दलहरुबीच सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन बारे छलफल

http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_6758.html
काठमाण्डौ,फागुन २१
प्रमुख दलहरुबीच सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनको बारेमा आजदेखि छलफल सुरु भएको छ । शान्ति प्रक्रिया र संविधान निर्माणको बारेमा ठोस सहमति गर्ने प्रयासस्वरुप आज बिहान बसेको प्रमुख तीन दलको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन लगायतका आयोगहरु गठनको बारेमा छलफल भएको हो । एमाले अध्यक्ष झलनाथ खनाल निवास डल्लुमा भएको छलफलमा तीनै पार्टीका शीर्ष नेताहरुले द्वन्द्व पीडितहरुको माग सम्बोधन हुनेगरी आयोगहरु गठनको बारेमा आआफ्नो धारणा राखेका थिए । तीन दलको अर्को बैठक आगामी २५ गते बस्ने छ । शान्ति प्रक्रिया र संविधान निर्माणको बारेमा आज सामान्य छलफल मात्र भएको एक नेताले जानकारी दिए ।

फागुन १२ गते बसेको शीर्ष नेताको बैठकले शान्तिप्रक्रिया र सेना समायोजनसम्बन्धी विवादमा सहमतिको खाका ल्याउने जिम्मा माओवादी अध्यक्ष प्रचण्डलाई दिएको थियो । विगतका सम्झौताअनुसार आयोगहरू गठनको प्रक्रिया र आगामी कार्ययोजनाको बारेमा प्रस्ताव तयार पार्न काङ्ग्रेस सभापति सुशील कोइराला र संविधान लेखनका विवादित विषयमा सहमति खोज्नेबारेको खाका प्रस्तुत गर्ने जिम्मा बैठकले एमाले बरिष्ठ नेता माधव नेपाललाई दिएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !