पूर्व न्यायाधीश बमलाई सरकारद्वारा सहिद घोषणा
http://sindhulidarpan.blogspot.com/2012/06/i_9161.html
काठमाण्डौ,असार १ ।
अज्ञात व्यक्तिहरुले प्रहार गरेको गोली लागेर ज्यान गुमाएका सर्वोच्च अदालतका पूर्व न्यायाधीश रणबहादुर बमलाई सरकारले सहिद घोषणा गरेको छ । सर्वोच्च अदालतका बहालवाला न्यायाधीश बमको गएको जेठ १८ गते बिहान काठमाडौको शङ्खमुल नजिकै गोली हानी हत्या गरिएको थियो । आज विहान बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले न्यायाधीश बमलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले मृतक बमको परिवारलाई राहतस्वरुप १० लाख रुपैया दिने निर्णय पनि गरेको शिक्षामन्त्री दीनानाथ शर्माले जानकारी दिनुभयो । बमको हत्याको बारेमा उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने र गोली लागेर घाइते भएकाहरुको निशुल्क उपचार गर्ने निर्णय पनि पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ । झापामा हत्या गरिएका पत्रकार यादव पौडेलको बारेमा छानबिन गर्न गठित समितिको म्याद १५ दिन थप्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ ।
काठमाडौँ उपत्यकाका अदालत तथा न्यायिक निकाय दुई घण्टा बन्द
सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याको सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्नेलगायतका माग गर्दै कर्मचारीले विरोधस्वरूप दुई घन्टा न्यायालय बन्द गरेका छन् । आजबाट आठ दिनसम्म बिहान १० देखि १२ बजेसम्म काठमाडौँ उपत्यकाका सम्पूर्ण अदालत तथा न्यायिक निकाय बन्द गरिएको हो । सर्वोच्च अदालतका पूर्व बहालवाला न्यायाधीशको अध्यक्षतामा न्यायाधीश बमको हत्याका सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने, बमलाई सहिद घोषणा गरिनुपर्ने, हत्यारालाई कडा कारबाही गरिनुपर्ने, घटनामा परेका अन्य घाइतेलाई राज्यका तर्फबाट निःशुल्क उपचारको व्यवस्था हुनुपर्ने र न्यायाधीश तथा कर्मचारीको पूर्ण सुरक्षाको प्रत्याभूति गरिनुपर्नेजस्ता माग कर्मचारीले अघि सारेका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले बमलाई सहिद घोषणा र राहत दिने निर्णय गरेपछिको अवको आन्दोलनको स्वरुपको बारेमा कर्मचारी सङ्गनहरुले आन्तरिक छलफल गरिरहेको बताइएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !