चोभारमा सुकुम्बासी बस्ती बसाउन नदिने प्रतिवद्धता


कीर्तिपुर, जेठ १ । कीर्तिपुर क्षेत्रमा क्रियाशील राजनीतिक दलहरुले चोभारमा सुकुम्बासी बस्ती बसाउने सरकारी प्रयासको विरोध गर्दै उक्त क्षेत्रमा सुकुम्बासी बस्ती बसाउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

कीर्तिपुर नगरपालिका वडा नं १३ र १४ स्थित चोभार क्षेत्रमा रहेको हिमाल सिमेन्ट कम्पनी परिसरभित्र सुकुम्बासी बसाउने सरकारी प्रयास भइरहेको भन्दै आज यहाँ आयोजित छलफल एवम् अन्तरक्र्रियाका क्रममा राजनैतिक दलका नेताहरुले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । अन्तक्र्रियामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि र उक्त पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष शिशिरप्रसाद धितालले हिमाल सिमेन्ट राख्ने क्रममा २०२३ सालमा चोभार क्षेत्रका २८५ घरहरु अधिग्रहणमा परेका कारण घरबार बिहीन भएकाहरुको बिचल्ली परिरहेको बताउनुभयो । 

चोभार क्षेत्रका र स्थानीय बासिन्दाहरु हिमाल सिमेन्ट कारखाना स्थापना लगायत विभिन्न कारणबाट समस्यामा परिरहेको बताउँदै उहाँले चोभार क्षेत्रमा सुकुम्बासी बसाउने सरकारी प्रयास असफल बनाइने उल्लेख गर्नुभयो । नेपाली काँग्रेसका नेता राजन केसीले विगतमा प्रशस्त भूमी भएका चोभारका स्थानीयबासीहरु हिमाल सिमेन्ट कारखाना स्थापनाको क्रममा सरकारी जग्गा अधिग्रहणका कारण विस्थापित हुनुपरेको बताउँदै उक्त जग्गा सम्बन्धित हिमाल सिमेन्ट कारखानाको प्रयोजनका लागि उपयोग नभएका कारण सम्बन्धित विस्थापितलाई फर्काउनुपर्ने बताउनुभयो । 

चोभारमा सुकुम्बासी बस्ती बसाउने सरकारी प्रयासलाई असफल बनाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले त्यसका लागि तयार रहन सम्पूर्ण चोभारवासीलाई आग्रह गर्नुभयो । एनेकपा (माओवादी)का नेता पञ्चलाल महर्जनले चोभार क्षेत्रमा सुकुम्बासी बसाउने सरकारी प्रयास असफल हुने विश्वास व्यक्त गर्दै उक्त प्रयासका विरुद्ध जस्तोसुकै सङ्घर्षका लागि पनि पछि नपर्ने दृढता व्यक्त गर्नुभयो । 

उक्त अवसरमा पत्रकार कपिल काफ्ले, मदन केसीलगायतले चोभार क्षेत्रमा सुकुम्बासी बसाउने सरकारी प्रयासको विरुद्धमा एकजुट हुन सम्पूर्ण चोभारवासीलाई आग्रह गर्नुभयो । यसैबीच चोभार क्षेत्रसँग सरोकार राख्ने जलविनायक क्षेत्र विकास केन्द्र, जलविनायक सामुदायक वन उपभोक्ता समूह र वातावरण संरक्षण समितिले आज संयुक्त विज्ञप्ति निकाली चोभारमा प्रस्तावित सुकुम्बासी बस्ती बसाउने योजना स्वीकार्य नहुने जनाएका छन् । 

जलविनायक क्षेत्र विकास केन्द्रका अध्यक्ष सुजिन्द्र महर्जन र वातावरण सङ्घर्ष समितिका सचिव दीपक महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीयवासीले विगतदेखि झेल्दै आएको हिमाल सिमेन्ट कारखाना, ढल बग्ने वाग्मती आदिको समस्यासँगै सरकारले उक्त स्थानमा सुकुम्बासी बस्ती बसाउने प्रयासले सम्पूर्ण चोभारवासीलाई चिन्तित बनाएको उल्लेख छ । स्थानीय प्रयासमा नमूना पर्यावरणीय गन्तव्य बनाउने प्रयासलाई सहयोग गर्नुको साटो चोभारका पीडित स्थानीयवासीलाई अपमान गर्ने किसिमको सुकुम्बासी बसाउने कार्ययोजना तत्काल स्थगित र खारेज गर्न विज्ञाप्तिमा आग्रह गरिएको छ । 

Related

राष्ट्रिय 8854289936962809675

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item