प्रचण्ड र वैद्यबीच आज पनि पार्टी एकता बारे वार्ता हुने
http://sindhulidarpan.blogspot.com/2012/06/i_4325.html
काठमाण्डौ,जेठ ३१ ।
पार्टीभित्र देखिएको आन्तरिक विवादबारे आज एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष मोहन वैद्यबीच वार्ता हुने भएको छ । पार्टी संस्थापन पक्षप्रति असन्तुष्ट रहेको वैद्य पक्षले आउने असार १ गते आफ्नो समूहको राष्ट्रिय भेला बोलाएपछि सहमतिका लागि अध्यक्ष प्रचण्डले पहल थाल्नुभएको छ । हिजो पनि वैद्यसँग कुराकानी गर्न प्रचण्ड उहाँको निवास गोँगबु पुग्नुभएको थियो । राष्ट्रिय भेला स्थगन गर्न प्रचण्डले वैद्यलाई आग्रह गर्नुभएको थियो । प्रचण्डले १ गतेको राष्ट्रिय भेला स्थगित गर्न वैद्य तयार भएमा आफूहरूले पनि असारको दोस्रो साता बोलाइएको विस्तारित बैठक रोक्ने प्रस्ताव राख्नुभएको थियो । वैद्यले संस्थापन पक्षबाट लिखित प्रस्ताव नआएसम्म कुनै पनि कुरामा सहमति हुन नसक्ने र सबै तयारी पूरा भइसकेकोले अहिलेको अवस्थामा राष्ट्रिय भेलालाई स्थगित गर्न नसकिने जवाफ दिनुभएको थियो । वैद्य पक्षले राष्ट्रिय भेलामार्फत् नयाँ पार्टी गठनको तयारी गरेपछि संस्थापन पक्ष पार्टी एकताका लागि भन्दै छलफलमा जुटेको हो ।
यसैबीच पार्टी एकताका लागि वैद्य पक्षले राखेको प्रस्तावबारे छलफल गर्न अहिले स्थायी समितिको बैठक प्रचण्ड निवास लाजिम्पाटमा बसिरहेको छ । बैठकमा वैद्य पक्षसँग आज हुने छलफल र प्रस्तुत गरिने अवधारणाका विषयमा छलफल भइरहेको बुझिएको छ । आजको वार्तामा दुवै पक्षबाट लिखित प्रस्ताव प्रस्तुत हुने र त्यसपछि सहमतिको खोजी गरिने भएको छ । वैद्य पक्षले पार्टी नेतृत्वले पार्टीको क्रान्तिकारी कार्यदिशाविरुद्ध गएर सेना समायोजन गरेको र संविधान निर्माणमा कमजोर भूमिका निर्वाह गरेको भन्दै आत्मआलोचन गर्नुपर्ने, अध्यक्षले राजीनामा दिनुपर्ने र उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाउनुपर्ने माग राख्दै आएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !