एमाओवादीद्वारा लोकतन्त्रमा प्रहार

http://sindhulidarpan.blogspot.com/2012/05/s_2456.html
काठमाडौं, जेठ १५। संबिधानसभा बिघटनसंगै नयाँ संबिधानसभाको निर्वाचनको घोषणा गर्ने सरकारी निर्णयको बिरोध गरिरहेका कांग्रेस, एमाले लगायतका दलहरुले राष्ट्रिय सहमतिको सरकारमा जोड दिएका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा आज बसेको कांग्रेस, एमाले लगायतका दलहरुको बैठकले प्रधानमन्त्री बाबुराम भट्टराईले पदबाट राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार बनाउने वातावरण निर्माण गर्न आग्रह गरेका हुन् ।
सहमतिबिना निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्री भट्टराई र एमाओवादीको प्रबृत्तिको बिरोध गर्ने निर्णय समेत उनीहरुले गरेका छन् । पाँच दलको मंगलबार पुनः बैठक बसेर एमोवादीको सत्ता कब्जागर्ने रणनीतिका बिरुद्ध साझा कार्यक्रम सहित अगाडि बढ्ने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले जानकारी दिए ।
‘एमाओवादीको अधिनायकवादी शैलीका बिरुद्धमा हामी पाँच दल साझा कार्यक्रमका साथ प्रस्तुत हुन सहमत भएका छौ,’ बैठक पछि कांग्रेस नेता के.सी.ले भने, ‘एमाओवादीको सत्ताकब्जाको रणनीति पुरा हुन दिदैनौ ।’
कांग्रेस सभापति सुशील कोइरालाले एमाओवादी लोकतन्त्रका बिरुद्धमा एकलौटी ढंगले जान खोजेको आरोप लगाए । उनले एमाओवादीको लोकतन्त्रको रक्षा गर्दै पाँच दलले संयुक्त रुपमा त्यसको प्रतिवाद गर्नुपर्ने बताएका छन् । एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार बनाएर निर्वाचन गर्नुपर्ने बताए । उनले एमाओवादीले सोचे जस्तो सत्ताकब्जाको रणनीति बनाएको छ भने त्यसलाई पुरा हुन नदिने बताए । निर्वाचनमा भाग लिनु हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष खनालले भने, ‘लोकतान्त्रिक पद्धतिमा एमालेले भाग लिन्छ, तर सत्ताकब्जा गरेर हुने निर्वाचनको कुनै अर्थ छैन ।’बैठकमा कांग्रेस, एमाले, राप्रपा, राजपा, राष्ट्रिय जनमोर्चा लगायतका दलका नेताहरुको सहभागिता रहेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !