अभिभावक विहीन जनकपुर


सुरेश यादव,धनकपुरधाम ।

    धार्मिक सरोकार राख्ने मध्यपूर्वी नेपालको पुरानो शहर जनकपुरको प्रभाव राष्ट्रिय राजनीतिमा जहिलेपनि दबाब मुलक हुन्छ । कुनै मुद्दा सुनुवाई होस् वा नयाँ उद्घोषका लागि प्रायः सबै जसो दलले जनकपुरलाई राजनीतिक अखडा बनाएपनि यसको विकास र विस्तारको सवालमा भने उनीहरु उदासिन छन् । मुलुक संघीयतामा गएपछि मधेशको राजधानी जनकपुरलाई नै बनाउने कुरामा मधेशवादी देखि प्रमुख राष्ट्रिय राजनीतिक दलहरु पनि एकमत छन् । तर, राजधानी लायकको शहर बनाउने विषयमा भने कुनै दल कहिले गम्भिरता देखाएन । सद्भाव, धार्मिक, सहिष्णुता र ऐतिहासिक धरोहर बोकेको जनकपुरलाई सबैले उपभोग मात्रै गरे, समस्या थुपारे तर, समाधान कहिले दिएनन् ।

    गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादव जनकपुरवासी भएको नाताले उनलाई यहाँको पछिल्लो अवस्था हेर्दा रुन मन लाग्छ । जनकपुरको अहिलेको अवस्था हेर्दा आखाँबाट आशु आउँछ भन्ने राष्ट्रपति यादवले यहाँको विकासका लागि स्थानीयलाई जागरुक हुनुपर्ने बताउँछन् । ‘म दश वर्षको छँदा गाउँबाट पहिलो पटक जनकपुर आउँदा देखेको दृश्य याद गर्छु र अहिलेको अवस्था’ राष्ट्रपति यादवले नागरिकसँग भने ‘आकाश पतालको फरक भइसक्यो ।’ २००४ सालमा नेपाली काँग्रेससँगै स्थापना भएको जनकपुरको पहिलो उच्च मावि (अहिलेको सरस्वती नमुना उच्च मावि) को स्मरण गर्दै यादव भन्छन् ‘त्यतिबेला विद्यालय स्थापना गर्नेमा कोही बाहुन थिए त कोही यादव । कोही मधेशी त कोही पहाडी, कसैबीच भेदभाव थिएन सबैले हातेमालो गर्दै सम्पुर्ण समाजको हित हुने विद्यालयको निर्माणमा जुट्थे ।’
    भौतिक रुपमा पहिले जस्तो हुन नसकेपनि सबै जातजाति बीच सद्भाव र सामन्जस्यता कायम गर्न सके अहिले पनि जनकपुरलाई नमुना बनाउन सकिने उनको विश्वास छ । यसकालागि जनकपुरका व्यापारी, बुद्धिजीवी, नागरिक समाज, सबै दलका प्रतिनिधि र पत्रकारले अग्रसरता देखाउनुपर्ने उनको धारना छ । तर, राष्ट्रपतिको एक्लो चिन्ताले जनकपुरको मुहार भने फेरिनेवाला छैन ।
    प्रजातन्त्र स्थापना पछि जनकपुरका धेरैजसो नेता सत्तामा राम्रै स्थान पाएपनि संसदिय क्षेत्र वाहेक जनकपुरको विकासमा खासै ध्यान दिएनन् । राजनीतिमा पनि एउटै पार्टीका दुई धारका नेताहरुको राम्रै बचस्र्व रहेको जनकपुरको विकासका लागि कुनै नेता अग्रसर भएपनि खुट्टा तान्ने प्रवृतिले यहाँको विकासको बाटो अवरुद्ध भएको हो ।
    जनकपुरकै विकासका लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् गठन भएपनि राजनीतिक दलका नेता र कार्यकर्ता पाल्ने वाहेक खासै काम गर्न सकेको छैन । पछिल्लो एक वर्ष यता तिरहुतिया गाछी, रंगभूमि मैदान बाह्रविघा, गंगा सागर र धनुष सागरको सौन्दर्यीकरणको काम भइरहेको छ । भारतीय राजदुतावासको सहयोगमा भइरहेको यो काम सम्पन्न भएपछि जनकपुरको मुहार भने अवश्य फेरिने विश्वास बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष दिगम्बर रायको छ । अहिले नौ किलोमिटर दुरीमा फैलेको जनकपुरको रिंगरोडको दायरा बढाएर एक सय सात किलोमिटर बनाउन आवश्यक अध्ययन र मुल्यांकनको काम पनि शुरु भइसकेको छ ।
    केही दिन अघि मात्र जनकपुरबाट विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने जाँगरिला व्यक्तिहरु जनकपुर बनाउने नाममा संगठित भएका छन् । जनकपुर नागरिक सरोकार समितिको नामले एक जुट भएका तिनीहरुले जनकपुरलाई नमुना शहरको रुपमा विकास गर्ने संकल्प लिएका छन् । जनकपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका युवा व्यापारी रमेशकुमार साहले दुई वर्षमा जनकपुरको मुहार फेर्ने दावी गर्छन् । ‘जनकपुरलाई नमुना शहर बनाउन हामी संकल्पित छौं । दुई वर्षमा शहरको रुपै परिवर्तन गरेर देखाइदिन्छौं’ उनले भने । समितिमा जनकपुरका पुर्व निर्माण व्यवसायी, युवा, पत्रकार, वुद्धिजिवी र व्यापारीको सहभागीता छ । उनीहरुको यो अभियानलाई तन, मन र धनले सहयोग गर्ने सभासद एंव मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य सञ्जय साहले वचन दिएका छन् ।
    जनकपुरको मठ मन्दिर जीर्ण हुँदैछ । मन्दिर र धार्मिक स्थलको संरक्षण गर्ने जिम्मेवारी पाएका महन्थहरु र गुठी संस्थान स्वंय मठमन्दिरको जग्गा बेचविखनमा संलग्न रहेको आरोप समय समयमा व्यहोरिरहेका छन् । उनीहरुले धार्मिक सम्पत्ति हिनामिना गरी अर्थोपार्जनको रुपमा उपयोग गरेका छन् । जनकपुर शहरका भित्रि सडकहरुको कालोपत्रे उप्किएर धुलाम्मे बाटोमा जनकपुरवासी हिँड्न बाध्य छन् । त्यो सडक निर्माणकालागि सम्बन्धित निकाय मौन छ भने सरोकारवालाको तर्फबाट खासै दबाव दिने कार्य पनि हुन सकिरहेको छैन । 
    जनकपुर नगरपालिका स्रोतको अनुसार जनकपुरका भित्री सडकमा मात्रै पाँच वर्ष अघिसम्म कालोपत्रे रहेको करिब १२ किलोमिटर सडक अहिले ग्राभेलले छोपिएको छ । कालोपत्रे फुटेर पानी जमेको ठाउँ मर्मत गर्नुको साटो नगरपालिकाले ग्राभेल र माटो हालेर टालटुल पारेको देखिन्छ । ती सडकहरु सँधै धुलाम्मे हुन्छ । दुई वर्ष देखि धुलो उडिरहेको पिराडी चोक–भानु चोक सडक निर्माणकालागि स्थानीयले चक्काजाम गरेपछि नगरपालिका र सडक विभागले एक हप्ताभित्र सडक बनाइदिने प्रतिवद्धता जनाएपनि अन्य सडकको वारेमा चियोचर्चो छैन ।
    करिब डेढ लाखको हाराहारीमा जनसंख्या रहेको जनकपुर नगरपालिका कार्यालयमा २०६८ सालमा भएको जनसंख्याको तथ्यांक छैन । तथ्यांक कार्यालयले पनि सम्पुर्ण डाटा कलेक्शन भइनसकेको भन्दै अनुमानित डेढ लाख भनेको छ ।
    राजा जनकको कर्मभूमि तथा जानकीको जन्म स्थल जनकपुरको रामायण, वेद, पुराण, उपनिषद् र मिथिला महात्म्यमा धार्मिक महत्वको सँगै पवित्र धार्मिक तिर्थस्थलको रुपमा वर्णन तथा व्याख्या भएको छ । प्राचिन मिथिलाञ्चलको राजधानी रहेको जनकपुरमा देश विदेशका हिन्दु धर्मालम्बीहरुका लागि पवित्र तिर्थ स्थलको रुपमा परिचित भएको हो । यहाँ आयोजना हुने विवाह पञ्चमी, रामनवमी, जानकी नवमी, झुला, मध्यमा परिक्रमा र अन्तरगृह परिक्रमा, छठ पर्व तथा प्रत्येक महिना लाग्ने पुर्णिमा मेलामा नेपालको भित्री पहाडदेखि भारतको विभिन्न प्रदेशबाट हजारौंको संख्यामा तिर्थालुहरु मेला भर्न आउँछन् ।
    जनकपुरको मुख्य आकर्षण जानकी मन्दिर, विवाह मण्डप, मणि मण्डप राम मन्दिर, जनक मन्दिर, दुलहा दुल्हिन मन्दिर तथा गंगासागर, धनुष सागर लगायत ऐतिहासिक महत्व बोकेका तलाउहरु हुन् । जैन ग्रन्थ मिथिला तिर्थकल्प र महाकवि विद्यापति को भू परिक्रमा भन्ने ग्रन्थमा जनकपुरको धार्मिकता वारे वर्णन गरिएको छ ।
    ऐतिहासिक दृष्टिले जनकपुरको परिचय मिथिला पुरीबाट शुरु हुन्छ । मिथिला वैदिक कालदेखि नै प्रसिद्ध विदेह जनपदको राजा जनकको राजधानी थियो । मिथिला अर्थात विदेहको समृद्धि र राजा जनकको राजवंशको समृद्धि उपनिषद्को युगमा समेत उच्च थियो । विदेह राजागण धेरै पस्किृत तथा उच्च विचारका थिए । तर विदेहको समृद्धि वौद्धधर्मको उदयकालमा वैशाली (भारत सीतामढीमा पर्ने स्थान) मा लिच्छवी गणराज्यको विकासपछि मंद भएको थियो । यसपछि लगभग दुई हजार वर्षसम्म मिथिला इतिहास उपेक्षित रहयो । जनकपुरको रुपमा मिथिलाको खोज र पुनरउत्थानको कार्य मध्यकालको अन्तमा सन्यास सम्प्रदायका सन्त चतुर्भुज गिरी र वैष्णव सम्प्रदायका सन्त सुरकिशोर दासद्वारा भएको थियो ।

Related

फोटोखबर 6440940629503935138

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item