दुर्गम गाउँको विद्यालयमा अधिक शुल्क

काभ्रे,  जेठ १ । सरकारले सामुदायिक तथा सरकारी विद्यालयमा निःशुल्क पठनपाठन गर्न पाउने व्यवस्था मिलाएको भए पनि काभ्रेको दुर्गम क्षेत्र मानिने डाँडापारि क्षेत्रका अधिकांश विद्यालयले भने अधिक मात्रमा भर्ना शुल्क लिइरहेका छन् ।

सरकारले कक्षा १ देखि १० सम्म निःशुल्क पढ्न पाउने व्यवस्था  भए पनि काभ्रेका डाँडापारि, कोसीपारिका र दुर्गम क्षेत्रमा पर्ने साल्मेचाकल गाविस तालढुङ्गास्थित जनविकास उच्च माध्यमिक विद्यालयले चर्काे शुल्क लिइरहेको छ । 

ती विद्यालयले कक्षा ६ देखि १० सम्मलाई सहयोगस्वरुप ४५० सम्म लिएको विद्यार्थीको भनाइ छ । उनीहरुका अनुसार ‘कक्षा ६ देखि ८ सम्मलाई ३५० र कक्षा ९ र १० लाई ४५० का दरले शुल्क लिने गरेको छ । 

कक्षा १० मा अध्ययनरत बुद्ध लोप्चनले भने –‘हामीलाई भर्ना शुल्क भनेर उल्लेख नगरेता पनि तोकिएको शुल्क बुझाएमा विद्यालयमा अध्ययन गर्न नै पाउँदैन ।’ विद्यालयका प्रधानाध्यापक देशबहादुर लामा विद्यालयको भौतिक सामग्री र खेलकुद सामग्री खरिदका लागि सहयोगस्वरुप लिने गरेको बताउनुहुन्छ ।

जिल्ला शिक्षा अधिकारी दिननाथ गौतमले नियमित अनुगमनमा जाने र यदि त्यस्तो तथ्य फेला पारेमा तत्काल कारबाही गरिने बताउनुभयो । ‘शिक्षा कार्यालयले सरकारी नियमविपरीत शुल्क वृद्धि गर्ने अधिकार दिएको छैन, मनोमानी ढङ्गले गर्छ भने शिक्षा विभागमा चिट्ठीसहित पठाउने छौँ’– अधिकारी गौतमले भन्नुभयो । 

यसैगरी, काभ्रेको डाँडापारिस्थित बाल्टिङ गाविसमा बसोबास गर्दै आइरहेका लोपोन्मुख जाति हायु समुदायका बालबालिकासँग विद्यालयले शुल्क लिएको छ । त्यहाँस्थित पञ्चकन्या उच्च माध्यमिक विद्यालयमा अध्ययनरत लोपोन्मुख हायु समुदायका बालबालिकासँग फर्निचर र खेलकुद सामग्रीको नाममा यसरी शुल्क लिएको हो ।

हायु समुदायका अभिभावकले भने आफूहरुलाई राज्यले लोपोन्मुख जातिको संरक्षण गर्नका लागि भन्दै मासिक रुपमा भत्ता उपलब्ध गराई सहयोग गरिरहेको अवस्थामा विद्यालयले उल्टै शुल्क लिएर आफूहरुमाथि अन्याय गरेको बताएका छन् ।

सो जातिलाई राज्यले लोपोन्मुख जातिलाई भत्तास्वरुप मासिक ५०० का दरले उपलब्ध गराउँदै आएको छ । शिक्षामा थप सुविधासहित अवसर प्रदान गरिदिनु पर्नेमा उल्टै शुल्क उठाएर आफूहरुलाई समस्यामा पार्न खोजेको उनीहरुको भनाइ छ । 

‘मैले नै आफ्नो छोरीलाई कक्षा दुईमा भर्ना गर्नका लागि २२५ रुपैयाँ शुल्क तिरेर भर्ना गर्नुप¥यो’–स्थानीय ज्ञानबहादुर हायुले भने । हामीलाई राज्यले समेत भत्ता उपलब्ध गराएर सहयोग गरिरहेको अवस्थामा हामीसँग शुल्क उठाउनु हामीलाई अन्यायमा पार्नु हो’–उनले भने । यसरी अरू विद्यार्थीसँगै शुल्क तिर्नेमा १५ जना हायु समुदायका बालबालिका रहेका छन् ।

विद्यालयले भर्ना शुल्क नै भनेर उल्लेख नगरेता पनि उनीहरुले तोकेअनुसारको शुल्क तिर्न अभिभावकहरु बाध्य छन् । विद्यालयले भने विद्यालयको भौतिक अवस्था सुधारका लागि यसरी शुल्क लिएको जनाएको छ । यस बारेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश लामासँग पटकपटक सम्पर्क गर्दा हुन सकेन ।

विद्यालय व्यवस्थापन समितिका सदस्य रामबहादुर लामा (बलबहादुर)ले विद्यालयले खेलकुद सामग्री खरिद र फर्निचर मर्मतका लागि भनेर त्यसरी शुल्क लिने निर्णय गरेको बताउनुभयो 

जिल्ला शिक्षा अधिकारी दिननाथ गौतमले विद्यालयस्तरको कुनै पनि विद्यार्थीलाई कुनै पनि बहानामा शुल्क लिने नीति नै नभएकाले आवश्यक अनुगमन गरी आवश्यक कारबाही गरिने बताउनुभयो ।

Related

विविध 861005681350220784

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item