मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले सगरमाथा चढ्ने

काठमाडौ,  वैशाख ३१ ।

 विश्वको सर्वाेच्च शिखर सगरमाथमा विश्वका विभिन्न क्षेत्रका व्यक्तित्वहरुले आफ्नो पाइला स्पर्श गरिसकेका छन् । तर त्यस वर्गमा चिकित्सकहरु किन परेनन् ? के चिकित्सकमा साहस नपुगेर अथवा अन्य केही कारण भएर ?

यही प्रश्न मुटुरोगको उपचार र जनचेतनामा विगत २५ वर्षदेखि संलग्न हुँदै आएका चिकित्सक प्रकाशराज रेग्मीले गहिरोरुपमा मनन् गरे । अन्त्यमा निर्णयमा पुगे “मुटुको उपचार गर्ने चिकित्सकले किन साहस नदेखाउने ? किन सगरमाथमा चिकित्सकको क्षेत्रबाट विश्व रेकर्ड नबनाउने ?” 

यो कुरा चिकित्सक रेग्मीले स्पिड काजी शेर्पा अर्थात् काजी शेर्पालाई सुटुक्क सुनाए । सोलुमा मुटुरोगका बारेमा चेतना फैलाउने कार्यक्रममा चिकित्सक रेग्मीले प्रस्तुत गरेको कार्यपत्र देखेर काजी शेर्पाले मनमनै भनेछन्, “यो डाक्टरलाई म सगरमाथा बोकेर भए पनि चढाउँछु ।” 

हामीहरुको कुरा एउटै भयो । म पनि सरगरमाथा चुम्नेमा थिएँ, उहाँले पनि साथ दिन्छु भन्नु भयो । अमेरिकामा बसोबास गर्दै आएका शेर्पाले आज नेपाल हृदयरोग निवारण प्रतिष्ठानद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “अब मुटुको शल्यक्रिया गरेर निको पार्ने चिकित्सकहरुले पनि सरगरमाथमा चढ्छन् ।” 

प्रतिष्ठानको अगुवाइका अगामी वर्षको मार्च महिनामा चिकित्सक रेग्मीको अगुवाइमा काजी शेर्पा, पासाङ् शेर्पा, कामी शेर्पा, लाक्पा शेर्पा, डा नीमा नाम्गेल शेर्पासहितको टोलीले मुटु बचाउ सरगरमाथा आरोहण २०१३ शीर्षकमा सगरमाथा चढ्ने महत्वकाङ्क्षी योजना बनाएका छन् । 

ती योजनाबारे शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै चिकित्सक रेग्मीले मुटुरोगका बारेमा विश्वव्यापी जनचेतना जगाउन जागरण अभियानअन्तर्गत सगरमाथा उक्लन लागेका हौँ भन्नुभयो । 

आरोहण कार्यक्रम २०१३ को मार्च महिनाबाट सुरु भई मे महिनामा अन्त्य हुनेछ । बङ्गलादेशको राजधानी ढाकामा रहेको सुन्दर वन समुद्रबाट सो अभियान सुरु भई भारत हुँदै नेपालको सगरमाथाको चुचुरोमा पुगेर अभियान अन्त्य हुनेछ । 

यात्रामा करिब ९०० किलोमिटर पैदल र ७२५ किलोमिटर हवाई मार्ग रहेको छ । समुद्र सतहदेखि विश्वको अग्लो उचाइसम्म के कसरी मुटुको रोग लाग्छ, मुटुको रोग लाग्नै नदिन के उपाय गर्न सकिन्छ भनेर जनतालाई सो टोलीले जनचेतनाका माध्यमबाट सन्देश प्रवाह गर्नेछ । 

पत्रकार सम्मेलनमा चिकित्सक रेग्मीले भन्नुभयो— हाम्रो उद्देश्य नै बालबालिकाको घाँटीमा टन्सिल बढ्न नदिनुहोला, सूर्तीजन्य पदार्थको सेवन नगर्नुहोला, नुनचिनीभन्दा सागसब्जीमा जोड दिनुहोला, नियमितरुपमा व्यायम गर्नुहोला, रगतको परीक्षण समय समयमा गराई रहनुहोला र आवेशमा आई कुनै पनि कार्य नगर्नुहोला भनेर सर्वसाधारण जनतालाई सूचना दिनु हो । यी कार्य भएमा मुटुरोगले आक्रमण गर्ने सम्भावना कम हुन्छ । 



विश्व स्वास्थ्य संगठनका अनुसार करिब ५० प्रतिशत मुटुको रोग जनचेतना, ८० प्रतिशत जीवनशैली परिवर्तन गरेर रोकथाम गर्न सकिन्छ । चिकित्सक रेग्मीले यति कुरा जनतालाई बुझाउन सकियो भने यो अभियानले सार्थकता पाउँछ भन्नुभयो । 

सन् १९९८ मा २० घण्टामै सरगरमाथा चढेर विश्व रेकर्ड कायम गर्नुभएका साहसिक काजी शेर्पाले भन्नुभयो— मुटुरोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिन जनतालाई बढी सुसूचित गराउन आवश्यक छ । 

विश्व स्वास्थ सङ्गठनले सन् २०२० सम्ममा गरिब मुलुकका लागि मुटु उपचार अत्यन्त महँगो र महामारी नै फैलिने भनी भविष्यवाणी समेत गरेको छ । 

प्रतिष्ठानका महासचिव दीपेन्द्र पुरुष ढकालले जनचेतना जगाउन सकिएमा धेरै हदसम्म मुटुरोगको रोकथाम गर्न सकिन्छ भनेर जनचेतना जगाउने अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

Related

विविध 7416254619625954952

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item