हिंसात्मक बन्द र मिडियामा आक्रमण

विनय गुरागाई (मेरोरिपोर्ट),काठमाण्डौ जेठ ८ ।
जनजाती महासंघ आयोजक, थारु र मधेशीको समेतको समर्थनमा ७२ घण्टे बन्दको पहिलो दिन, बैशाख ७, २०६८ । साँझतिर जावालाखेलको चियापसलमा भेटिएकी एक महिला उनका एक पुरुष साथीसँग कुरा गर्दै थिईन्, “यस्तो दिन मैले आजसम्म देख्या थिएन ।” कुनै जातीप्रति लक्षित उनको कडा प्रतिकृया सुनेपछि अर्को छेउमा बसेका पुरुषले मुखमा लिएको चिया झन्नै सर्काए । महिलामित्रलाई चेतावनीशैलीमा भन्न थाले, ”सबथोक बोल्नोस् अहिले बोलेजस्तो शब्द र बाक्य कहिल्यै नबोल्नोस् ।” त्यसपछि पनि दुवैले धेरै कुरा गरे । जागीरबाट फर्किएको साथीसँगै चिया पिउदैगर्दा मलाई चियाभन्दा उनीहरुको कुराकानी रोचक थियो । बिहानैको हिडाईमा देखिएको बन्दको दृष्य र बन्द आयोजकका अभिव्यक्तिले नै मलाई डर लागेको थियो बन्द पक्कै हिंसात्मक हुनेछ । उज्यालो नेटवर्कका सहकर्मीहरुसँग उनीहरुकै कार्यकक्षमा एकछिन बस्दा थाहा भइसक्याथ्यो बन्दकर्ताहरु अराजक भइसकेकाछन् । उनीहरुले बिहानैदेखि सञ्चारमाध्यमलाई तारो बनाइरहेकाछन् । दिनभरी सामाजिक सञ्जाल, टिभी, रेडियो, प्रीन्ट र अनलाइनमा आएका समाचार पछ्याउँदा पुष्टि भयो ७२ घण्टे बन्दको पहिलो दिनले धेरै गैर जनजातीलाई चसक्क सियोले घोच्दा हुने जस्तो पिडा दिएर सकियो । त्यसैले हुनसक्छ एकजना ब्राह्मणथर व्यक्तिले सामाजिक सञ्जाल ट्वीटरमा यस्तो लेखे, “२० बर्षको बसाईमा काठमाण्डौ आजजस्तो बिरानो कहिल्यै लागेन । सोच्दैछु अब कहाँ जाउँ? यस्तै हो भने काठमाण्डौमा बस्न सकिएला र?”
किन अरुदिनको भन्दा हिजोको बन्द उग्र र हिंसात्मक भयो? जनजाती तथा मधेशीलाई पाखा लगाएर तीनदलका नेताहरुले केही दिन अगाडि गरेको आधारहिन र अबैज्ञानिक प्रदेश बिभाजनको निर्णयले मात्र हो त? पार्टीहरुको निर्णयले ६२÷६३ को आन्दोलनको मर्मलाई समेट्न सकेको थिएन । यो देशमा लामो समय राज्य हाँक्ने बाहुन क्षेत्रीहरु एकाएक जुर्मराएका थिए । उनीहरुले जातीय नामका आधारको राज्य रुपान्तरणको बिरोधमा शंखनाद गरे । क्षेत्री बाहुन दशनामीले आफ्नो पहिचान नगुमोस् हेतु तीनदिने बन्द गरे । अखण्ड सुदुरपश्चिमका नाममा शुरु भएको आन्दोललन १९ दिन चल्यो । स्थानीय थारु समुदायको पहिचान सहितको राज्यको बिरोधमा शुरु भएको आन्दोलनमा सरकारमा रहेका मुख्य दलको समेत खुल्ला सहयोग देखियो । एक मधेश एक प्रदेशको अभिष्ट पुरा नहुने देखेपछि मधेशीदलहरु पनि भित्रभित्रै कुडिएँ । संविधान निर्माणका कतिपय जटिल मुद्दामा मुख्य दलहरु नजिकपुग्दै गर्दा अहिलेसम्म पाखा पारिएका जनजाती, आदीबासी तथा मधेशी समुदायलाई झस्कायो की अहिले पनि राज्य रुपान्तरण भएन भने कहिल्यै हुनेछैन । यि र यिसँगै जोडिएका घटनाक्रमले दविएको कुण्ठा र क्षेत्री बाहुन दशनामीलाई राज्यले आदीबासीको कोटामा राख्ने निर्णयको आक्रोसले बन्दकर्ताहरुलाई अराजक हुन थप बल पुर्याएको थियो । जनजाती महासंघका महासचिव आङकाजी शेर्पाले मिडिया मार्फत बाहुन क्षेत्री दशनामीलाई आदीबासी बनाउने सरकारी निर्णय फिर्ता हुनुपर्छ भनेर दिएको अभिव्यक्तिे पनि पुष्टि गर्छ जनजाती नेताहरु उक्त निर्णयसँग कति रुष्ट रहेछन् भनेर । र अर्को महत्वपुर्ण कारण प्रचण्डका बिभिन्न कालखण्डका अभिव्यक्तिहरुले समाजमा जातीय भड्काव बढाउन मलजल गर्यो । र त्यही कुरा पोखियो हिजोको घटनाको रुपमा ।
बन्द हिंसात्मक हुनु कदापी स्विकार्य हुन सक्दैन यद्यपी जनजाती तथा मधेशीका केही मागहरु नाजायज छैनन् । २४० बर्षसम्म बाहुन क्षेत्रीले हाँकेको मुलुकका केही संरचनाहरु यस्ता छन् जसले एकजाती, एकभाषा, एकभेषको पञ्चायती ह्यांङओभर अझै फ्याँक्न सकेको छैन । समाजबाट त्यसको ह्यांङओभर नहटेसम्म परिवर्तन संस्थागत हुन सक्दैन । ६२÷६३ सालको परिवर्तनले राजतन्त्र बढार्नुको आसय राज्यसंयन्त्र एकतन्त्रिय र एकजातीय हैन बहुजातीय र समावेशी संरचनाको हुनुपर्छ भन्ने हो । दशक चलेको हिंसात्मक माओवादी जनयुद्ध बर्गीय उत्पिडनको शिकार जनताको अधिकार सुनिश्चितताका गरी समुन्नत र न्यायपुर्ण नेपालको स्थापनाका लागि थियो । तर ६३ सालदेखि अहिलेसम्म पुग्दा त्यो आन्दोलनको आसय अनुसारको परिवर्तन भयो त? राज्य रुपान्तरण भयो त? समाजमा साँच्चिकै परिवर्तन महसुस गरियो? राजतन्त्रलाई फाल्न कफ्र्यु समेत वेवास्ता गरेर सडकमा ओर्लिएको नागरिकको हुल अहिले राजतन्त्र नै ठिक थियो भन्न थाल्नुको पछाडि बितेका ७ बर्षमा आमनागरिक राजनीति देखि वाक्कदिक्क भएर हैन जुन उदद्देश्यका लागि आन्दोलन भएको थियो त्यो अनुसारमा रुपान्तरण नदेखेर हो । समाज रुपान्तरण पनि नहुने, नयाँ संविधान पनि नबन्ने अनि क्षेत्री बाहुनले नै अड्को थापेर आजसम्म पछाडि पारिएका समुदायलाई पछाडि नै पारिहरने अबस्था आउने हो भने हजारौ मान्छेको रगत बगाएर प्राप्त भएको उपलब्धिको सान्दर्भिकता समाप्त हुन्छ । त्यसैले यसो भन्न नडराउँ, जनताति तथा मधेशी समुदायको आक्रोसको आसय समाजको साँचो रुपान्तरणका लागि एकपटक फेरी गतिलो दवाव हो उनीहरुका लागि जो जनजाती, मधेशी तथा अन्य आदीबासी समुदाय मुक्तिको नारा लिएर सत्तामा पुगेकाछन् ।
किन भयो मिडियामाथि हमला? 
जनजाती बन्दको पहिलो दिन ३ दर्जन बढी पत्रकार कुटिए । झन्डै त्यति नै संख्यामा मिडियाका सवारीसाधन जलाउने तथा तोडफोडको काम भयो । परिचयपत्र हेरेर तँ बाहुन, तँ क्षेत्री तँ फलाना भन्दै पत्रकारमाथि कुटपिट तथा दुव्र्यवहार भयो । प्रदर्शनकारीको सभ्भावित हमलाको डरबाट उपत्यकाभित्रको एउटा रेडियोलाई जोगाउन प्रहरी खटाउनुपर्यो । जनजातीका एकजना नेताले त खुलेआम कुनै मिडिया हाउसलाई लक्षित गर्दै यदी हाम्रा समाचारहरुलाई वेवास्ता गरियो भने दुई दिनमा टावर ढालिन्छ समेत भने । उनले थप आक्रोसित हुदै एउटा कार्यक्रममा बाहुन पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघले प्रतिकार गर्न खोजे उनीहरुलाई पनि छाडिन्न भनेर धम्कि दिए । एकजना पत्रकारलाई ज्यानमार्ने धम्कि दिन पनि जनजाती नेता पछि परेनन् । अज्ञातस्थलको हवाला दिदै एक टेलिभिजनलाई २४ घण्टामा उडाइदिने धम्कि आयो ।
मिडियामाथिको भएका श्रृङखलाबन्द हमला घोर निन्दनीय छन् । यद्यपी मिडियालाई निर्बाधरुपमा चल्न दिने आयोजकको प्रतिबद्धताको बिपरित पनि किन भयो मिडियामाथि श्रृङखलाबद्ध हमला? किन कुटिए पत्रकार? किन जलाइए पत्रकारका नीजि सवारीसाधन? किन खोजीयो पत्रकारको जात? के यो सबै नियोजीत षडयन्त्र थियो? मिडिया समिक्षक तथा सञ्चारकर्मीहरुले त्यो घटनाका कारणहरुमा छलफल नगर्ने र गलत भएको ठाउँमा सुधारको पहल नथाल्ने हो भने यस्ता हमला रोकिदैनन् ।
एउटा यथार्थ के हो भने नेपाली सञ्चारमाध्यमको मुख्य समाचार बिषय राजनीतिक गतिबिधिको वरिपरी घुमेको छ । राजनीतिक गुट, उपगुट तथा उनीहरुको गतिबिधि र नेताको भाषणले मिडियाका अधिकांश पेज तथा समय भरिएको सत्य सबैले स्विकानैैपर्ने वास्तविकता हो । सनसनीपुर्ण प्रस्तुती र असंवेदनशील रिपोर्टिंङका कारण समाजका सबै जात, तह र तप्काका नागरिकले मेरो मिडिया भनेर कुनै पनि मिडिया हाउसलाई स्विकार्न सकेका छैनन् । राजनीति, अपराध र सेक्सको वरिपरी घुमेको मिडिया गतिबिधि व्यापार केन्द्रित छ । समाजमा विद्यमान अरु सवालहरु जस्तै शिक्षा, स्वास्थ्य, मानवअधिकार, महिला, आदीबासी, मधेशी, दलित तथा अन्य पछाडि परेका र पारिएका समुदायका सवालहरुले अति नै न्युन स्थान पाउँछन् मिडियामा । पत्रकार महासंघका सभापति शीव गाउलेले सार्वजनिक समारोहमा भन्ने गरेको वाक्य सापटी लिएर भन्ने होे सबै मिडिया राम्रा हुन खोज्छन् तर बिडम्बना न तिनहिरु राम्रा भए न त हाम्रा नै । हिजोको बन्दका आयोजकहरुको गुनासो पनि त्यस्तै थियो, मिडियाले उनीहरुलाई उचित स्थान दिएन । उनीहरुका सवाल राख्ने ठाउँ नपाएर आक्रोसित भिडको चेतावनीका रुपमा बुझ्न आन्दोलनकारीले आग्रह गरे हिजोका घटनाक्रमलाई आन्दोलनकारीहरुले ।
मिडिया सोसाइटीले स्विकार्नैपर्छ की रिपोर्टिङ तथ्यपरक छैन । अनुमानको भरमा समाचार बनाउने प्रबृत्ति हावी छ खासगरी टेलिभिजन पत्रकारितामा । पछिल्लो उदाहरण जनकपुरबाट काठमाण्डौका लागि उडेको बिमान दुर्घटना सम्बन्धि टेलिभिजनले चलाएको हल्ला नै काफी छ । समाचार र बिचारलाई छुट्याएर प्रस्तुत गरेको सन्तुतिल सामग्रीको अभाव हुन थालेको छ । समाचार पढ्दा पाठकले नै महसुस गर्ने गरी पार्टीगत, जातीय तथा एकपक्षिय समाचारहरु बग्रैल्ती बाहिर आउँछन् हिजोआज । अनि रातदिन खट्दा पनि तलब लगायत आधारभुत सुबिधाबाट बिमुख हुनुपर्दाको पिडाले हुनसक्छ मिहिनेत नगर्ने अल्छि प्रबृत्ति हावी छ पत्रकारहरुमा । राजनीतिक आग्रह र पुर्वाग्रह मिश्रीत व्याख्या स्पष्ट रुपमा देख्न, सुन्न र पढ्न पाइन्छ । न्युजरुमा बसेर टेलिभिजन तथा अनलाइनको समाचारलाई प्रसारण गर्ने प्रबृत्ति यसअघि नै सर्बत्र आलोचित नभएको हैन ।
सञ्चारमाध्यम खासगरी रेडियोको बृद्धिसँगै समाजमा बिस्तारै बढदै गएको मिडियामाथी नागरिकको पहुँच र सामाजिक सञ्जालमार्फत भैरहने खबरदारीले पनि आमसञ्चार गतिबिधि पहिलेभन्दा बढी आलोचित छन् । आलोचना गर्नेहरुलाई मिडियाले गरिरहेका र गर्न सक्ने संभावित गल्तिहरु थाहा हुन थालेको छ । नागरिक समाज मिडियाप्रति चनाखो छ । समाचार जे हो त्यसरी नआउने, आइहाले पनि बंग्याइने, आरोप लगाउने तथा समाजमा भ्रम फैलाउने आसयका मात्र हुने गर्छन् भन्ने आरोप दवाएर बसेको एउटापक्ष यो सब बाहुनबादी पत्रकार र उनीहरुको संकिर्ण सोचले भएको हो भन्ने भ्रम पालेर बसको छ । सायद त्यही भ्रमको परिणाम बन्दको दिन आफ्नै अगाडि पत्रकार देख्दाको आक्रोस हातहालाहालमा बद्लीयो । जुन दुःखद छ ।
हिजोको घटनापछि मिडियाले पनि चनाखो हुनैपर्छ । यदी समाचारकक्ष समावेशी छैन भने कसरी सबैको बनाउने? समाचारहरु सन्तुलित छैनन् भने कसरी सन्तुलन कायम राख्ने भन्ने सवालमा न्युजरुममा छलफल हुनुपर्छ । राजनीति बाहेक अरु पनि सवालछन् जसको प्रस्तुती उति नै महत्वपुर्ण छ भन्ने बुझ्नु जरुरी छ । घटना र बिषयलाई सन्सनीपुर्ण बनाएर गरिने पत्रकारिता द्धन्द्ध संवेदनशील पत्रकारिता हैन । त्यसैले पनि कुनै घटना भइसकेपछिका क्रिया प्रतिक्रिया स्वभाविक हुन् र पनि फेरी यस्ता घटनाहरु हुन नदिनका लागि मिडिया समुदाय सजग र सचेत हुदाँ त्यसको फाइदा सिगो समाज र स्वतन्त्र प्रेसले नै भोग्न पाउँछ । तथापी मिडियामाथि हमला गर्नेहरुलाई कानूनी कार्वाहीको दायरामा ल्याउन सकिएन भने उनीहरुको मात्र हैन अरुको पनि मनोवल बढ्ने हुदाँ मिडिया समुदायबाट गतिलो आन्दोलनको पनि आवश्यक छ ।

Related

विचाररसाहित्य 8056626292523781092

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item