यसकारण बिहे गरिनँ-शुसिल कोईराला

- म सानोमा अत्यन्तै चकचके थिएँ । मेरा साथी पनि सारै चकचके थिए । कहिले हामी माछा मार्न जान्थ्यौँ त कहिले आमाको पटुकाको पैसा चोरेर सिनेमा हेर्न जान्थ्यौँ । तर, बिस्तारै जब मेरो संगत कोइराला निवासमा भयो, ममा धेरै सुधार आउन थाले । कक्षा ४ देखि नै हामी केटाकेटी एकले अर्कालाई जिस्क्याउने गथ्र्यौं । यसकै 
कारण धेरैपटक कक्षामा गुरुहरूको पिटाइ खाइन्थ्यो । कोइराला परिवारसँग नजिक भएपछि मलाई आन्दोलनका बारेमा र नेपालमा सुधार चाहिन्छ भन्ने कुराको राम्रो ज्ञान हुन थाल्यो । हामी बिस्तारै नेपाललाई स्वतन्त्र बनाउने अभियानमा थियौँ । त्यही भएर सानैमा मैले नेपाललाई आफ्नी आमाजस्तै देख्न थालेको थिएँ । कहिलेकाहीँ त भूमिगत पनि भइयो । आन्दोलनका बारेमा मेरो आफ्नो धारणा प्रस्ट बनिसकेको थियो । नेपालमा स्वतन्त्रता र प्रजातन्त्र चाहिन्छ भनेर लामो समय म देशकै लागि लडिरहेँ, विभिन्न ठाउँमा घुम्न गइरहेँ । १५ वर्षको हुँदा म स्वतन्त्रताका लागि मेची-महाकाली यात्रामा गएँ । त्यो यात्रालाई मैले औधी माया गर्न थालेँ । वास्तवमा भन्ने हो भने देशको माया तथा प्रेम नै मेरो अन्तरआत्मामा रहिरह्यो । मानिसका चाहना भिन्नभिन्न हुन्छन्, मेरा चाहना पनि अलिक अस्वाभाविक लाग्ने खालका थिए । म देशमा स्वतन्त्रताका लागि होमिएकाले आफ्नो परिवारको त के ज्यानको पनि कुनै ख्याल नै हुँदैनथ्यो । मेरा केही साथी घरजम गरेर बसे आफ्नो भविष्य सुन्दर हुनेमा विश्वस्त थिए, तर मलाई कहिल्यै त्यस्तो लागेन । बिहे गरेर बालबच्चासँग बस्नुभन्दा पनि देशको चाहना पूरा गर्न सके राम्रो मानिस बनिनेमा म विश्वस्त थिएँ । त्यसैले मैले ठीक समयमा बिहे गर्नेबारे सोच्दै सोचिनँ । मेरो सोचाइ त केवल देशको विकास तथा स्वतन्त्रता थियो । देशलाई कसरी स्वतन्त्र तथा प्रजातान्त्रिक बनाउने होला भन्ने सोचाइ भएको मैले कहाँ बिहे गर्नेबारे सोच्नु ? 

त्यसो त उमेरमा कैयौँपटक हाँसखेल गरियो । केटी पनि जिस्क्याइयो । स्कुलमा नै पढ्ने वेलामा कोही केटी मनपराउनु नौलो कुरो होइन । मैले पनि केही केटी मनपराएँ होला । केही केटीले मलाई पनि मनपराए होलान् । उमेरमा म फेरि ह्यान्डसम पनि त थिएँ । अग्लो मान्छे, गोरो वर्णको र कसिलो शरीर परेकाले केटीहरूले किन मन नपराऊन् ?
ह्यान्डसम भएकाले नै म त्यतिवेला सिनेमामा खेल्न चाहन्थेँ तर पछि सो कुरा पनि आफैँ बिलायो । सिनेमामा खेल्न चाहना राख्ने मानिसलाई मनपराउने मानिस त कति थिए होलान् कति । तर, अहिलेको जस्तो त्यस वेला आफ्नो मनका कुरा भन्ने बानी भने थिएन । मैले पनि केही मानिसलाई त मनपराएको थिएँ । नेपाल यात्रामा रहँदा पनि कैयौँपटक आफूलाई सुन्दर लागेकी केटीसँग बिहे गरौँ भन्ने सोच्थ्यो यो मनले । तर, तत्काल म देशका बारेमा सोच्थेँ । देशलाई राम्रो बनाउन हिँडेको मान्छे कहाँ बिहे गरेर अल्मलिनु भन्ने लाग्थ्यो । 
देशको भलोका लागि लडेकाले मैले कहिल्यै लाभको पदको लोभ पनि गरिनँ । चाहेको भए म पनि घरजम गरेर बस्न सक्थेँ होला । तर, मलाई त्यसबारे कुनै पनि चाहना नै भएन । आफू देशका बारेमा लड्ने भन्ने सोचमा हिँडेकाले कहिल्यै पनि बस्ने ठाउँको ठेगान हुँदैनथ्यो । प्रहरीले पनि हाम्रो पिछा गरिरहेको हुन्थ्यो । त्यसैले आफ्नो ठेगान नै थिएन । आफ्नै ठेगान नभएको मान्छेले बिहे गरेर किन अर्को मान्छेको जीवन पनि अलपत्र पारिदिनु । त्यही भएर पनि मैले बिहे गरिनँ । अर्को कारण भनेको मेरो कुनै निश्चित भविष्य थिएन । मलाई सधैँ के लाग्थ्यो भने आफ्नो भविष्य नै निश्चित नभएको मैले किन फेरि बिहे गरेर अरूको भविष्य पनि डामाडोल पारिदिनु ? राजनीतिमा लागेका कारण मैले मेरो हिरो बन्ने इच्छा पनि कहिल्यै पूरा गर्न सकिनँ । आखिर देश बनाउने सपना देख्नेको हाल यस्तै हुने रहेछ । आफूले चाहेको पूरा हुँदो रहेनछ । मानिसलाई आफ्नो इच्छाभन्दा देशको माया बढी लागेपछि पारिवारिक उल्झनमा भुल्ने चाहना हुँदो रहेनछ । त्यही भएर पनि मैले बिहे गरिनँ ।- नयाँपत्रिका 

Related

विचाररसाहित्य 5441196354064232546

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item