गोबर सोर्ने श्रीमान, टपरी गास्ने पुरुष


शेरवहादुर भुजेल,दोलखा 
सामुदायिक सुचना नेटवर्क सिआइएनको सिर्जनात्मक कार्यशालामा सहभागी भए पछि सोही नेटवर्कले नेपालका सामुदायिक रेडियोसँग मिलेर उत्पादन गर्ने रेडियो कार्यक्रम साझा आवाजका लागि रिर्पोट तयार पार्नु थियो । महिलाका विशेष सवालमा रहेर रिर्पोटिङ गर्नु पर्ने भएकाले के विषय छान्दा राम्रो रिर्पोट बन्ला भनेर सोची रहन्थे । एक पटक सोचे । महिला प्रध्यानाध्यापकका विषयमा किन रिर्पोटिङ नगर्ने । जुटे महिला प्रधानध्यापक भएका विद्यालयको खोजीमा । सुनखानी गाविसमा महिला प्रधानध्यापक भएका विद्यालय दुई वटा भएको शिक्षिका तथा महिला अधिकारकर्मी कालिका पाठक मार्फत जानकारी भयो । त्यसपछि म रेकर्डर बोकेर सुनखानी तिर हानिए । साँच्चै निकै लामो समय देखी प्रधानध्यापक भएर विद्यायल सञ्चालन गर्दै आएका मझुवा प्राविका लक्ष्मी शिवाकोटी र सरस्वती विद्या मन्दिरकी कल्पना शर्मा खरेलसँग मज्जाले कुराकानी गरियो, कालिका पाठककै सहयोगमा । सदरमुकाम फर्केपछि तयार पारेको रिर्पोट सिआइएनबाट प्रसारण भयो ।
रिर्पोट प्रसारण भएको तीन महिला वित्नै लाग्दा सिआइएनका संयोजक सोहम सुवेदीले फोन गर्नु भयो । “तपाईले उत्पादन गर्नु भएको महिला प्रधानध्यापकको रिर्पोट माथि हामीले वृत्तचित्र तयार पार्ने भयौ । हामी भोलि चरिकोट आउँदै छौ । सहयोग गुर्न होला ।” नभन्दै पहिला रेकर्डरले पछ्याएको शिवाकोटी र खरेललाई क्यामेराले पछ्याउँदै पुन: सुनखानी पुगियो । उनीहरुका अनुभवलाई क्यामेरा कैद गरियो । सोही मौकामा पत्रकारिता यात्राका मेरा ६ वर्षे अनुभव सहित रेडियो शैलुङका साथी मन्दिरा थापाका अनुभवलाई समेत समावेश गरेर वृत्तचित्र तयार भयो । काठमाण्डौका केही ठाउँमा प्रदर्शन भए पछि केही साथीले मलाई फोन गरेर बधाई दिन भ्याए ।
छापा माध्यमबाट पत्रकारिता सुरु गरेको केही वर्ष पछि आफु कार्यरत संस्थाले जिल्लामै पहिलो पटक सामुदायिक रेडियो स्थापना गरेपछि रेडियो पत्रकारिता क, ख सिक्ने मौका मिल्यो । रेडियोलाई त्यति उपयुक्त स्वर नहुँदा नहुँदै पनि कहिलेकाँही रेडियो रिर्पोट बनाउन थालियो । मेरा रिर्पोटहरु सिआइएनबाट पनि प्रसारण हुन थाले पछि रेडियो रिर्पोटको भुत चढेको बेला सिआइएनलेनै आयोजना गरेको कार्यशालामा सहभागी हुने मौका पाए पछि मलाई झन् के चाहियो र । यस्तैमा तयार पारेको यो रिर्पोट उत्कृष्ट बन्दा अनौठो अनुभुति भइरहेको छ ।
कार्यशालामा रहँदा हामीले पाँच सय भन्दा बढी रिर्पोटका सवाल र विषयहरु छनोट गरेका थियौ ती सबै महिलासँग सम्बन्धित थिए । गाउँ घरमा हुने स–साना विषयलाई महिलाका मुद्धा बनाएर रिर्पोट वा अन्य माध्यमबाट सञ्चार गराउँने सिप हामीले सिकेको थियौ । रिर्पोटको खोजीमा डुल्दै गर्दा दोलखाको मालुमा एक जना यस्ता युवा भेटिए । जसले आफु घरमा बच्चा हुर्काउने, खाना बनाउने र लुगा धुने जस्ता काम गर्थे र श्रीमतीलाई उच्च शिक्षाका लागि सघाउँदै । उनको यो उदाहरणीय कार्यलाई पनि सिआइएन सम्म पुर्‍याइयो । यस्ता युवाहरुको संख्या बढाउन सकेमा समाज रुपान्तरणमा निकै सहयोग हुने थियो । सामान्यतया महिलाले गर्ने काम र घरायसी धन्दा आफु गरेर श्रीमतीलाई घर वाहिरको काम र अवसरका लागि सहयोग गर्ने श्रीमानको खोजी गर्दा भीरकोट गाविसमा अर्का पुरुष भेटिए । खेतीपाती नै मुख्य आम्दानीको स्रोत थियो उनीहरुको । घर बाहिर र खेतीपातीको काम श्रीमतिको नेतृत्वमा हुन्थ्यो भने घरायसी धन्दा  श्रीमानले गर्थे । गोठमा गोबर सोर्ने देखि खाना बनाउने, खाजा बनाउने, घर सफा गर्ने गाई वस्तुलाई कुडो बनाउने जिम्वेवारी श्रीमानले लिएका थिए । उनीहरुको आवाज रेडियो सम्म पुगे पछि समाज रुपान्तरणको सानो सन्देश देश भर पुगेको थियो । यस्ता उदाहरणीय दम्पतिका कथा कति त हाम्रा वरीपरी लुकेर बसेका होलान । 
हुन त यो काम पुरुषको र त्यो काम महिलाको भनेर छुट्याइएको हुँदैन् । तर पनि हाम्रो समाजमा पुरुषले गर्न नहुने भनिएका काम दुबै मिलेर गर्दा सहज हुने मात्र होइन् । समाजका सकारात्मक सन्देश जाने गर्छ । रिर्पोटका सवाल पछ्याउँदै जादा हलो जोत्ने महिलाको खोजीमा लामो प्रयास गरे सफल हुन सकिन् । एक दिन टपरी बनाउने पुरुषलाई भेटेर रिर्पोट बनाउने सोच आयो दिमागमा । गाउँ घर तिर चाडवाड, मेला पात अनि विहे ब्रतबन्ध जस्ता कार्जेमा चाहिने दुना टपरी प्राय महिलाले बनाउने गर्छन् । सानामा आफ्नै गाउँ तिर ममिलाको हुलमा मिसिएर टपरी गाँस्ने एक जना पुरुषलाई देखेको थिए । तर रिर्पोटका लागि धेरै ठाउँ खोज्दा पनि टपरी गास्ने पुरुष फेला पार्न सकिएन् । त्यसैले यो प्रयास अहिले पनि जारी राखेको छु । किनकी ग्रामीण तहमा लुकेर वसेका यस्ता साना विषयवस्तुलाई मिडिया सम्म लैजादा समाज रुपान्तरणमा सघाउ पुग्न सक्छ । हामी महिलाका सवाल भन्दैमा ठुला ठुला विषयमा केन्द्रित हुन्छौ । 

यस्ता साना तीना कुरामा ध्यान दिने हाम्रो बानी छैन । तर समाजका यी यस्ता विषयले त्यो समाज कसरी अगाडी बढी रहेको छ भनेर हेर्न सजिलो हुने गर्छ । नेपालका अहिले ७५ जिल्ला मध्य ७२ जिल्लामा स्वतन्त्र रेडियोहरु प्रसारणमा आइसकेका छन् । कुल प्रसारणमा आएका रेडियोको संख्या तीन सय ३५ पुगेको छ भने अनुमति लिएका समेत रेडियोहरु गणना गर्ने हो भने त्यो संख्या तीन सय ९४ पुगी सकेको सरकारी तथ्याङ्क छ । यति धेरै रेडियोहरुले पक्कै पनि महिलाका सवालहरु उठाएका होलान् । ती रेडियोहरुमा कार्यरत झण्डै छ हजार भन्दा बढी रेडियोकर्मीहरुले महिलाका सवाललाई रेडियो मार्फत उजागर गर्दै आएका छन् । उनीहरुको यो प्रयासले समाज रुपान्तरण गर्न र महिला सशक्तिकरण गर्न सायद केही हिस्सा टेवा पुगेको होला । यति धेरै संख्यामा स्थापना भएका स्वतन्त्र रेडियोहरुमा छोरी, चेली र बुहारीहरुले रेडियोकर्मीको रुपमा काम गर्ने अवसर पनि पाएका छन् । उनीहरुले पनि आफ्ना सवाललाई रेडियो मार्फत पक्कै पनि उठान गरेका होलान् । महिलाहरुलाई यो भएन त्यो भएन भनेर गाली गर्नु भन्दा पनि सकारात्मक सन्देश बोकेका विषयलाई सञ्चारमाध्यमबाट उठान गर्नु राम्रो होला । 
त्यसो त दोखलामा जिल्ला पनि ४ वटा रेडियो स्टेसन स्थापना भइसकेका छन् । केही रेडियो स्टेसन स्थापनाको चरणमा छन् । रेडियो विकास सँगै दोलखामा सञ्चारकर्मीको विकासमा पनि तिब्रता आएको छ । महिला सञ्चारकर्मीको संख्यामा पनि उल्लेखिय रुपमा बृद्धि भएको छ । रिर्पोटिङ देखी सम्पादन र प्राविधिक सम्मको जिम्वेवारी समाल्ने महिला छन् दोलखाका रेडियो स्टेसनमा । आशा गरौ आगामी दिनमा महिलाका सवालहरु रेडियोमा झन् व्यापक रुपमा उठान हुने छ ।

Related

विचाररसाहित्य 6680033820857590967

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item