हाइटीमा अझै ‘कलेरा ब्रदर्स’को लाञ्छना खेप्न बाध्यछन् नेपालीहरु

http://sindhulidarpan.blogspot.com/2012/05/s_2019.html
नारायण न्यौपाने,हाइटी, जेठ १० । द्वन्द्वग्रस्त क्यारेबियन मुलुक हाइटीमा शान्ति कायम गर्न तैनाथ नेपाली सेना र त्यहाँ कार्यरत अन्य नेपालीले समेत नेपाल सरकारको उदाशीनताका कारण अझैसम्म पनि अनावश्यकरुपमा “कलेरा ब्रदर्स” को संज्ञा व्यहोर्नु परिरहेको छ ।
केही समयअघि हाइटीमा फैलिएको हैजाका सन्दर्भमा नेपाल र नेपालीको गौरबको प्रतीकको रुपमा रहेको नेपाली शान्तिसेनाप्रति लगाइएको लाञ्छनालाई नेपाल सरकारले ठीक समयमा राजनीतिक तथा कुटनीतिक माध्यमबाट मेटाउन आवश्यक पहल नगर्दा हाइटीमा हैजाको महामारी साम्य भएको वर्षाै बितिसक्दासमेत नेपालीमाथिको ‘कलेरा ब्रदर्स’को लाञ्छना कायमै रहन गएको हो ।
सन् २०१० मा आएको महाभूकम्पमा परी तीन लाख मानिसको मृत्यु हुनुका साथै १० लाखभन्दा बढी प्रभावित हुनुपरेको पीडा नसेलाउँदै हाइटीमा महामारीको रुपमा फैलिएको हैजाबाट सात हजार व्यक्तिको मृत्यु भएको थियो । हैजाबाट पाँच लाखभन्दा बढी मानिस प्रभावित भएका थिए । हाइटीको राजधानी पोर्ट ओ प्रिन्सभन्दा ८० किलोमिटर उत्तर सेन्टमार्कमा हैजा फैलिएको थियो ।
हैजाको महामारी फैलिएको घटनालाई नेपाली सेनाको ब्यारेकसँग जोडेर हेर्ने काम भयो । जसले गर्दा नेपाली सेनालगायत त्यहाँ कार्यरत अन्य नेपालीलाई समेत काम गर्ने वातावरण असहज बन्न गयो ।
हैजा फैलिएको घटनाले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत व्यापक चर्चा पाएको थियो । त्यसपछि नेपालीलाई हेर्ने दृष्टिकोणमा हाइटीवासीमा परिवर्तन देखियो ।
सो घटनालाई लिएर यहाँ कार्यरत संयुक्त राष्ट्रसङ्घको मिसनलगायत राष्ट्रसङ्घको मुख्यालयमा व्यापक छलफल भयो, अनुसन्धान भयो । तर हैजा फैलाउनमा नेपाली सेनाको दोष कहीँकतैबाट प्रमाणित हुन सकेन । राष्ट्रसङ्घले त्यस मामलामा नेपाली सेना निर्दोष रहेको प्रतिवेदनसमेत सार्वजनिक ग¥यो तर स्थानीयहरुमा सुरुमा परेको नकारात्मक छाप भने अझै मेटिन सकेको छैन ।
हैजालाई नेपाली सेना र यहाँ कार्यरत अन्य नेपालीसँग जोडेर हेर्ने प्रवृृत्तिले काम गर्न तथा यहाँको ग्रामीण भेगमा हिँड्डुल गर्नसमेत असहज अनुभव गर्नुपरेको संयुक्त राष्ट्रसङ्घको मिसन हाइटीमा कार्यरत इन्जिनियर प्रकाश न्यौपाने बताउनुहुन्छ ।
‘नेपालीलाई हैजाँसग जोडेर हेर्ने, अनि प्रचारप्रसार गर्ने काम यहाँका गैरसरकारी संस्थाले गरेका हुन, जुन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले वास्तविकता नबुझिकनै समाचार सम्प्रेषण गरे र त्यसैलाई स्थानीयवासीले ग्रहण गर्न पुगेपछि हामीमाथि अनावश्यक लाञ्छना लगाउने काम भएको हो,’ त्यहाँ काम गरेर फर्केका नेपाली सेनाका एक उच्च अधिकृतले भने ।
स्थानीय मिरावोलेका मेयरले ‘नेपालीहरु फोहरी हुन्छन्, त्यसकारण उनीहरुबाटै हैजा फैलाएको हुन सक्छ’ भन्ने अनुमानित आशङ्काको अभिव्यक्ति दिएपछि अनाहकमा नेपालीमाथि त्यो लाञ्छना लाग्न गएको र राष्ट्रसङ्घले निर्दोषिताको प्रतिवेदन दिएपनि लाञ्छना मेटिन नसकेको बताइन्छ ।
यहाँ कार्यरत गैरसरकारी संस्थाहरुले पनि त्यसै हल्लालाई उचाल्ने काम गरेका र स्थानीय आमसञ्चार माध्यमले पनि त्यसैलाई प्रचारप्रसार गरेको नेपाली सेनाका अर्का अधिकृत बताउँछन् । नेपाली सेनासँग जोडेर गलत प्रचार गरिएको विषयलाई नेपाली सेनाको सैनिक मुख्यालयले भने पटकपटक खण्डन गरेको थियो ।
त्यस घटनाबारेमा राष्ट्रसङ्घ र स्थानीय मिसनले समेत नेपालको पक्षमा ठूलो सहयोग गरेको नेपाली सेनाका महासेनानी कृष्णमान श्रेष्ठ बताउनुहुन्छ । त्यहाँ फैलिएको हैजाको जीवाणु दक्षिण एसियाली मुलुकमा पाइने हैजाको जीवाणुसँग मिल्दोजुल्दो भएपनि नेपाली सेनाबाटै फैलिएको भनेर किटान गर्न नसकिने प्रतिवेदन अमेरिकाको हार्डवर्ड विश्वविद्यालयले दिएको थियो ।
नेपाली सेनाबाट हैजा फैलिएको भ्रामक हल्ला गरिएता पनि हाइटीमा त्यसबेला कार्यरत नेपाली सेनाका कुनै पनि जनशक्तिमा हैजाको प्रभाव देखिएको थिएन । महाभूकम्प गएपछि उद्धार र सहयोगका लागि दक्षिण एसियाबाट हजाराँै मानिस हाइटीमा ओइरिएका हुनाले त्यस्ता मानिसबाट हैजाको जीवाणु फैलन गएको हुनसक्ने त्यहाँ कार्यरत नेपालीको भनाइ रहेको छ ।
मिरावोलेमा नेपाली सेना ७०० को सङ्ख्यामा झन्डै सात वर्ष बसेर शान्तिस्थापना कार्यमा उल्लेख्य योगदान दिएको थियो । संयुक्त राष्ट्रसङ्घको हाइटीमा रहेको बहुराष्ट्रसङ्घीय सेना कटौती गर्ने निर्णयअन्तर्गत मिरावोलेमा रहेको नेपाली सेनाका गण हटाइ सकिएको छ । नेपालले संयक्त राष्ट्र सङ्घलगायतका अन्तर्राष्ट्रिय निकायमा गएर बोल्न गौरबको विषय नै शान्तिसेना हो । शान्ति सेनामा खटिएको नेपाली सेनाका बारेमा आएका र आउनसक्ने नकारात्मक र आधारहीन टीकाटिप्पणीका बारेमा ठीक समयमा ठीक तरिकाले हाम्रो सरकारले राजनीतिक र कुटनैतिक माध्यमबाट समस्या समाधानका लागि पहल गर्नुपर्ने आवश्यकता देखिएको छ ।
‘हाइटीको सवालमा भने हैजाको बिषय नेपालीसेनासँग जोडेर प्रचारप्रसार गरे लगत्तै नेपाल सरकारको उच्चतह हाइटीमा आएर यहाँका सरकारी तथा राजनीतिक नेतृत्व तहमा छलफल गरेर नेपालीबाट यो घटना भएको होइन भन्नेबारे यहाँका आम जनतामा सन्देश फैलाउन पाएको भए अनावश्यकरुपमा नेपाली देख्ने बित्तिकै ‘कलेरा ब्रदर्स’को आरोप खेप्न पर्ने थिएन’ त्यहाँ कार्यरत नेपाली सेनाका महासेनानी सीताराम खड्का बताउनुहुन्छ ।
हाइटीमा हाल गरुढ दलगणका प्रमुख सेनानी कृष्ण जिसीको नेतृत्वमा ३५० जना नेपाली सैनिक तैनाथ रहेको छ । करिब १५० को सङ्ख्यामा नेपाल प्रहरी तथा स्टाफ कर्मचारीको रुपमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ३२ र १३ जना अन्य सर्वसाधरण संयुक्त राष्ट्रसङ्घीय मिसन हाइटीमा कार्यरत छन् । हुन त हाइटीका राजनीतिक दलहरुले संयुक्त राष्ट्रसङ्घीय मिसनलाई त्यहाँबाट फिर्ता पठाउने अभियानको रुपमा हैजाको विषयलाई निहुँ बनाएको हुन सक्ने भनाइ पनि उत्तिकै विचारणीय रहेको बुझ्न सकिन्छ ।
प्रत्येक वर्ष संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने क्रममा न्यूयोर्कमा हप्ताँै बिताउने नेपालका राजनीतिक नेता तथा सरकारका उच्च प्रतिनिधि त्यहाँबाट विमानबाट मात्र दुईघन्टाको दूरीमा नेपाली सेना शान्तिस्थापनार्थ खटिएको हाइटीमा गएर उसको गतिविधि अवलोकन गर्ने अनि सम्बन्धित देशको सरकारसँग छलफल गर्ने परिपाटी सुरु गर्नुपर्ने आग्रह हाइटीमा कार्यरत नेपालीको रहेको छ ।
हाइटीमा तैनाथ नेपाली सेना हुन वा अन्य नेपालीहरु अझै पनि नेपाल सरकारले राजनीतिक तवरबाट उक्त आरोपको बलियो प्रतिवाद गर्न हाइटीको भ्रमण गरी समस्या सुल्झाउनुपर्ने टड्कारो आवश्यकता औँल्याउँछन् । नेपाल र नेपालीको प्रतिष्ठासँग जोडिएको यस्तो संवेदनशील विषयमा पनि नेपालका राजनीतिक र कुटनीतिक जिम्मेवारीमा रहेका निकाय र पदाधिकारीमा बेवास्ता रहनुलाई स्वभाविक मान्न सकिदैन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !