तीन साताभित्रमा शिविर खाली गर्ने प्रचण्डको प्रस्ताव

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_8940.html
काठमाण्डौ,फागुन १३
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ३ साता भित्रमा माओवादी लडाकुहरु बसिरहेको शिविर खाली गर्नेगरी सहमतिको प्रस्ताव तयार गर्नु भएको छ । आज बिहान काङ्ग्रेस सभापति सुशील कोइराला निवास महाराजगन्जमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले लडाकु समायोजन तथा शान्ति प्रक्रियाको काम कम्तिमा तीन सातामा टुङ्ग्याउने गरी तयार पारेको प्रस्ताव पेस गर्नु भएको हो । बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले आगामी बैठकहरुमा आफूले पेस गरेको प्रस्तावको बारेमा छलफल हुने र शान्ति प्रक्रिया टुङ्ग्याउने काम सुरु हुने जानकारी दिनुभयो । शान्ति र संविधानका विवादित विषयमा सहमति जुटाउन कार्यविभाजन गरेका मुख्य तीन दलका शीर्ष नेताहरुको आजको बैठकमा नेपाली काङ्ग्रेस र नेकपा एमालेले भने आफ्नो प्रस्ताव पेस गरेनन् ।
आगामी १८ गते बस्ने शीर्ष नेताहरुको बैठकमा काङ्ग्रेस र एमालेले बिभिन्न आयोग गठन र संविधानको विवाद सुल्झाउने बारेमा आआफ्नो प्रस्ताव पेस गर्नेछन् । एमाले नेता भीम रावलले शान्ति र संविधानको बारेमा बैठकमा छलफल भए पनि कुनै सहमति भने नभएको जानकारी दिनुभयो । नेताहरुको व्यस्तताका कारण अवको ४ दिनपछि मात्रै शीर्ष तहको बैठक बस्ने निर्णय भएको हो ।
अस्ति बसेको शीर्ष नेताको बैठकले शान्तिप्रक्रिया र सेना समायोजनसम्बन्धी विवादमा सहमति खोज्ने जिम्मा माओवादी अध्यक्ष प्रचण्डलाई दिएको थियो भने विगतका सम्झौता अनुसार आयोगहरु गठनको प्रक्रिया र आगामी कार्ययोजनाको बारेमा प्रस्ताव पेश गर्न काङ्ग्रेस सभापति सुशील कोइरालालाई र संविधान लेखनका विवादित विषयमा सहमति खोज्नेबारेको योजना प्रस्तुत गर्ने जिम्मा नेकपा एमाले बरिठ नेता माधव नेपाललाई दिएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !