सेभ द चिल्ड्रेनले जालझेल गरेको आरोप
http://sindhulidarpan.blogspot.com/2012/06/i_8516.html
मिनकुमार दाहाल,सिन्धुली,जेठ ३२ ।
सिन्धुलीमाढीमा एक गैर सरकारी संस्थाले गरेको कार्यक्रममा अधिकाँश सरोकारवालाहरुले एनजिओ/आइएनजिओको गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रयास नेपाल सिन्धुली शाखाले सेभ द चिल्ड्रेन भन्ने आइएनजिओको सहयोगमा संचालन गर्न लागेको एचआइभी एड्स सम्वन्धि कार्यक्रममा सहभागीहरुले असन्तुष्टि जनाएका हुन् ।
कार्यक्रममा रेडियो सिन्धुलीगढीका अध्यक्ष तथा गैसस महासंघ सिन्धुलीका निवर्तमान अध्यक्ष कृष्णहरि घिमिरेले सेभ द चिल्ड्रेन नामक अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाले कार्यक्रम दिदाँ चोर वाटो प्रयोग गरेको भन्दै रोष प्रकट गर्नुभएको थियो । उहाँले कार्यक्रम दिदाँ जालझेल गरेको भन्दै प्रकृयागत ढंगले अगाडी आउन आग्रह गर्नुभयो । जिल्ला भित्र कुनैपनि संस्था प्रवेश गर्नुपूर्व जिल्ला विकास समिति, सम्वन्धित सरोकारवालाहरु तथा जिल्ला स्थित एचआइभि एड्स समन्वय समितिमा जानकारी नै नदिई एक्कासी कार्यक्रम ल्याएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
त्यसैगरी सिड्स नेपाल सिन्धुलीका कोषाध्यक्ष तथा एचआइभी एड्स जिल्ला समन्वय समितिका सदस्य गोपालकुमार पौडेलले सेभ द चिल्ड्रेनले आफैले निकालेको सूचनालाई समेत कुल्चिएर मनपरी ढंगले कार्यक्रम संचालन गर्न दिएको भन्दै यस्तो प्रवृत्तिले उसको विश्वासनियता र पारदर्शिता माथी नै प्रश्नचिन्ह खडा भएको वताउनुभयो । उनले सेभ द चिल्ड्रेनले निकालेको सूचनामा स्थानीय स्तरमा दर्ता भएको हुनुपर्ने, एचआइभी एड्स सम्वन्धि काम गरेको हुनुपर्ने, एचआइमी एड्स जिल्ला समन्वय समितिको सिफारिश हुनुपर्ने लगायतको लामो फेहेरिस्ता राखेको भएपनि सो वमोजिम नगरेको भन्दै असन्तुष्टि जनाएका थिए ।
कार्यक्रममा एचआइभी एड्स जिल्ला समन्वय समितिका विभिषक देवकोटाले जिल्लामा कार्यक्रम संचालनका लागि समन्वय समितिमा समन्वय नै नगरी कसरी कार्यक्रम संचालन भयो भन्दै आश्र्चाय प्रकट गर्नुभएको थियो । उहाँले जिल्लामा कति एचआइभी पीडित छन् र कति प्रभावित हुन सक्छन भन्ने तथ्यांकलाई मध्यनजर नगरी कार्यक्रम अघि बढाएको भन्दै कार्यक्रमप्रति शंका व्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी श्रीराम भट्टराईले कुनैपनि संस्थाले कार्यक्रम संचालन गर्दा नीति नियमको परिधीभित्र रही कार्यक्रम संचालन गर्न सुझाव दिनुभयो । उहाँले कार्यक्रम संचालन गर्दा पारदर्शीता, जवाफदेहिता र विश्वासनियतालाई आधार वनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी ध्रुव वहादुर खड्काले जुनसुकै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले जिल्लाभित्र कार्यक्रम संचालन गर्दा स्थानीय स्वायत्त शासन ऐन र नियमावलीको परिधीभित्र रहि कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले कुनैपनि कार्यक्रमलाई प्रभावकारी बनाउनको निम्ति समन्वयमा जोड दिनुपर्ने औंल्याउनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !