ट्रिपरको ठक्करबाट दुई जनाको मृत्यु


मधुसुधन गुरागाई,
बनेपा,फागुन ३०
यात्रु ओराल्दै गरेको बसलाई ट्रिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मेलम्चीबाट काठमाडौं जाँदै गरेको हेलम्बु यातायातको बा २ ख ३७१ नम्बरको बसलाई बा २ ख ८०१७ नम्बरको ट्रिपरले पछाडिबाट ठक्कर दिएको हो ।



ठक्करबाट बसका सहचालक कमलबहादुर खड्का र बसमा खसी राखेर ल्याएका काभ्रे, मेच्छेका ५२ वर्षिय खसी व्यापारी बहादुर दोङ रहेको इलाका प्रहरी कार्यालयका सब–इन्सपेक्टर विजय खत्रीले जानकारी दिए । 
तीब्र गतिमा आइरहेको ट्रिपरले इलाका प्रहरी कार्यालय बनेपा अगाडि यात्रु ओराल्न रोकिरहेको उक्त बसलाई ठक्कर दिएको हो । बनेपा तीनदोबाटो इलाका प्रहरी कार्यालय अगाडि सडकमा उक्त यात्रुबसको डिक्कीमा राखिएको खसी ओराल्न सहचालक खड्का, खसी व्यापारी र बसका हेल्पर निस्केका थिए ।
‘केही यात्रु ओर्लिरहेका थिए । बसको डिक्कीबाट तीनजना खसी ओराल्दै थिए । पछाडिबाट हुइँकिएर आएको ट्रिपरले ड्याम्मै ठक्कर दियो । मैले त प्लेन उडेको झैं देखेँ’, हिमालयन फीड बनेपा डिपोका प्रकाश श्रेष्ठले घटनाको विस्तार गर्दै भने । ट्रिपरले बसलाई १० मीटर अगाडिसम्म पेल्दै लगेर फुटपाथतर्फ मोडिएको थियो । 
ठक्करबाट बसमा यात्रारत रविओपीका राजन अधिकारी, मेलम्चीकी अमृता चालिसे, सिन्धुपाल्चोकको मानेखर्कका जितवहादुर वस्नेत र अर्का एक बालक गम्भीर घाइते भएका छन् । उनीहरुसँगै सामान्य घाइते अन्य तीनजनाको बनेपाको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
‘बसभित्र उभिएर यात्रा गर्दै थिएँ । ड्याम्मै ठोक्किएको आवाज आएर बस घिस्रियो । यात्रुहरु चिच्याउन थाले । उनीहरुलाई बाहिर निकाल्दै थिएँ । मेरो पनि टाउकोमा चोट लागेको रहेछ । प्रहरीले उपचारका लागि अस्पताल ल्याइदियो’, घाइते यात्रु अधिकारीले बताए ।



फुटपाथसँगै थुपारिएको बालुवाको ढिस्कोमा ट्रिपर अड्किएकाले अगाडिका घरमा क्षति पुग्नबाट जोगिएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय र बनेपा तीनदोबाटोका स्थानीयवासीले उद्धार गरेको थिए । मेलम्चीबाट सवा १ बजे छुटेको सो बसमा सिपाघाटबाट व्यापारी दोङले ७ वटा खसी चढाएका घाइते यात्रु चालिसेले बताइन् । 

मृत्यु हुनेका परिवारलाई क्षतिपुर्ति
बनेपा । रोकिरहेको यात्रुबाहक बसलाई ट्रिपरले ठक्कर दिदाँ आइतबार मृत्यु भएका दुई जनाको परिवारलाई क्षतिपुर्ति दिने सहमति भएको छ । 
इलाका प्रहरी कार्यालय बनेपामा सोमबार दिउसो भएको वार्तामा पीडित परिवारले १० लाख पाउनु पर्ने माग गरेका थिए । पीडित परिवारका आफन्तहरुले चालकको लार्पवाहिका कारण दुर्घटना भएकाले चालकलाई ज्यान सम्वन्धी मुद्दा दर्ता गर्न माग गर्दै केहि समय अरनिको राजमार्ग अवरुद्द समेत गरेका थिए । वार्तामा दुर्घटनामा मृत्यु भएका बसका कण्डक्टर ओखलढुंगा घर भई पेप्सिकोलामा बस्दै आएका कमलबहादुर खड्का र काभ्रे जिल्ला मेच्छे गाविस घर भई खसी ब्यवसाय गर्दै आएका बहादुर दोङ्गको परिवारलाई ५÷५ लाख दिने सहमति भएको छ । 
सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौ जाँदै गरेको वा २ ख ३७१ नम्वरको बस राजमार्गको छेउमा रोकेर डिक्कीमा रहेका खसी झार्दै गरेको समयमा सोहि रुट हुँदै काठमाडौ जाँदै गरेको वा २ ख ८०१७ नम्वरको ट्रिपरले पछाडीबाट ठक्कर दिदाँ दुइजनाको घटनास्थलमै मृत्यु भएको थियो भने ६ जना समान्य घाइते भएका थिए ।


घाइते मध्ये ५ जना उपचार पछि घर फर्किएका छन् भने रविओपी गाविसका राजन अधिकारीलाई टाउकोको उपचारका लागि विएण्ड वि अस्पतालमा रिफर गरिएको शिर मेमोरियल अस्पताल बनेपाले जानकारी दिएको छ । ट्रिपर र बसका चालकलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बनेपामा राखिएको प्रहरी निरिक्षक खेम आचार्यले जानकारी दिएका छन् ।

Related

विविध 1515070018565215780

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item