हुरीले घर भत्किँदा चारको मृत्यु, चार घाइते, थप दुईको शव भेटियो

http://sindhulidarpan.blogspot.com/2012/06/s_3510.html
कृष्ण ओली, बाजुरा,जेठ १९ । अत्याधिक हावा हुरीका कारण घर भत्कीदा बिहिबार जिल्लाको बाँधु–९ पीपल डालीमा एकै गाउँका चारजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । अविरल वर्षासँगै चलेको हावाहुरीले घर भत्किँदा च्यापिएर बाँधु–९ पीपलडालीका ६० बर्षिया सुकिली सार्की, १४ बर्षिया करिश्मा सार्की, १२ बर्षिया लोकराज कार्की र ३ बर्षिया दिपेन्द्र लवारको मृत्यु भएको छ भने सोहि गाउँका ३६ बर्षिया रेउकला कार्की, ८ बर्षिया झरना कार्की, २ बर्षिया धर्मा कार्की र ८४ बर्षिया रंग कार्की गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको अहिले कोल्टीमा रहेको नविन मेडिकल हलमा उपचार भइरहेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीको भवनमाथिबाट आएको बाढीले भवन र सम्पूर्ण औषधि बगाएपछि उपचारमा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । सदरमुकाम मार्तडीबाट एक दिनको पैदल दुरीमा रहेको स्वास्थ्य केन्द्र नै बाढीले बगाएपछि औषधि अभावका कारण उपचारमा निकै समस्या भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ । अविरल वर्षासँगै आएको बाढीले बगाएर थप दुईको शव कर्णाली नदीमा फेला परेको स्थानीयबासीले बताएका छन् । बाँधुकै पीलुचौर नजिकै पर्ने कर्णाली नदी किनारामा मृत अवस्थामा फेला परेको शव एक पुरुष र एक महिलाको भएको कृष्णनाथले जानकारी दिएका छन् । शवको उद्धार गरिएपनि पहिचान हुन सकेको बताइएको छ । रातभरिको मुसलधारे वर्षाको बाढीले कोल्टी क्षेत्रका ११ वटै गाविसको जनजीवन अस्तव्यस्त बनाएको छ भने बाँधु–९ पीपलडाली गाउँ नै शोकाकुल बनेको छ ।
हिजै रातीको हुरीका कारण बाँधु र कोल्टी गाविसका अधिकांश भिरालो जमिनमा लगाएको लाखौको धान कोदो बाली नष्ट भएको छ । बिहीबार राती भएको मानवीय र भौतिक क्षतिको बारेमा छलफल गर्न बिहान जिल्ला प्रशासन कार्यालयमा जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेको छ । बैठकले मृतक तथा बिचल्लीमा परेका परिवारलाई आपत्कालिन राहत, घाइतेको उपचार र भौतिक संरचनाको क्षति विवरण लिन सर्वपक्षीय टोली घटनास्थल जाने भएको छ भने औषधिसहित स्वास्थ्यकर्मीको टोली बिहानै कोल्टी गइसकेको जिल्ला स्वास्थ्य कार्यालय जनाएको छ । हुरीका कारण अन्य गाविसको जनजीवन पनि रातभरि प्रभावित बनेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !