आज २५ सय ५६औं वुद्धजयन्ती
http://sindhulidarpan.blogspot.com/2012/05/s_4097.html
काठमाण्डौ,वैशाख २४ ।
आज २५ सय ५६औं वुद्धजयन्ती आज नेपालमा बिभिन्न कार्यक्रम गरी मनाइदैछ । देशभरका बिभिन्न स्थानमा रहेका बौद्व विहारहरुमा विहानैदेखि बौद्व धर्मावलम्बीहरुले बिभिन्न कार्यक्रम गर्दैछन् । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले श्रद्धा र भक्ति दर्शाउछन् । नेपालको कपिलवस्तुमा जन्मिएर विश्वमा शान्ति, अहिंसा र सद्भावको सन्देश फैलाउने बुद्धको योगदानको आज विशेष स्मरण गरिन्छ । आज कपिलबस्तुको लुम्बिनी, काठमाडौंको स्वयंभू, बौद्ध लगायत स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
राष्ट्रपति डा रामवरण यादवले महामानव गौतम बुद्धको २५ सय ५६ औँ जन्म जयन्तीको उपलक्ष्यमा एक शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बौद्ध धर्माबलम्वीहरू एवम् समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति यादवले आजको यस पवित्र दिनले नेपालका सम्पूर्ण धर्माबलम्वी, जातजाति, भाषाभाषीलाई एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गर्न र देशमा शान्ति तथा सुव्यवस्था गर्न प्रेरित गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति परमानन्द झाले पनि शान्ति र अहिंसाका प्रतिमूर्ति एवम् अग्रदूत भगवान गौतम बुद्धले देखाउनुभएको सद्मार्ग सबैका लागि सदैव अनुकरणीय र मननीय रही आएकोभन्दै शुभकामना दिनु भएको छ ।
यसैबीच प्रधानमन्त्री डा बाबुराम भट्टराईले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगत्को कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नुभएको बोधीज्ञान आजसम्म पनि उत्तिकै शाश्वत रहेको बताउनुभएको छ । पच्चीस सय ५६ औँ बुद्धजयन्तीका अवसरमा दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री डा भट्टराईले बुद्धको दर्शन कुनै एक सम्प्रदायको लागि मात्र नभई सम्पूर्ण मानव कल्याणका लागि भएको र यस दर्शनले भविष्यमा पनि मानव कल्याणमै योगदान दिइरहने विश्वास व्यक्त गर्नुभएको छ । बुद्व जयन्तीको अवसरमा बिभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले पनि छुट्टाछुट्टै शुभकामना सन्देश दिनु भएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !