सरकारको नेतृत्व पौडेलले नै गर्नुहुन्छ:सुजाता
http://sindhulidarpan.blogspot.com/2012/05/s_4613.html
काठमाडौँ, वैशाख २३ ।
नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले नयाँ संविधान जारी भएपछि आफ्नो पार्टीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारको नेतृत्व नेकाँ संसदीय दलका नेता रामचन्द्र पौडेलले नै गर्ने बताउनुभएको छ ।
आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो– ‘यो विषयमा पार्टीभित्र कुनै विवाद नै छैन, त्यसैले संसदीय दलका नेताका हैसियतले सरकारको नेतृत्व पौडेलले नै गर्नुहुनेछ ।’ प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा बन्न लागेको सहमतिको सरकार कसको नेतृत्वमा जान्छ भन्ने जिज्ञासामा नेत्री कोइरालाले सरकारमा को–को जाने भन्ने भन्दा पनि शान्ति–प्रक्रिया र संविधान निर्माणका बाँकी काम पूरा गर्ने विषय महत्वपूर्ण हो भन्नुभयो ।
स्मरणीय छ, प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच यही वैशाख २१ गते भएको पाँचबुँँदे सहमतिमा अगामी जेठ १४ गते संविधान जारी भएपछि नेकाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण हुने उल्लेख गरिएको छ । नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री डा भट्टराईको नेतृत्वमा बन्न लागेको सहमतिको सरकारमा आफ्नो पार्टी सहभागी हुने जानकारी दिँदै भन्नुभयो–‘पाँचबुँदे सहमतिमा हस्ताक्षर गरेर राष्ट्रिय सहमतिको सरकारमा जाँदैनौँ भन्न मिल्छ र ?’
एकीकृत नेकपा (माओवादी)का नेता हरिबोल गजुरेलले तीन दल र संयुक्त लोकतान्त्रिक मोर्चाबीच शान्ति प्रक्रिया र संविधान निर्माणका बाँकी काम पूरा गर्न मेहनतका साथ भएको पाँचबुँदे सहमतिको पालना गर्न आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘डा भट्टराईको नेतृत्वमा बन्ने सहमतिको सरकारलाई बलियो बनाउनुपर्छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !