विवाह दर्ता बढ्यो

http://sindhulidarpan.blogspot.com/2012/05/s_8022.html
नुवाकोट, वैशाख २९ ।
सरकारले अन्तर्जातीय विवाह गरेबापत प्रोत्साहन पुरस्कार दिने घोषणा गरेपछि नुवाकोटमा अन्तर्जातीय विवाह दर्ता गर्ने जोडीको सङ्ख्या बढेको छ । अन्तर्जातीय विवाहको तुलनामा जिल्ला प्रशासन कार्यालयमा गरिने विवाह दर्ता भने न्यून रहेको छ ।
कार्यालयमा हालसम्म अन्तर्जातीय दस जोडीले विवाह दर्ता गरेका छन् । विसं २०६६ असारमा नुवाकोटमा पहिलोपटक ‘कोटम्यारिज’ दर्ता भए पनि अन्तर्जातीय विवाह गर्ने जोडीलाई सरकारले पुरस्कारको व्यवस्था गरेपछि विवाह दर्ता बढेको हो । अन्तर्जातीय विवाह गरेर सम्बन्ध दर्ता गराउनेको सङ्ख्या भने दस रहेको कार्यालयका नायब सब्बा खगेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
विवाह दर्ता भएका दसमध्ये सात जोडी सरकारले दिने अन्तर्जातीय विवाह सुविधा उपलब्ध गराइसकिएको छ । नुवाकोटमा पहिलोपटक जापानी केटी नामा सेवाता र चतुराले गाविसका मानबहादुर तामाङबीच जिल्ला प्रशासन कार्यालय नुवाकोटमा पहिलो विवाह दर्ता भएको थियो ।
अन्तर्जातीय विवाह गरेर प्रशासन कार्यालयमा दर्ता गराउनेमा सभासद्का परिबारदेखि सर्वसाधारणसम्म रहेका छन् । सभासद् गोबिन्द नेपालीका छोरा नवराज नेपाली र तेह्रथुमकी मिरादेवी ओली, बुधसिङका विष्णुमान श्रेष्ठ र दाङसिङकी रीता सुनवार, तारुकाका विनोद दमाई नेपाली र सुनौलाबजार धादिङकी फूलमाया लामिछाने मगर रहेका छन् ।
यसैगरी अन्तर्जातीय विवाह गराउने अन्यमा विदुर नगरपालिका वडा नंं ७ का सन्तोष सुनुवार र विदुरकै सन्ध्या श्रेष्ठ, अम्बरबहादुर मिजार र कविलासकी गायत्री पाण्डे, विदुरका सुजन मगराती र मकवानपुरकी लक्ष्मी होम्जन, दुईपीपलका विनोद तामाङ र रातमाटेका सुभद्रा नेपालबीच भएको विवाह जिल्ला प्रशासन कार्यालय नुवाकोटमा दर्ता भएको छ ।
चालु आर्थिक वर्षमा तीन वटा अन्तर्जातीय विवाह प्रशासनमा दर्ता भएको छ । थानसिङका सुरेन्द्र नगर्जी र लहरेपौवा रसुवाकी कल्पना आचार्य, तुप्चेका अमृत सुनार र दोलखाकी अनिता थापामगर एवम् दुईपीपलका राजु परियार र नवलपरासीकी पुष्पादेवी पौडेलबीच अन्तर्जातीय विवाह दर्ता भएको छ ।
चालु आर्थिक वर्षमा दर्ता भएका तीन जोडीको सरकारले दिने प्रोत्साहन पुरस्कारको लागि सिफारिस पठाइसकिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा विवाह भएका सात अन्तर्जातीय जोडीलाई पुरस्कारवापत रु एक÷एक लाख उपलब्ध गराइसकिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !