हामी सबै नेपाली

http://sindhulidarpan.blogspot.com/2012/05/s_4665.html
भावना गुरुङ,काठमाण्डौ ।
रामेश्वर यादवको घर रौतहट जिल्ला हो । यादव राजधानी छिरेको २ वर्ष भयो । राजधानी छिर्नुको एउटै उदेश्य व्यापार व्यवसाय गर्नु हो – उनी भन्छन् । छालाको रंग,बोलीको लवज र पहिरन शैलीले उनी तराइका बासिन्दा हुन् भन्ने सजिलै अड्कल काट्न सकिन्छ । उनी राजधानीको अनामनगरमा एउटा टहरोमा आफ्ना ४ सदस्यसहित वस्दै आइरहेका छन् । उनी काठमाण्डौको व्यस्त सडकमा फालिएका प्लास्टिक र धातुहरु टिप्छन् । त्यसलाई प्लास्टिक तथा धातुका सरसामान उत्पादन गर्ने उद्योगसम्म पु¥याउँछन् । त्यसवापत भएको आम्दानीवाट आफ्नो गुजारा चलाइरहेका छन् उनी । राजधानीका व्यस्त गल्लीहरुमा थुपारिएका फोहोरवाट प्लास्टिक , धातुहरु छान्नु,विक्रि गर्न उद्योगसम्म पु¥याउनु कुनै गाह्रो विषय भएन उनको लागी । आफुले गर्ने पेशाप्रति उनी सन्तुष्ट छन् । तर टाउको दुःखाइ त्यहाँनेर छ,जतिवेला उनलाई दाजु अथवा भाइ भनेर होइन ओ भैया भनेर खिसिटिउरी गरिन्छ । मदिसे धोती भनेर गालिगलौज गरिन्छ । काले डिङगर भनेर आत्मसम्मानमा आँच पु¥याइन्छ । यादव भन्छन् “हामीलाई कालो छाला भएका भनेर हेपिन्छ । मधेसका मान्छे नेपाली भाषा जान्दैनन् भनेर अनेकथरी भन्छन् । हामी मधेसका भयौँ त के भयो ? मधेस चैँ नेपाल होइन ?” रामेश्वर यादव त एउटा प्रतिनिधी पात्र मात्र हुन् ।
मधेसीमूलका धेरै मानिसहरु गुजाराका लागी राजधानी लगायत पहाडका धेरै जिल्ला भित्रिएका छन् । उनीहरुले ती ठाउँ गएर अपनाउने पेशा भनेको व्यापार व्यवसाय नै हो । पहाडिया मूलका नेपालीहरु सडकविच वसेर व्यापार गर्न,फोहोर टिप्ने,त्यसलाई प्रसोधन गर्ने लगायतका काम गर्न हिचकिचाउँछन् । त्यसैले हामी जहाँजहाँ पुग्छौँ त्यहाँ तरकारी वेच्ने,उद्योगधन्दाका मजदुर,फोहोरमैला उठाउने,थोत्रा भाँडाकुँडा एंव धातुहरु साट्ने मानिसहरु प्राय मधेसी मूलका भेट्छौँ । उनीहरु सानैदेखि त्यस्ता काम गर्न लजाउँदैनन् । तर पहाडिया मूलका केही मानिसहरुले भने उनीहरुको पेशाको अवमूल्यन गर्ने गरेको उनीहरु वताउँछन् । जन्मजात कालो छाला र मातृभाषाकै कारण उपेक्षित हुनपरेको उनीहरुको गुनासो छ ।

नेपाल विश्वमा अनेकन फूलको सुन्दर वगैँचाको रुपमा चिरपरिचित छ । विभेदरहित राष्ट्रको रुपमा नेपालले बनाएको परिचय उल्लेखनीय मान्नुपर्छ । जनआन्दोलन २०६२÷६३ पछि जातिय,भाषिक,धार्मिक अधिकारहरु खोज्ने क्रममा यो सुन्दर फूलवारीको स्वरुप परिवर्तन हुने त होइन भन्ने शंकाहरु उब्जिरहेका छन् पनि । एकताका अधिकारकै नाममा पहाडिया र मधेसी मूलका नेपालीहरुविच दरार उत्पन्न भएको थियो । जुन समयमा मधेसीहरुलाई पहाड पस्न र पहाडियाहरुलाई मधेस पस्न हम्मेहम्मे परेको थियो । भलै त्यो समयको ज्यादती अहिले केही हदसम्म शान्त भएको छ । तर अझै पनि छालाको रंग र भाषाकै आधारमा हुने विभेदको पूर्णरुपमा अन्त्य भइसकेको भने देखिदैँन ।
जनकपुर स्थायी घर भएका उमेश यादव राजधानीकै सिनामंगलमा बस्छन् । उनी ठेलागाढामा तरकारी बेच्छन् । उनी घरघरमै तरकारी पु¥याउँछन् । “पहिला भाषाको कारण व्यापार गर्न धेरै गाह्रो भयो । मैले बोलेको सुन्ने वित्तिकै सबैजना हाँस्थे । खिज्याउँथे अनि मधेसी आयो,धोती आयो भन्थे । ” उनले पुराना दिन सम्झदै भने “पहिलोपटक राजधानी आउँदा साह्रै नरमाइलो लाग्यो । यहाँ आउँदा मलाई अर्काको देश पुगेजस्तै लाग्यो । हाम्रो मर्म कसैले त बुझ्थे तर धेरैले चैँ खिज्याउँथे । ” यस्तै पीडा सुनाउँिछन् जनकपुर पिडारीचोक घर भइ हाल राजधानीकै नयाँबानेस्वरचोकमा तरकारी विक्री गर्दै आएकी सकुनीदेवी । उनी भन्छिन् “हामीले गरि खाएको देखिसहदैनन् । उनीहरु नै हाम्रो भाषा वुझ्दैनन् अनि उल्टै हामीलाई गाली गर्छन् । हामीले लगाउने कपडा देखेर हाँस्छन् । तरकारी बेच्दा पनि हामीले ठगेको भनेर गाली गरेर जान्छन् । ”
मधेसी मूलवाट रोजगारीका लागी राजधानी र अन्य पहाडका जिल्लामा पुगेका सामान्य रोजगारहरुलाई मात्र होइन कतिपय सरकारी कर्मचारीलाईसमेत होच्याउने गरेको उनीहरु गुनासो गर्छन् । मधेसी समुदायका जतिसुकै पढेलेखेका भएपनि “हाम्रो हाकिम त मधेसी ” भनिन्छ । “हाकिम पहाडिया भयो भने कसैको टाउको दुख्दैन तर कुनै मधेसी उच्च पदमा पुगोस् वा सामान्य रोजगार होस् त्यहाँनिर खोजिनिति हुन्छ ” नाम नखुलाउने सर्तमा एक सरकारी कर्मचारीले गुनासो गरे । उनले भने “नेपाल विश्वमा सबैथरीको फूलको साझा फूलबारी भनेर परिचित छ । तर पनि मानवता र भाइचारा विस्तारै जाति,वर्ण,धर्मको नाममा टुक्रिदैँछ । जनआन्दोलन पछि सबैले सबैखाले अधिकार खोज्न थालेका छन् । जसले गर्दा पहाड र तराइका मानिसहरुविचमा दरार उत्पन्न भएको छ । ” विराटनगर घर भइ राजधानीमा पढ्दै गरेकी रिना चौधरी भन्छिन् “हामीलाई धेरैले राम्रो मान्दैनन् । कलेजमा साथीहरुले हाम्रो छालाको खिल्ली उडाउँछन् । केटीहरुलाई झनै बढी हेप्छन् । आफ्नै देशभित्र उपेक्षित हुनुपर्दा धेरै दुःख लाग्छ । आफ्नै देशभित्र पनि अरु देशको नागरिक भएर बसेजस्तै लाग्छ । ” अशोक कुमार यादवको घर जनकपूरको रमानन्दचोक हो । उनी अहिले पढाइको शिलशिलामा राजधानी बस्छन् । यादव पनि मातृभाषाकै कारणले सास्ती भोग्नु परेको बतउँछन् । भन्छन् “राजधानीका मानिसहरुले हामीलाई इण्डियन भनेर हेप्ने गर्छन् । हुनत हामी नेपाली हौँ । की मधेस नेपाल भित्र पर्दैन ? उनी दुखेसो गर्छन् “म नेपाली भएर पनि भारतीय भनेर हेपिनुपर्दा साह्रै दुःख लाग्छ । हामीहरु आफ्नै देशभित्र आफ्नै परिचयको खोजीमा रुमल्लिरहकेका छौँ । ” कुनै ठाउँमा रोजगारी गर्न गइयो भने पनि विभेद गर्ने उनको भनाइ छ । “पढेलेखेकै वर्गले समेत मधेसी भनेर विभेद गरेको म स्वयंले भोगेको छु” यादव दुखेसो पोख्छन् ।
मधेसी मूलका नेपालीहरु पस्दा मात्रै होइन पहाडी जिल्लाका मानिसहरु तराइ झर्दा पनि समस्या नहुने भने होइन । गोर्खा एफएममा कार्यरत संचारकर्मी लालगुल्शन “राजु”का अनुसार गोरो छाला भएकाहरु तराइ पस्दा पनि अलि फरक ढङगले चाँहि हेरिन्छ रे । “उनीहरु आफूजस्तै छाला,हाउभाउ र भाषा भएकाहरुलाई आफ्नो ठान्ने गर्दछन्” राजु भन्छन् –“अचम्मको कुरो त मेरो नाम तराइको बासिन्दासँग मिल्छ । जसले गर्दा उनीहरु मलाई नजिकको ठान्छन् । ”
राष्ट्रिय लोकसंचारकर्मी नेपालका अध्यक्ष संचारकर्मी तथा कलाकार गोविन्द गिरी भन्छन् “हिमाली तराइतिर झर्दा होस् या तराइका मानिसहरु पहाडतिर र शहरतिर आउँदा होस् या पहाडका मानिसहरु हिमाल या तराइतिर जाँदा होस् हामी जहाँ पुगेपनि पहिला नेपाली हौँ । हामीले एकअर्कालाई सम्मान र सभ्य व्यवहार गर्नुपर्छ । उनी भन्छन् “हाम्रो पहिचान हाम्रो आफ्नै विविध संस्कृती हो । जसको संरक्षण र सम्बद्र्धन आजको आवश्यकता हो । जात र छालाको आधारमा गरिने कुनै पनि विभेद नेपाल र नेपालीको हितमा छैन । यो त अबुझ र असभ्यहरुले गर्ने व्यवहार हो । ” सानो भूगोल नेपालमा थरीथरी भाषा संस्कृती,भेषभुषा,रितिरिवाज अनि हिमाल पहाडदेखी तराइका हरिया फाँटहरु पाएकोमा गर्व गर्नुपर्ने उनी वताउँछन् ।
उनी भन्छन् “यसको महत्व वुझ्दै हामी नेपालीले देश र जनताको हितमा सदुपयोग गर्न सक्यौँ भने मात्रै सवल र सम्बृद्ध नेपाल निर्माण हुन सक्छ । पर्यटन उद्योगको विकास हुन सक्छ । ”
पहाडका मानिसहरु तराइ जाँदा र मधेसका मानिसहरु पहाड पस्दा विदेशीलाई जस्तो व्यवहार गरिने कुरामा संचारकर्मी राम अविरल पनि सहमत छन् । भन्छन् “यो सिमित राजनैतिक स्वार्थ पूरा गर्नका लागी राजनितिज्ञहरुले नै उव्जाएको समस्या हो ,जसको छाप पढेलेखेका समुदायदेखी सामान्य मजदुरसम्म पुग्न गएको छ । ” यदि राज्य विभाजनको कुरा नउठाइएको भए यस्तो विभेद जन्मने थिएन अविरल भन्छन् “तेरो मेरो भन्दा पनि हामी हाम्रो हो भन्ने खालको भावना सबैमा जागृत हुने हो भने सबैखालको विभेदको अन्त्य हुनसक्छ ।”
भौगोलिग हिसाबले नेपाल हिमाल,पहाड र तराई तीन खेमामा विभाजित भएपनि , जो जहाँ बसेपनि सबै नेपाली हुन् । भाषा,बोलीचालीको लवज,छालाको रंग,पहिरन,धर्मलाई आधार बनाएर एक ठाउँका नेपालीले अर्को ठाउँको नेपालीलाई विभेद गर्नुहुँदैन । यदि पहाडिया र मधेसी दुवैविच सद्भाव हुने हो र जातिय,भाषिक,रहनसहनको आधारमा विभेद नगरिने हो भने मात्रै भाइचारा र सद्भावको वातावरण बन्न सक्छ । नत्र देशमा जातिय,भाषिक आन्दोलन अझै चर्कन सक्छ । हामी नेपाली आफैँमा विभिधतामा छौँ । भिन्न रंग,भिन्न भाषाभाषी ,भिन्न जाति ,वर्ग ,सम्प्रदायका छौँ । तसर्थ एकले अर्कोको जीवनशैलीको सम्मान गरे मात्रै नेपाल र नेपाली हुनुको सभ्यता अमर रहन्छ ।
सिन्धुलीकी भावना गुरुङ रेडियो सगरमाथामा कार्यरत हुनुहुन्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !