन भइरहन्छ किनकी आवश्यकताहरू समयक्रममा बदलिरहन्छ र प्रविधिको आविष्कार सँगसँगै नयाँ बजारको निर्माण भैरहेको हुन्छ । नेपालको दुर्भाग्य के हो भने हामी प्याकेजिङ प्रणालीमा सीमित छौं जहाँ हाम्रो स्व–उत्पादनको खपत निकै कम रहेको छ । सरकारी नीति तथा खुला सिमाना यसका केही प्रमुख कारण हुन् भने हाम्रो सामाजिक संरचना पनि अर्को कारण हो । हाम्रा दुई छिमेकी राष्ट्रहरू चिन र भारत अन्तराष्ट्रिय बजारमा आफ्नो उत्पादनले प्रभुत्व जमाउँदै गइरहेको अवस्थामा हामी चाहिँ निर्भरमुखी अर्थतन्त्रमै वार्षिक अर्बौं रुपैंया घाटा बेहोरेर रेमिटेन्सको भरमा जेनतेन चलिरहेका छौं ।
चलचित्रको समिक्षा गर्न छाडेर के यो अर्थतन्त्रको कुरा गरेको भन्ने लाग्न सक्छ पाठकवृन्दलाई तर नेपाली अर्थतन्त्रको यो संरचना यसरी दबेको छ कि जसलाई हाम्रो बजारले न त कुनै ग्राहयता दिएको छ न त बजारको लागि आवश्यक उत्पादन बन्न सकेको छ । समग्र बजार राजनीतिभित्र नेपाली चलचित्रको कुनै स्थान नहुनुबीच चलचित्र परिधि कसरी अस्पष्ट र अलपत्र परेको छ जहाँ चलचित्रको सृजनशिलता जहिले पनि बलि चढ्न बाध्य भएको छ ।
यसै अवस्थामा थुप्रै नेपाली चलचित्रले एक हप्तामै दम तोड्नुपरेको, विगत पाँच महिनादेखि हामीले देख्दै आएका छौं र यसको नयाँ सिकारको रुपमा चलचित्र ‘देवयानी’ आएको छ जो बजारको कारणले मात्रै होइन, आफ्नै कमजोरीका कारणले पनि यो प्रतिफल भोग्न बाध्य हुनेछ । यसअघि चलचित्र ‘शहिद’ बनाएको सफल अनुभव र आफूले उत्कृष्ट चलचित्र बनाएको अभिव्यक्ति सार्वजनिक गरेर चलचित्र मानस्पटलमा अपेक्षाको बोट रोप्न जसरी यसका सर्जक सफल भएका थिए, चलचित्र हेरिसकेपछि त्यति नै निराश बनाएका छन् । कारण, उनले गरेको सृजनात्मक सम्झौता । उनको यो सम्झौताले बजारलाई अझ बढी निरङ्कुश ढंगबाट व्यवहार गर्न मद्दत पुर्याएको छ । एकातर्फ बजार नेपाली चलचित्रलाइ 'कण्डमको अर्थतन्त्र' जत्ति पनि नमानी निर्मम ढंगले अव्यवस्थित छाडिरहने, अर्कोतर्फ चलचित्रले स्व–उत्पादनको आफ्नो वैशिष्ठ्यता र अस्तित्वपनि हासिल गर्न नसक्ने र प्रयत्न नगर्ने दुवै कारणले गर्दा नेपाली चलचित्रले वर्तमानको अवस्था भोगिरहेको छ । बजार र चलचित्रबीच विषम परिस्थिती उत्पन्न भएको छ ।
अब ‘देवयानी’ चलचित्रतिर लागौँ जो राजदरबार हत्यकाण्डसँग गोरु बेचेको साइनो पनि राख्दैन र कुनै विशेष प्रेमकथा पनि होइन । यो एउटा सम्भावित बलियो पात्रको विषयमा बनेको नितान्त कमजोर चलचित्र हो । यसो हुनुमा सर्जकको अस्पष्टता र पात्रप्रतिको इमान्दारविहिनताको अवस्थामा तथा अस्पष्ट बजार (नभएको बजार)को गैरव्यावसायिक दवाव आदि प्रमुख रहेको छ । यही कारणहरूको उपज नेपाली चलचित्रमा विरलै पाइने र गर्न कोसिस गरिएको एउटा प्रयत्न खेर गएको छ । चलचित्रको कथा, कलाकारहरूको अभिनयलगायतका विषयमा शब्द खेर फाल्नुभन्दा यो समिक्षा त्यस्ता प्रश्नहरूमा केन्द्रित रहनु बढी समयसापेक्ष लाग्यो । त्यसैले यी केही प्रश्नहरू यस चलचित्र हेरिसकेपछि सान्दर्भिक हुन आयो ।
किन नेपाली चलचित्रकर्मी आफ्नो पात्र, कथा र द्वन्द्वलाई बजारको पाउमा युधिष्ठिरले जुवामा द्रौपदीलाई खाल हालेको जसरी चढाउँछन् र चीरहरण गर्ने मौका दिन्छन् । के पञ्चायतकालिन मानसिकता बोकेको नेपाली चलचित्र परिवर्तन गर्ने हिम्मत राख्दैनन् हाम्रा चलचित्र सर्जकहरू ? किन दास बन्छन् नर्तकीहरूसँग ? लामो कपाल पाल्नेहरूसँग र हुलदंगा गर्ने, पिट्ने, उफ्रन सक्नेहरूसँग हाम्रा सर्जकहरू ? के सर्जकहरू व्यापारीका जुठो खानेहरू हुन् ?
यी प्रश्नहरूको उत्तर खोज्न सायदै कमै सर्जकले पहल गर्लान् तर परिवर्तनको कालखण्डमा आएर हामी किन खुट्टा कमाइरहेका छौं ? हरेक चलचित्रकर्मीले परिवर्तन विस्तारै हुने र समय लाग्ने अनि आफूले पनि विस्तारै केही गर्ने कोसिस गर्ने भन्दै जोगिन खोज्नेहरूको भीड उछिनेर समाज कहाँ पुगिसक्यो तर यही समाजबाट आएका चलचित्र क्षेत्रसँग सम्बन्धित मानिसहरू चाहिँ वास्तवमै परिवर्तन गर्न हिच्किचाइरहेका छन् ।
छायांकनको हकमा राम्रो काम भएको यस चलचित्रको दुर्भाग्य निखिल उप्रेतीबाट सुरु हुन्छ अनि देवयानीको पात्रमा देखिएकी विमला केसी हुँदै चलचित्रको द्वन्द्वविहिन कथा र यसको संरचना, संयोगहरूमा जबर्जस्ती जोडिएको पटकथा अनि महिला अधिकारवादीले भाषण गर्नेजस्ता संवादमा गएर प्राणत्याग हुन्छ, चलचित्र मर्छ ।
देवयानी नाम राजदरबार हत्याकाण्ड हुनु पछाडिको महत्वपूर्ण कारण थियो भनेर विश्लेषण गरिएको हामीले सुनेका थियौं तर यस चलचित्रसँग देवयानी चरित्र (पात्र)को हत्या गरिएको प्रष्ट देखिएको छ र देवयानीको हत्या यसका लेखक र निर्देशकले गरेका छन् । समाजको अवधारणालाई चुनौति दिने चरित्र निर्माण गर्न कोसिस गर्नु सर्जकको प्रशंसायोग्य काम थियो तर त्यस्तो पात्रमाथि विश्वास नगर्नु र बजारका दलालहरूको कुरामा अलमलिएर आफूले जन्म दिएको पात्रलाई बीच सडकमै अलपत्र छाडेर, उफ्रेर र हिर्काएर नाम कमाएका फाइटरहरूलाई अँगाल्नु सर्जकको आत्मविश्वासको कमी हो र यसको प्रत्यक्ष असर चलचित्रको सृजनात्मक पक्षमा परेको छ । जसको कारण चलचित्र अस्पष्ट बनेको छ, न त बजारले भन्ने गरेको जस्तो, न त सर्जकले चाहेजस्तो ।
यसैले यो चलचित्र एउटा यस्तो उदाहरण हो जसमा बजार र सर्जक मिलेर ‘देवयानी’ नामक चरित्र र अवधारणाको हत्या गरिएको छ । यो चलचित्र नितान्त उद्देश्यविहिन र प्रभावहिन बनेको छ, बजार र सर्जकको आडम्बरले । एउटा सम्भावना बोकेको पात्रमाथि कसरी कमजोर चलचित्र बन्दछ भन्ने उदाहरण हेर्नका लागि यो चलचित्र हेर्न जानुभए हुन्छ र निर्मातालाई केही राहत दिन सक्नुहुन्छ भन्ने सुझाव दिँदै ‘देवयानी’प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साभार:मेरोसिनेमा



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !